
१४ वैशाख, काठमाडौं । प्रहरी वृत्त कालीमाटीको हिरासतमा रहेका थुनुवा मध्ये दुई जना चोरीका आरोपित युवाको चोर्ने शैली अनौठो रहेको पाइएको छ । स्कुटर/मोटरसाइकल चढेर संघीय राजधानी लगायत आसपासका ठाउँहरूमा चोरीको श्रृङ्खला चलाएका यी दुई युवामाथि अहिले प्रहरीले चोरीको कसुरमा अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानमा खटिएका प्रहरी उनीहरूको चोरी शैली देखेर अचम्मित छन् । अनौठो तरिकाले दिउँसै राजधानीको भीडभाडयुक्त सडकमा चोरी गर्दै भाग्ने दुई युवा नाताले साला–भिनाजु हुन् । जुम्लाको सिंजा घर भई काठमाडौं महानगरपालिका–१८ नरदेवी बस्ने ३१ वर्षीय हरि शर्मा (भिनाजु) र २३ वर्षीय रोहित शाही (साला) हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय कालीमाटीस्थित पीसीसीबीको टोलीले उनीहरूलाई ५ वैशाखमा कुलेश्वरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार हरिका जेठा दाजु डाक्टर छन् भने कान्छा भाइ इन्जिनियर । तर, हरि भने करिब एक दशकदेखि चोरी धन्दामा छन् ।
जुम्लामा विभिन्न पेसा व्यवसाय गर्दै आएका कर्णराज शर्माका तीन छोरामध्ये माहिला छोरा हुन् हरि । चोरीका लागि उनले आफ्नै सालाको सहयोग लिन्छन् । रोहितका दुई दिदीमध्ये हरि भने कान्छी दिदीका श्रीमान् रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार रोहितका जेठा भिनाजु समेत चोरीकै केसमा पक्राउ परेर अहिले कारागारमा छन् ।
सालालाई लिएर चोरी गर्दै हिँड्ने हरि चोरीकै कसुरमा जेल परेर दुई वर्षअघि मात्रै छुटेको प्रहरीको भनाइ छ । त्यसपछि फेरि उनी पुरानै धन्दामा फर्किएका छन् । पछिल्लो पटक उनीहरू कलंकीबाट सुन्धारातर्फ सामान लिएर आउँदै गरेको पिक–अप भ्यानमा चढेर चोरी गरेको आरोपमा पक्राउ परेका हुन् ।
यी दुई जना मोटरसाइकल तथा स्कुटर चढ्ने र जाम भएको ठाउँ तथा ट्राफिक लाइटमा गाडी रोकेको समयमा पछाडिबाट गाडी चढ्ने र सामान लिएर झर्ने गरेको पाइएको छ ।
दिउँसै मान्छे भीडभाड भएकै ठाउँमा समेत यही शैलीमा उनीहरूलाई लामो समयदेखि चोरी गर्दै आएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेत बताउँछन् ।
‘साला–भेनाको समूहले अनौठा तरिकाले गाडीभित्रका सामानका बोरा दिउँसै चोरी गर्ने गरेको पाइएको छ,’ एसएसपी बस्नेत भन्छन् ।
एक दर्जन ठाउँमा चोरी
४ असार २०८१ को बिहान साढे ९ बजेतिर समान खरिद गर्ने भन्दै एउटा होलसेल पसलमा गएर चोरी गरेर भागेको प्रहरीले बताएको छ । सामान किन्ने भन्दै तीन बन्डल सूर्य चुरोट, शिखर आइस तीन बन्डल, क्याप्टेन तीन बन्डल, पाइलट तीन बन्डल प्याक गर्न लगाइ सामान लिएर फरार भएको पाइएको छ । त्यति बेला चुरोट मात्रै करिब १८ हजारको चोरी भएको प्रहरीले बताएको छ ।
