
काठमाडौं । सन् २००७ मा ‘पलेँटी’मा पहिलो खेप गीत सुनाएकी सङ्गीता प्रधानले शुक्रबार र शनिबार साँझ फेरि आफ्नो एकल गायन प्रस्तुत दिएकी छन् । झण्डै २ घण्टासम्म चलेको प्रस्तुतिमा उनले दर्जनभन्दा बढी सृजना प्रस्तुत गरिन् ।
कार्यक्रम सुरुवात खयाल गायनबाट भएको थियो । राग ‘रागेश्री’को विलम्वित लयमा उनी आफैँले सृजना गरेको बन्दिस (गीत) ‘सब सुख दियौ’ प्रस्तुत भएको थियो । एकतालबाट सुरु भएको रागले मध्यलय प्रवेश गर्दा दर्शक, श्रोता रोमाञ्चक बनेको अनुभूति हुन्थ्यो । तीनतालमा रहेको मध्यलयको बन्दिस ‘उनि उनि रहिछौ किन हो सङ्गिनी’ कविवर माधव घिमिरेको शब्द सृजना थियो ।
दोस्रो चरणमा ठुमरी र दादरा प्रस्तुत भए । पहिलो ठुमरी राग ‘माझ-खमाज’मा आधारित थियो । यसपालीको पलेँटीको मुख्य आकर्षणमा ठुमरीलाई नेपाली भाषामा गरिएको प्रस्तुति थियो । लामो समयदेखि शास्त्रीय गायनमा क्रियाशील सङ्गीतालाई ’ब्रजभाषा’ र हिन्दीमा मात्र होइन आफ्नै भाषामा पनि ठुमरी गाउन पाए हुने भन्ने सोच निक्कै वर्ष अघिदेखि लागेको रहेछ ।
त्यो इच्छालाई आंशिक रुपमा भए पनि यसपाली पूरा गरेकी छिन् । यस काममा उनलाई पलेँटी संयोजक आभासले सहयोग गरेका छन् । आभासले माझ खमाजमा रहेको ठुमरीको बोल- ‘झर्झर बर्खा ऋतु आयो’ र राग पहाडीमा आधारित दादराका निम्ति ’मौन बसी बित्यो रात’ लेखेका हुन् । त्यस्तै पुष्प चन्द्रिकामा प्रयोग भएको साहित्य ’कठिन समयमा, एक मेरो घनश्याम’ गोपाल योञ्जनले हिन्दीबाट गरेको भावानुवाद रहेको थियो ।
तेस्रो चरणमा भने सङ्गीताले आफ्ना नयाँ पुराना नेपाली आधुनिक गीतलाई प्रस्तुत गरिन् । गीति चरणको सुरुवातमा गीतकार कालीप्रासाद रिजालका दुईवटा गीत प्रस्तुत भए । पहिलो प्रस्तुतिमा ‘कुन पापीले कुन निष्ठुरीले’ थियो, जसलाई सङ्गीतकार गुरुदेव कामतले धुन भरेका थिए । गुरुदेवले भरेको धुन नेपाली आधुनिकमा बिरलै सुनिने शैलीको गीत थियो ।
‘राग माण्ड’मा आधारित यो गीत ठुमरी शैलीकै गीत थियो । कालीप्रसादको दोस्रो रचना- ‘जाऊ फेरि मन यो मेरो दुखाएर जाऊ’लाई सङ्गीतकार आभासले धुन भरेका थिए । यो गीत पलेँटीबाटै प्रथमपटक सार्वजनिक भएको थियो ।
त्यस्तै अर्को गीत- ‘जीवन चुपचाप गुजारेँ त के भो ? तिमीले जित्यौ म हारेँ त के भो ?’ शान्ति ठटालको नयाँ धुन सङ्गीताको स्वरमा गुञ्जिएको थियो । शान्ति ठटालको धुनमा रत्नशम्शेर थापाको सृजना ’तिर्सना छल्किन्छ’ र मन्जित तामाङ्को ’मैले प्रीत लाएँ लाएँ, लाजै नमानी लाएँ’ गाउँदा सङ्गीता प्रधानको मुहारमा आनन्दको लहर फैलिएको अनुभूत हुन्थ्यो ।
कार्यक्रममा सङ्गीताले आफू काठमाडौं आउँदाका क्षण सम्झँदै र विभिन्न संस्मरण सुनाउँदै गीत गाएकी थिएन् । त्यही क्रममा उनले सङ्गीतकार नातिकाजीसँग आफ्ना पहिलो गुरु सङ्गीतकार मानवीर सिंहले गराइदिएको भेट सम्झँदै ’आँगनमा आज मेरा प्रियतम आए’ सुनाएकी थिइन् । निर्मोही व्यासको शब्द सृजना रहेको यो गीत सङ्गीताले रेडियो नेपालमा गाएको पहिलो चरणको गीत हो ।
कार्यक्रममा नेपथ्यका अगुवा अमृत गुरुङले धुन भरेको कवि मञ्जुलको रचना ’एकान्तमा फूल फुल्छ कि म फुल्छु’ लाई अत्यधिक रुचाइएको थियो । फर्माइसमा दोहोरिएको यो गीत अमृतले आजभन्दा १८ वर्ष पहिले सङ्गीता प्रधानकै पलेँटीका निम्ति धुन भरेका थिए ।
संगीताले सङ्गीताले आरती नेवाको शब्दमा रहेको ’किन हो हजुरलाई आफ्नै भनिदिन मनलाग्छ’ गाउँदा सङ्गीतकार मानवीर सिंहलाई श्रद्धापूर्वक शब्दाञ्जली अर्पण गरेकी थिइन् ।
पलेँटी हेरेर बाहिरिँदै गरेका शेष नारायणको प्रतिक्रिया थियो- ‘शास्त्रीय सङ्गीत र आधुनिकको सङ्गम गज्जबै सुनिँदो रहेछ; पलेँटी नहुँदा न्यास्रिएका थियौं । आज त्यो नियास्रो मेटियो ।’ सँगै उभिएका पंकज नेपाल भन्दै थिए – ‘नेपालीमा ठुमरी क्या गजब सुनिने रैछ ।’ ‘पलेंटी’ कार्यक्रम हरेक अंग्रेजी महिना को अन्तिम शुक्रबार र शनिबार नेपालयको आर सालामा हुने गर्छ ।
प्रतिक्रिया 4