
१४ वैशाख, काठमाडौं । चीनको राजधानी बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ ।
नेपाल पर्यटन बोर्डले बेइजिङमा आयोजित १८औं ‘चाइना आउटबाउन्ड ट्राभल एन्ड टुरिज्म मार्केट’ (कोटम–२०२५) मार्फत नेपालका पर्यटन गन्तव्यहरू प्रस्तुत गर्दै चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि आग्रह गरेको हो ।
अप्रिल २४ देखि २६ सम्म नेसनल एग्रिकल्चरल एक्जिबिसन हलमा आयोजना भएको तीन दिने प्रदर्शनीमा करिब ५० देशका पर्यटन प्रतिनिधि सहभागी थिए ।
नेपालले हिमशृङ्खला, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनका अवसरलाई संगठित ढंगले चिनियाँ बजारमा प्रस्तुत गरेको बोर्डले जनाएको छ ।
बोर्डले चिनियाँ पर्यटकका लागि नेपाललाई थप आकर्षक गन्तव्यका रूपमा उजागर गर्ने उद्देश्यले नेपालका गन्तव्य प्रदर्शन गरिएको उल्लेख गरेको छ ।
कार्यक्रममा चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, प्रथम सचिव मनहरि दंगाल र छेन्दुस्थित उपमहावाणिज्यदूत चिनामन सिंह बुढाथोकीले नेपालको स्टल अवलोकन गरेका थिए ।
उनीहरूले चिनियाँ पर्यटन व्यवसायीसँग भेटघाट गर्दै पर्यटन प्रवद्र्धन तथा आपसी सहकार्य विस्तारका विषयमा छलफल समेत गर्नुभएको बोर्डले विज्ञप्ति मार्फत जनाएको छ ।
नेपालको स्टलमा परम्परागत वास्तुकला, सांस्कृतिक सम्पदा, जैविक विविधता र हिमाली दृश्य सुसज्जित गरी प्रदर्शन गरिएको थियो । साहसिक पर्यटन, प्राकृतिक भ्रमण र सांस्कृतिक अनुभवका सम्भावनालाई विशेष रूपमा उजागर गरिएको थियो ।
यसका साथै नेपाली र चिनियाँ पर्यटन व्यवसायीबीच अन्तर्क्रिया हुँदै भविष्यमा सहकार्यका नयाँ सम्भावनाबारे छलफल गरिएको थियो ।
बोर्डको रणनीतिक उपस्थितिले चिनियाँ बजारमा नेपालको पर्यटन छवि मजबुत बनाउने अपेक्षा गरिएको छ । यस सहभागिताबाट चिनियाँ पर्यटक आगमन वृद्धि, पर्यटन व्यवसायीबीच दीर्घकालीन सहकार्य विकास र नेपालको पर्यटन बजारमा नयाँ अवसर सिर्जना हुने विश्वास लिइएको छ ।
कोटम चीनको प्रमुख बीटुबी पर्यटन प्रदर्शनी हो, जसले सन् २००५ देखि विश्वका विविध गन्तव्य र चीनका पर्यटन व्यवसायीबीच सहकार्यको महत्त्वपूर्ण मञ्च प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया 4