त्यसैगरी १४ मंसिर २०८१ को बिहान साढे ८ बजेतिर कालीमाटीबाट बालाजु जान लागेको गाडीभित्रै तीन बोरा बासमती चामल र एक बोरा राज्मा साला-भेनाको समूहले चोरी गरेको थियो । कालीमाटीस्थित सडकमा बा १५ च ७८३ नम्बरको गुडिरहेको गाडीमा पछाडिबाट चढेर यी सामान चोरी भएको थियो । एक जना स्कुटर हाँक्दै उक्त गाडीमा पछाडि पुग्ने र अर्को व्यक्ति गाडीमा चढेर सामान झारेर लगेको प्रहरीले बताएको छ ।
यही शैलीमा २३ माघ २०८१ को बिहान पौन ६ बजेतिर काठमाडौं महानगरपालिका–१३ टंकेश्वर मन्दिर नजिकबाट बागमती प्रदेश–०१–०२५ च ९२५७ नम्बरको हाती गाडीबाट तेल, बदाम, लसुन लगायत सामानहरू चोरी भएको थियो । यसको १५ दिनपछि ७ फागुन २०८१ मा दिउँसो पौन तीन बजेतिर कालिमाटी महालक्ष्मी प्लाजाबाट बा १२ च ६९०७ नम्बरको बोलेरोबाट पाँच कार्टुन बिस्कुट उनीहरूले चोरी गरेको प्रहरीको भनाइ छ ।
गत १५ फागुनमा कालीमाटी तरकारी तथा फलफूल बजारबाट स्याउको कार्टुन उनीहरूले चोरी गरेको आरोप छ । टंकेश्वरमा पार्क गरेर राखेको गाडीबाट गत ६ चैतमा ५ पेटी चुरोट उनीहरूले चोरी गरेका थिए । ६ चैतमा मनमती खोला करिडोरबाट कालीमाटी आउने क्रममा बा १२ च १८७० नम्बरको गाडीबाट दुई कार्टुन पेस्ता यो समूहले चोरी गरेको आरोप छ ।
१९ चैत दिउँसो साढे २ बजेतिर कालीमाटीबाट एकान्तकुना जाने क्रममा बा १९ प २१६६ नम्बरको गाडीबाट विभिन्न सामान दुई बोरा चोरी गरेर फरार भएको आरोप उनीहरूमाथि छ । त्यसैगरी २७ चैतको दिउँसो १ बजेतिर बल्खुबाट नारायणनाथ जाने क्रममा बा १६ च ५४६२ नम्बरको गाडीबाट २० किलो ल्वाङ र १० किलो सुकुमेल पनि उनीहरूले चोरी गरेको आरोप छ ।
सोही दिन बेलुका ८ बजेतिर कुलेश्वरको पहेंलो पुलस्थित किराना पसल अगाडि स्कुटरमा लोड गरेर राखेको सामानहरू चोरी भएको थियो । उक्त स्कुटरमा लोड गरेर राखिएको किरानाका सामानहरू अन्दाजी ३० हजार मूल्य जतिको चोरी भएको प्रहरीको भनाइ छ ।
२७ चैतमै कुलेश्वरको पहेंलो पुलबाट बा ५ च ८३४५ नम्बरको हाती गाडीमा लोड भएको तीन बोरा सुकेको खुर्सानी र ३० किलो दरका दुई बोरा रातो दाल चोरी गरेर सेला-भेना फरार भएका थिए ।
३ वैशाख दिउँसो साढे २ बजेतिर कुलेश्वरको गणेश मन्दिर नजिक रोकेर राखेको साइकलमा लोड भएको विभिन्न ब्रान्डको २ लाख २६ हजार बराबरका चुरोट चोरी भएको प्रहरीको भनाइ छ ।
उनीहरूबाट प्रहरीले चोरीमा प्रयोग भएको र नम्बर परिवर्तन गरेर चलाएको एउटा मोटरसाइकल समेत बरामद गरेको छ ।
प्रहरीका अनुसार हरि शर्माको साथबाट एक थान खुकुरी समेत बरामद भएको छ । उक्त खुकुरी बरामद गर्ने क्रममा शर्माले प्रहरीमाथि नै आक्रमणको प्रयास गरेको प्रहरीको दाबी छ ।
प्रतिक्रिया 4