
१४ वैशाख, काठमाडौं। मानव अधिकारको क्षेत्रमा कार्यरत संस्थाहरुले पारदर्शी छनोट प्रक्रिया अपनाई संक्रमणकालिन न्यायसम्बन्धी दुई आयोगमा उपयुक्त व्यक्तिहरूको नियुक्तिका लागि सिफारिस गर्न समितिको ध्यानाकर्षण गरेका छन् ।
उनीहरुले आकांक्षीहरुको पृष्ठभूमि अध्ययन, सार्वजनिक सुनुवाइलगायतका पारदर्शी छनौट प्रक्रिया अपनाएर उपयुक्त व्यक्तिको सिफारिस गर्नुपर्ने माग गरेका हुन् ।
उनीहरुले पदाधिकारी छनौट र नियुक्ती प्रक्रियामा प्रत्यक्ष वा परोक्ष रुपमा समितिमा प्रभाव नपार्न पनि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आह्वान गरेका छन् ।
संक्रमणकालिन न्यायमा तात्विक योगदान नभएका, दलगत र अरु स्वार्थ भएका अनि गठजोडका आधारमा पद हत्याउने प्रयासमा लागेकाहरु सिफारिस हुन सक्ने भन्दै उनीहरुले पटक-पटक संक्रमणकालीन न्यायको प्रक्रिया धरापमा पार्ने अवस्था फेरि नदोहोर्याउन माग गरेका छन् ।
उनीहरुले पदका आकांक्षी र आवेदकहरुको रचनात्मक र तथ्यपरक सार्वजनिक परीक्षण(भेटिङ) गर्न पनि माग गरेका छन्। उनीहरुले विज्ञप्तिमा भनेका छन्, ‘अस्वीकार्य ब्यक्तिहरूको चयनबाट आयोगको वैधता गुम्ने र प्राप्त गर्ने सहयोग धरापमा पर्न सक्नेमा सचेत रहन पनि हामी अपिल गर्दछौं ।’
विज्ञप्ति जारी गर्नेहरुमा जवाफदेहिता निगरानी समिति, एड्भोकेसी फोरम नेपाल, एमनेष्टी इन्टरनेशनल नेपाल, इन्सेक, जुरी नेपाल र ल्याक छन् ।
प्रतिक्रिया 4