
१४ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले शिक्षकहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै त्यसको भर्त्सना गरेको छ । शिक्षकहरूका माग सम्बोधन गर्नेतिर सरकारले ध्यान नदिएको उसको आरोप छ ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले शिक्षक आन्दोलनमा प्रहरी दमन भएको भन्दै भर्त्सना गरेकी हुन् ।
‘शिक्षकहरूमाथि प्रहरी हस्तक्षेप भएको छ, दमन भएको छ । म यसको घोर भर्त्सना गर्दछु,’ सांसद सुवेदीले भनिन् । साथै उनले घाइते शिक्षकको स्वास्थ्य लाभको कामना समेत गरेकी छन् ।
शिक्षक आन्दोलनमा गरेको हस्तक्षेपको मूल्य सरकारले चुकाउनुपर्ने उनको चेतावनी छ ।
‘सरकारले यस्तो जुन दमनको हर्कत गरिराखेको छ । यसको मूल्य चर्को पर्नेछ । म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,’ उनले भनिन् ।
शिक्षा ऐन माग गर्दै शिक्षकहरू एक महिनादेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आइतबार प्रदर्शनका क्रममा बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएको छ । प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो । शिक्षक महासंघका अनुसार १५ जना बढी शिक्षक घाइते भएका छन् ।
शिक्षकहरू घाइते नै हुने गरी सरकार प्रस्तुत भएको भनेर माओवादी सांसदले सरकारको आलोचना गरेकी हुन् । सरकारलाई शिक्षकको माग सम्बोधन गर्नेतिर ध्यान उनको आग्रह छ ।
‘दशौं हजार शिक्षकहरू आन्दोलनरत छन् । नयाँ भर्ना प्रक्रिया, पठनपाठक र परीक्षा र परीक्षाफल अवरुद्ध छन् । यसप्रति सरकारको मौनता, उदासिनता र लापरबाहिताप्रति खेद प्रकट गर्दछु,’ सांसद सुवेदीले भनिन् ।
प्रतिक्रिया 4