
१३ वैशाख, काठमाडौं । शिक्षक आन्दोलनको रिपोर्टिङको लागि दिउँसो १२ बजे नयाँ बानेश्वर पुगेकी थिइन्, प्राइम टेलिभिजकी पत्रकार सबिना कार्की ।
उनलाई शिक्षकहरूले अगाडि नै भनेका थिए, ‘आज निषेधित क्षेत्र तोड्ने हो ।’
सोही अनुसार उनी १२ बजे बानेश्वर पुगिन् । शिक्षकहरू प्रहरी भएतिर आइरहेका थिए ।
‘शिक्षकहरू नारा जुलुस गर्न लाग्नुभयो । शिक्षक आक्रोशित प्रहरीले पानीको फोहरा हान्न थाल्यो । क्यामेरा पर्सन भिडियो खिच्न लाग्नुभयो,’ अस्पतालको बेडबाटै कार्कीले भनेकी छिन्, ‘म पनि छेउमा बसेर मोबाइल झिकेर भिडियो खिच्न लागेको थिएँ । पानीको फोहरा अनुहारमा लाग्यो । केही देख्न सकिनँ, चिच्च्याएँ । आत्तिएँ ।’
सुरुमै प्रहरीले हानेको पानीको फोहरा आफूलाई लागेको उनले बताएकी छिन् ।
‘एक्कासी मलाई लाग्यो । दाहिने आँखा हेर्नै मिल्दैन,’ उनले भनिन् ।
आन्दोलनरत महिला शिक्षकले प्रहरीलाई खबर गरेपछि प्रहरीले उनलाई अस्पताल लैजान सहयोग गरेको थियो ।
‘मलाई सिभिल लगियो । बीचमा पुगेपछि अफिसमा खबर गर्न भनेँ,’ कार्कीले सुनाएकी छिन् ।
सिभिलमा उपचार सम्भव नभएपछि उनको अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।
उपचारमा संलग्न डाक्टरका अनुसार उनको आँखाको भित्री भागसम्म चोट लागेको छ । भिजनमा समस्या छ ।
‘आँखाभित्र रगत जमेको (हाइफिमा) छ । जसले गर्दा भिजन एकदमै कम रहेको छ । आँखाको छालाको माथिल्लो भाग पनि च्यातिएको छ । चोटको कारण आँखाको प्रेसर पनि बढेको छ,’ उपचारमा संलग्न डा. सिभान्त श्रेष्ठले भनिन् ।
प्रतिक्रिया 4