
अमृता र शिरिष साथीको घरमा खाना खान गएका थिए । गफैगफमा हाँसो र ठट्टाको किस्सा पनि सुरु भयो ।
जब खाजाको समय आयो, शिरिषले ठट्टा गर्दै भने, ‘भाउजू घरको सम्पूर्ण काम एक्लै भ्याउनुहुन्छ । तर, हाम्री अमृतालाई हेर्नुहोस् न, उसलाई आनन्द छ । केही गर्दिनन् । सबै काम मलाई नै लाउँछिन्।’
यो सुन्दा सबै गललल….हाँसे । तर नताशा चुपचाप बसिरहिन् । उनलाई त्यो टिप्पणी मजाक जस्तो लागेन, त्यो भनाइ गम्भीर आरोपजस्तो लाग्यो ।
उनले अध्याँरो मुख लगाइन् । किनकी, सबै काम उनी आफैँ गर्ने भएकाले अरुलाई हसाउन बोलिएको त्यो कुराले उनी निराश भइन् ।
मात्र अरूलाई हँसाउन वा वातावरणलाई हल्का पार्न यस्तै खालका कतिपय वाक्य सोच्दै नसोची आफ्नो पार्टनरबारे अरुको अगाडि बोल्दा कहिलेकाहीँ सम्बन्धमा खटपट आउनसक्छ । यसरी गरिएको मजाकले अर्को व्यक्तिलाई धेरै किसिमले चोट पुर्याउन सक्छ ।
त्यसैले, हाँसोको माहौल बनाउनका लागि यस्ता हुरा बोल्नुअघि ठट्टा र खिसीबीचको फरक बुझ्न आवश्यक छ ।
ठट्टा र खिसीबीच के छ फरक ?
हाँस्न, मुस्कुराउन र जीवनलाई सजिलो बनाउन हसीमजाक पनि महत्वपूर्ण छ । तर त्यस्तो हसीमजाक पनि होइन जसले कसैलाई चोट पुर्याएर सम्बन्धमा तितोपन ल्यायोस् ।
तर, अधिकांश जीवनसाथीले आफ्नो निजी कुरालाई लिएर सार्वजनिक ठाउँमा पनि एक-अर्काको बारेमा यस्ता कुराहरू भन्छन्, जुन त्यतिबेला मजाक जस्तो लाग्न सक्छ । तर त्यही कुराले सम्बन्धमा हुने सम्मानको दायरा घटाउँछ । यो ठट्टाले जीवनसाथीको आत्मसम्मानमा चोट पुर्याउन सक्छ ।
ठट्टा भनेको हल्का मजाक वा रमाइलो कुरा हो, जसले कसैलाई ठेस नपुर्याई हाँसो र आनन्द ल्याउँछ । यसको उद्देश्य रमाइलो गर्नु हो, न कि कसैलाई चोट पुर्याउन।
कसैको कमजोरी वा कमीमाथि व्यंग्य गर्नु खिल्ली उडाउनु वा खिसी गर्नु हो । यो कटाक्षपूर्ण वा अपमानजनक मजाक हो, जसले कसैलाई लज्जित, दु:खी वा हीन बनाउने नियत राख्छ । खिल्ली उडाउनु र ठट्टाबीच अन्तर गर्न नसक्दा सम्बन्ध चिसिन पनि सक्छ ।
एउटा मजाकले सम्बन्धलाई कमजोर पार्न सक्छ
विश्वास कमी
जब पति-पत्नीले सार्वजनिक रूपमा एक-अर्काको निरन्तर मजाक उडाउँछन्, आपसी सम्मानलाई कमजोर बनाउन सक्छ । यसले अर्को व्यक्तिलाई लज्जित महसुस गराउन सक्छ । बनिरहेको विश्वास भत्किन बेर लाग्दैन ।
आत्मविश्वासमा कमी
जब कसैको रूप, बुद्धि वा अन्य संवेदनशील पक्षहरूमा बारम्बार मजाक उडाइन्छ, त्यो व्यक्तिले आफुलाई मूल्यहिन महसुस गर्न सक्छ । समय बित्दै जाँदा यसले आत्मविश्वासमा असर पार्न सक्छ ।
सम्बन्धमा नकारात्मकता
परिवारमा वा सार्वजनिक रूपमा हाँसोमार्फत रिस वा आलोचना व्यक्त गर्नाले अवहेलनालाई सामान्य बनाउन सक्छ । यदि समस्या समाधान गर्नुको सट्टा मजाकको रूपमा बेवास्ता गर्ने बानी बन्छ भने, यसले सम्बन्धमा नकारात्मकता बढाउन सक्छ ।
भावनात्मक दूरी बढ्ने
सुरुमा मजाक हल्का र रमाइलो लाग्न सक्छ, तर समयसँगै यसले भावनात्मक दूरी बढाउन सक्छ । जब कुनै पार्टनरलाई आफ्नो खिल्ली उडाइएको महसुस हुन्छ, तब ऊ टाढिन सक्छ ।
व्यक्तिगत कुरा भंग हुने भय
यदि मजाकलाई सन्दर्भभन्दा बाहिर राखियो भने, कहिलेकाहीँ अन्जानमा गोप्य कुरा बाहिरिन सक्छ ।
मनमा डर बस्छ
जब बारम्बार खिल्ली उडाउने बानीले गर्दा विस्तारै पाटर्नरले कतै जमघटमसँगै लान मन नगर्न सक्छन । किनकि उसलाई हरेक पटक उ मजाकको विषय बन्ने भय रहन सक्छ।
यो डरले दूरी बढाउँछ ।
समझ्दारी र समाधान आवश्यक
भनिन्छ, भगवानले हाम्रो हातको औंलाहरूको बीचमा ठाउँ छोड्नुभएको छ । ताकि कोही आएर आफ्नो हात र आफ्नो साथले यो खाली ठाउँ भर्न सकोस् । यसरी साथ पाइसके पछि जीवनको यात्रा सुमधुर हुनुका साथै सम्मानजनक पनि हुनु धेरै महत्त्वपूर्ण छ ।
त्यसकारण, यदि यस्तै बानीले सम्बन्धमा दरार आइरहेको छ भने समयमै समाधान खोज्नु राम्रो हुन्छ । किनकि सुकेको रूखलाई पानी हालेर पछि हरियो हुने आशा गर्नु व्यर्थ हो ।
केही प्रण उपयोगी
– सार्वजनिक रूपमा एक-अर्काको बारेमा नराम्रो बोल्ने छैनौं । एक-अर्काको छविमा असर पर्ने कुनै पनि काम नै गर्नेछौं ।
– यदि कुनै विषयमा असन्तुष्टि छ भने, त्यो घरमा मात्र सीमित हुनेछ । र, अरूको अगाडि कुनै पनि हालतमा ल्याइने छैन ।
– परिवारको अगाडि, विशेषगरी बच्चाहरूको अगाडि एक-अर्काको कमजोरी वा गल्तीहरूको बारेमा छलफल गर्नेछैनौं ।
– हामी एक-अर्कालाई सम्मान गर्नेछौं ।
– हामी कुनै पनि समस्या वा कमजोरीहरू एकान्तमा छलफल गर्नेछौं । र, सार्वजनिक कार्यक्रमहरूमा एक-अर्काको राम्रो गुणहरूको कदर गर्नेछौँ ।
– यदि बाहिरी व्यक्तिले कसैको मजाक उडाउँछ भने, अर्को व्यक्तिले परिस्थिति सुधार्ने प्रयास गर्नुपर्छ ।
प्रतिक्रिया 4