
१४ वैशाख, काठमाडौं । रास्वपा सांसद एवं पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई आग्रह गरेकी छिन् ।
शिक्षकको आत्मसम्मानमा लागेको चोटलाई सम्झेर भए पनि पार्टीको सदस्यता त्याग्न उनले आग्रह गरेकी हुन् ।
‘यत्रो दिन आन्दोलनरत रहँदा समेत तपाईंहरूसँग राम्ररी न वार्ता गर्न सक्ने, न त तथ्यगत आधारमा वार्ता गर्न सक्ने, तपाईंहरूको आत्मसम्मानमा लागेको चोटलाई पनि सम्झेर अब त मनन गर्नुहोस्, यो तानाशाह प्रवृत्ति र चरित्रलाई अस्वीकार गर्नुहोस् । अब पनि तपाईंहरूले सत्य र न्यायको पक्ष लिनुहुन्छ भने पार्टीको सदस्यता त्यागिदिनुहोस्,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।
दलहरूबाटै शिक्षकलाई दमन भएको उनको टिप्प्णी छ । ‘जो नेताहरूलाई तपाईंहरूले बुईंमा चढाई–चढाई सबैतिर पुर्याउनुभयो, आज उहाँहरूले तपाईंहरूमाथि गरेको दमनले वहाँहरूको नैतिकता र चरित्रबारे उदाङ्गो पारिदिएको होला,’ श्रेष्ठले भनेकी छिन् ।
आइतबार शिक्षकहरूको आन्दोलमा प्रहरीले पानीको फोहरा र लाठी चार्ज गरेपछि समुनाले दलको सदस्यता त्याग्न आग्रह गरेकी हुन् । ‘सदनमा र भाषणमा राजनीतिकर्मीहरू जस्तो सुकै गरेर प्रस्तुत भए पनि, तपाईंहरूलाई कसरी हेरिन्छ — अब त बुझ्नुस् ।’ उनले भनेकी छन्, ‘पहिले देशको व्यवस्था परिवर्तन गर्न तपाईंहरूले विभिन्न काल खण्डमा योगदान दिनुभयो । तपाईहरूले व्यवस्था परिवर्तन गर्दा देशको नेतृत्व सम्हाल्नेहरूको संस्कार परिवर्तन गर्न भने हामी अहिलेसम्म असफल देखिएका छौं । अब यो संस्कार परिवर्तन गर्न तपाईंहरू पनि सामेल हुनुस् ।’
प्रतिक्रिया 4