+
+
Shares

आर्कटिक टापुमाथि ट्रम्पको नजर, डेनमार्कको समर्थनमा ग्रीनल्याण्डका प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १७:५४
Photo Credit : Evgeniy Maloletka/AP
ग्रीनल्याण्डका नवनिर्वाचित प्रधानमन्त्री जेन्स-फ्रेडरिक निल्सन ।

१४ वैशाख, कोपेनहेगन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वशासित क्षेत्र आर्कटिक टापुमाथि नजर लगाएका बेला ग्रीनल्याण्डका नवनिर्वाचित प्रधानमन्त्री डेनमार्कको समर्थनमा खुलेका छन् । प्रधानमन्त्री निर्वाचित भएपछि उने आफ्नो पहिलो औपचारिक विदेश भ्रमण डेनमार्कबाटै थालेका छन् ।

डेमोक्र्याट पार्टीले मार्चमा निर्वाचन जितेपछि ग्रीनल्याण्डको नयाँ गठबन्धन सरकारको नेतृत्व गरिरहेका जेन्स–फ्रेडरिक निल्सन आइतबार डेनमार्क पुगेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलको सुरुवाती दिनमा आर्कटिक क्षेत्रको भ्रमण गरेका थिए । त्यसक्रममा उनले आर्कटिक टापुलाई आफ्नो नियन्त्रणमा लिन चाहेको बताएपछि अमेरिका र डेनमार्कबीच तनाव बढेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सुरक्षाको कारण देखाउँदै वासिङ्टनको नियन्त्रणमा ग्रीनल्याण्ड हुनु आवश्यक रहेको बताएका थिए । त्यतिमा मात्र नअडिएर गत बिहीबार नर्वे भ्रमणको क्रममा ट्रम्पले अन्तर्राष्ट्रिय शान्तिका लागि ग्रीनल्याण्ड निकै महत्वपूर्ण रहेको दोहोर्‍याएका थिए ।

ट्रम्पले नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरसँगको संयुक्त पत्रकार सम्मेलनमा भनेका थिए, ‘मलाई लाग्छ कि हामीलाई अन्तर्राष्ट्रिय शान्तिको लागि यो आवश्यक छ, र यदि हामीसँग ग्रीनल्याण्ड भएन भने यो विश्वको लागि ठूलो खतरा हो । अन्तर्राष्ट्रिय शान्तिका लागि ग्रीनल्याण्ड निकै महत्वपूर्ण छ ।’

तर, ट्रम्पका यी भनाइबाट डेनमार्क खुसी छैन । डेनिस प्रधानमन्त्री मेट फ्रेडरिकसनले अप्रिलको सुरुमै आर्कटिक क्षेत्रको भ्रमणका क्रममा अमेरिकी प्रशासनलाई लक्षित गर्दै भनेका थिए, ‘तपाईं अर्को देशलाई गाभ्ने निर्णय गर्न सक्नुहुन्न ।’

यता, डेनमार्क भ्रमणमा निस्किएका ग्रीनल्यान्डका प्रधानमन्त्रीले भनेका छन्, ‘सबैभन्दा पहिले म प्रधानमन्त्रीसँग भूराजनीतिक अवस्था र सहकार्यका बारेमा छलफल सुरु गर्नेछु । हामीले यस समयमा हाम्रो भविष्यको सहयोगको लागि योजनाहरू बनाऔं । यो कुरा दुवैका लागि महत्वपूर्ण छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि मार्चमा ग्रीनल्याण्डको भ्रमण गरेका थिए । यसलाई नुक र कोपनहेगन दुवैले उक्साहटको रूपमा हेरेका थिए । अमेरिकी सैन्य अड्डा पिटुफिकको भ्रमणका क्रममा भान्सले डेनमार्कले ‘ग्रीनल्याण्डका मानिसहरूसँग राम्रो काम नगरेको’ भन्दै आलोचना गरेका थिए ।

‘तपाईंले ग्रीनल्याण्डका जनतामा कम लगानी गर्नुभएको छ र यो अविश्वसनीय, सुन्दर भू–भागको सुरक्षा वास्तुकलामा कम लगानी गर्नुभएको छ,’ उनले पत्रकार सम्मेलनमा भनेका थिए ।

डेनिस विदेशमन्त्री लार्स लोक्के रासमुसेनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भनेका थिए, ‘हामी आलोचनाका लागि खुला छौं तर म पूर्ण इमानदारसाथ के भन्छु भने जुन स्वरमा यो वितरित भइरहेको छ हामी त्यसको कदर गर्दैनौं ।’

निल्सन आफैंले केही समय पहिले अमेरिकी राष्ट्रपति ट्रम्पको ग्रीनल्याण्डबारे दिएको प्रतिक्रियाप्रति लक्षित गर्दै भनेका थिए, ‘अमेरिकाले पाउने छैन ।’ उनले आफ्नो फेसबुक पेजमा लेखेका थिए, ‘हामी अरु कोहीसँग सम्बन्धित छैनौं । हामी आफ्नो भविष्य आफैं तय गर्छौं ।’

दुई दिनसम्म चल्ने कोपेनहेगन भ्रमणका क्रममा निल्सनले डेनमार्कका राजा फ्रेडरिक र डेनिस संसद्का प्रतिनिधिसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । डेनमार्कको दरबारले एक विज्ञप्ति जारी गर्दै राजा फ्रेडरिक निल्सनसँगै आर्कटिक टापुको भ्रमणका लागि ग्रिनल्याण्ड फर्कने जनाएको छ ।

ग्रीनल्याण्डको ५७ हजार जनसंख्यामध्ये अधिकांश डेनमार्कबाट स्वतन्त्र हुन चाहन्छन् तर संयुक्त राज्य अमेरिकाको हिस्सा बन्न चाहँदैनन् ।
(एजेन्सीहरूको सहयोग)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?