१४ वैशाख, काठमाडौं । साफ यू-१९ पुरुष च्याम्पियनसिप २०२५ का लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल यू-१९ राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार अन्तिम टोलीको घोषणा गरेका हुन् ।
प्रतियोगिता मे ९ देखि १८ सम्म भारतको अरुणाञ्भलस्थित गोल्डेन जुब्ली स्टेडियम, युपियामा आयोजना हुनेछ ।
यस प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ, जहाँ आयोजक भारत र श्रीलंका पनि छन्। समूह ‘ए’ मा माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।
समूह चरणको खेलपछि दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले आफ्नो पहिलो खेल मे ११ मा श्रीलंकासँग खेल्नेछ भने दोस्रो खेल मे १३ मा भारतसँग खेल्नेछ ।
नेपालले अहिलेसम्म दुई पटक यो उमेर समूहको उपाधि जितेको छ । पछिल्लो पटक सन् २०२४ मा नेपालमै भएको साफ यू-२० च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।
त्यसबेला नेपाली टोलीमा रहेका डिफेण्डर मदन पौडेल र राम थापा तथा मिडफिल्डर लक्षु थापा, फरवार्ड धरबेन्द्र कुँवर यस पटक पनि टिममा छन् ।
यस्तै गत वर्ष भुटानमा भएको साफ यू-१७ च्याम्पियनसिप खेलेका कप्तान सुवास बमसहित गोलकिपर भक्त बहादुर परियार, फरवार्ड सुजन डंगोल र पवन पाख्रिन, मिडफिल्डर कृष्ण बहादुर आले, सबिन लुंगेली, विज्ञान खड्का र डिफेण्डर प्रशान्त मोक्तान यस पटक यू-१९ टोलीमा समावेश भएका छन् ।
नेपाली यू-१९ टोली:
गोलकिपर : भक्त बहादुर परियार, उपेन्द्र ल्वागुन, विशेष बानिया
डिफेन्डर : रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्बाङ, मदन पौडेल, राम थापा, विजय उर्बा, सिद्धान्त खड्का
मिडफिल्डर : कृष्ण बहादुर आले, कृष्ण थापा मगर, सरोज दर्लामी, लक्षु थापा, सबिन कुमार लुङेली मगर, रञ्जित लामा, सुवास बम, विज्ञान खड्का
फरवार्ड : पवन पाख्रिन, धरबेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ
प्रतिक्रिया 4