+
+
Shares

पत्रकार महासंघको टोलीले घाइते पत्रकार भेट्यो, दोषीमाथि कारबाही माग

महासंघकी अध्यक्ष निर्मला शर्मा, महासचिव राजप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारीलगायतको टोली तिलगंगा अस्पताल पुगेर घाइते पत्रकार कार्कीको स्वास्थ्य अवस्था बुझेको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते १८:३६

१४ वैशाख, काठमाडौं ।  शिक्षक आन्दोलनका क्रममा घाइते भएकी प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्कीलाई नेपाल पत्रकार महासंघको टोलीले भेट गरेको छ ।

महासंघकी अध्यक्ष निर्मला शर्मा, उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारीलगायतको टोलीले तिलगंगा अस्पताल पुगेर घाइते पत्रकार कार्कीको स्वास्थ्य अवस्था बुझेको हो ।

महासंघकी अध्यक्ष निर्मला शर्माले घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन र क्षतिपूर्ति दिन सरकारसँग माग गरिन् ।

उनले अनलाइनखबरसँग कुरा गर्दै भनिन्, ‘पत्रकार सबिना कार्कीको स्वास्थ्य लाभको कामना गर्दछौं।  घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन र उचित क्षतिपूर्ति दिन राज्‍यसँग माग गर्दछौं। ‘

साथै उनले पत्रकारहरूलाई पनि रिपोर्टिङमा जाँदा पहिला आफू सुरक्षित रहन् आग्रह गरिन् ।

यसअघि महासंघले आज विज्ञप्ति जारी गर्दै नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक रहेको जनाएको थियो ।

महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक छ । यो हर्कतले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात पुगेको महासंघको ठहर छ ।’

प्रहरी र शिक्षकबीचको झडपको क्रममा रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीलाई आँखामा चोट लागेको थियो । सुरुमा उनलाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । त्यहाँबाट चिकित्सकले ट्रमा सेन्टर रिफर गरेका थिए । तर, उनको आँखामा चोट भएपछि तिलगंगा अस्पताल लगेर उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सक  डा. सिभान्त श्रेष्ठका अनुसार चोटको कारणले गर्दा दुवै आँखाका लेन्सहरु सुन्निएका छन् ।

‘आँखाभित्र रगत जमेको (हाइफिमा) छ । जसले गर्दा भिजन एकदमै कम रहेको छ । आँखाको छालाको माथिल्लो भाग पनि च्यातिएको छ । चोटको कारण आँखाको प्रेसर पनि बढेको छ,’ उपचारमा संलग्‍न चिकित्सक श्रेष्ठले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?