
१४ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेश मानव विकास सूचकांकमा निकै तल रहेकाले उल्लेखनीय सुधार हुने गरी आगामी बजेट र कार्यक्रम ल्याउनुपर्ने बताएकी छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा आइतबार काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय बजेट र सुदूरपश्चिम प्रदेशका प्राथमिकताहरू विषयक अन्तक्र्रियामा उनले यस्तो बताएकी हुन् ।
मन्त्री राणाले भनिन् ‘प्रादेशिक तुलना गर्दा नेपालको मानव विकास सूचकांकमा सुदूरपश्चिम प्रदेश धेरै तल छ । मलाई लाग्छ हाल छैठौं स्थानमा रहेको अवस्थामा उल्लेख्य सुधार गरेर माथि ल्याउन सकिने गरी हामीले आगामी ओजना र कार्यक्रमहरू निर्माण गर्नुपर्छ र त्यसैबमोजिमको बजेटको व्यवस्था गर्नुपर्दछ ।’
उनले कनिका छरेजस्तो गरी अनेक शीर्षकमा बजेट छुट्याउने भन्दा कुन समुदायलाई प्रत्यक्ष या अप्रत्यक्ष लाभ पुग्छ र कुन क्षेत्रको विकास हुन्छ भनेर ठोस रूपमा योजना र कार्यक्रमहरू तय गर्ने र तोकिएको समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउनुपर्ने सुझाव पनि दिएन् ।
कृषि, पर्यटन र पूर्वाधार निर्माण नै सुदूरपश्चिम क्षेत्रका प्रमुख प्राथमिकता हुनुपर्नेमा धारणा राखेकी मन्त्री राणाले कृषिजन्य उत्पादनलाई व्यावसायिक तथा आधुनिक कृषिसँग जोड्नुका साथै बजारीकरणमा विशेष ध्यान दिनुपर्ने बताइन् ।
उनले सुदूरपश्चिममा पनि देशका अरु भूभागमा जस्तै मानिसहरूको बसाइसराइले जमिन बाँझो छोड्ने प्रवृत्ति बढेकोभ्न्दै हाल खेतीयोग्य जमिन के कति छ भन्ने यकिन गरेर उक्त जमिनमा आधुनिक र व्यावसायिक खेतीका लागि योजना बनाउन सुझाव दिइन् ।
सुदूरपश्चिम क्षेत्र धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनका क्षेत्रमा निकै समृद्धि रहेकाले पर्यटन प्रवर्द्र्धन गर्न ‘हस्पिटालिटी’ लगायतका पर्यटकीय पूर्वाधार निर्माणका क्षेत्रमा प्रभावकारी योजना र बजेटका लागि आफूले पहल गर्ने उनको भनाइ थियो ।
‘यसका लागि हामी आफैंले पनि स्थानीय स्तरमा केही गर्नुपर्दछ । जस्तो कि म भर्खरै कोशी प्रदेश गएकि थिएँ, त्यहाँ यस वर्षलाई कोशी भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरिएको रहेछ । हामीले हाम्रा सांस्कृतिक धरोहर र पर्यटकीय सम्पदाहरूलाई चिनाउनेगरी केही गरिरहनुपर्दछ,’ उनले भनिन् ।
प्रतिक्रिया 4