
१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाली पर्यटन क्षेत्रलाई क्लिन गर्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘नेपाली पर्यटन क्षेत्र भ्रष्ट क्षेत्रमा बदनाम छ । यो क्लिन गर्नु विकल्प छैन ।’
प्रतिनिधि सभामा पर्यटन विधेयक आएको छ । यो विधेयक सभामा अगाडि बढेको छ । विधेयकमाथिको छलफलमा भाग लिँदै उनले आफूले धेरै अघि देखि नै नेपालको उड्डयन सुरक्षाको अवस्था अत्यन्तै कमजोर रहेको र सुधार आवश्यक रहेको बताउँदै आएको बताए ।
नेपाल अझै पनि युरोपियन युनियनको कालोसूचीमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले लगातार निगरानी गरिरहेको छ । नेपालको हवाई सुरक्षा मापदण्ड निकै न्यूनस्तरमा रहेको उनको भनाइ छ ।
नेपालको हवाई सुरक्षाको कमजोरीले नेपालको हिमाल पर्यटन क्षेत्रलाई प्रत्यक्ष असर गरिरहेको बजगाईं बताउँछन् ।
यो वर्ष सगरमाथा आरोहणका लागि ५०० भन्दा बढी आरोहीहरू आएको उल्लेख गर्दै उनी भन्छन्, ‘यदि तिनीहरूको सहयोगी समूह र भरिया समूहलाई समेत गणना गर्ने हो भने २,००० भन्दा बढी व्यक्तिहरू आरोहण टोलीका रूपमा रिपोर्ट हुनेछन् । तर, पर्यटन मन्त्रालयसँग भविष्यमा सम्भावित विपद् व्यवस्थापनको योजना छैन, न त सुरक्षित आरोहण मार्ग पहिचान गरिएको छ ।’
नेपालको पर्यटन क्षेत्रमा पहिलेदेखि नै फेक रेस्क्यू घोटाला जस्ता घटनाहरूले ठूलो बदनाम गराएको उनले बताए । मन्त्रीहरू बारम्बार परिवर्तन भइरहने परिपाटीले पनि स्थायीत्व र प्रतिबद्धता ल्याउन नसकेको उनले बताए ।
नेपालको अन्तर्राष्ट्रिय छवि सुधार्न, पर्यटन अर्थतन्त्र जोगाउन, र नागरिकहरूको ज्यान जोगाउन अब ढिला नगरी बलियो उड्डयन सेवा विधेयक पास गर्न अत्यावश्यक रहेको उनले बताए ।
प्रतिक्रिया 4