+
+
Shares

गगनलाई ओलीको चुनौती : बेडरुमसम्म बिचौलियाको पहुँच प्रमाणित गर्न सकिन्छ ?

प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाजसरम पचाएर यस्ता आरोपहरू लगाउने गरेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १५:०५

१४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेमाथि प्रमाणित गर्न चुनौती दिएका छन् । प्रधानमन्त्री ओलीको यो चुनौती नेपाली कांग्रेसका महामन्त्री गगन थापा लक्षित छ ।

कांग्रेस महामन्त्री थापाले बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम) सम्म हुने गरेको बताएका थिए । २ वैशाखमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा थापाले निजी क्षेत्र र बिचौलिया फरक कुरा भएको बताउँदै अहिलेको अर्थतन्त्रमा समस्या बिचौलियाका कारणले आएको जिकिर गरेका थिए ।

मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाजसरम पचाएर यस्ता आरोपहरू लगाउने गरेको बताए ।

देशमा एमाले र कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता भएको भन्दै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुटा आरोप लगाउन थालिएको बताए ।

‘झुठा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानौं, सरकारले केही गरेको छैन । हामीले देश बर्बाद बनाइरहेका छौं, हामीले कुनै अपराध गरिरहेका छौं,’  प्रधानमन्त्री ओलीले भने, ‘आजकल निलो रंगका स्यालहरू निकै हाउभाउ गरिरहेका छन् । तिनीहरूको वास्तविक रूप लामो समय टिक्ने छैन । एमालेले आफूलाई आगामी निर्वाचनमार्फत् निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्य राखेको छ । हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुन्छौं ।’

कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरूको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुस भएको ओलीको टिप्पणी छ ।

पार्टीभित्रको राजनीतिक हकमा धेरै आलोचनात्मक चेतमा जोड दिन नपर्ने उल्लेख गर्दै उनले विश्लेषणत्मक चेत राख्न सुझाव दिए ।

‘पार्टीभित्र एकताको चेत चाहिन्छ । विरोधीको आरोपको खण्डन गर्नुपर्छ । विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही बाटो होइन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?