
सुदूरपश्चिम पहाडको बैतडीमा जन्मिए डा. रमेशसिंह भण्डारी ।
सानै उमेरमा पढ्न भनेर उनलाई परिवारले काठमाडौं पठायो । त्यतिबेला उनी ५ वर्षका मात्रै थिए ।
काठमाडौंको भिएस निकेतन स्कुलबाट एसएलसी पास गर्दासम्म उनको जीवनमा ‘गायकी धुन’ चढिसकेको थियो। र, गीत गाउने रहरमा उनी बहकिएका थिए ।
तर, भनेजस्तो सजिलो त कहाँ थियो र ?
पाँच वर्षको छोरालाई पढ्नकै लागि काठमाडौं पठाउने आमाबुबाको सपना छोरोलाई ‘गायक’ बनाउने सपना पक्कै थिएन ।
हो, जीवन यस्तै ‘जन्जाल’ त हो नि । आफ्ना सपना थाती राखेर कहिलेकाहीं अरुकै सपनामा बाँच्नुपर्ने हुन्छ ।
काठमाडौं पठाउँदै गर्दा उनका बाआमाले सपना देखिसकेका थिए, ‘छोरा रमेश डाक्टर बनोस् ।’
एसएलसीपछि उनी आइएस्सीका लागि वीरेन्द्र सैनिक स्कुलमा भर्ना भए । मन त आफ्नै थियो । रहरहरू आफ्नै । तर, परिवारको चाहना अर्कोतिर ।
उनी न परिवारको सपना बिथोल्न चाहन्थे, न त आफ्नो चाहना मार्न ।
उनले खुरुखुरु साइन्स नै पढ्न थाले ।
धरानबाट एमबीबीएस पनि सक्काए । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पतालबाट एमएस गरे । एमएस सक्काएपछि त्यहीँ काम गर्ने अवसर मिल्यो ।
काम गर्दै जाँदा पेट सम्बन्धी रुचि भयो । टिचिङमै एमसीएच गरी पेट सम्बन्धी थप विशेषज्ञता हासिल गरे । अस्ट्रेलियामा रहेको रोयल अस्ट्रेलेसियन कलेज अफ सर्जन्समा फेलोसिप गर्ने अवसर रमेशले पाए । त्यहाँ दुई वर्ष लिभर सर्जरीको बारेमा सिकेर नेपाल आए ।
उनी कलेजो सर्जनका रूपमा त्रिवि शिक्षण अस्पतालमा कार्यरत छन् । कलेजो प्रत्यारोपणमा डा. रमेशको ख्याती निकै माथि छ ।
सानैदेखि संगीतमा रुचि
उनी सानैदेखि गीतसंगीतमा औधी रुचि राख्थे । स्कुलका सांगीतिक कार्यक्रममा सहभागी भइहाल्थे ।त्यही गीतप्रतिको हुटहुटीले उनले आइएस्सी पढ्दा गितार बजाउन पनि सिके। र, पछि आफ्नै स्वरमा गितारको धुन भर्न थाले।
सन् १९९७ को कुरा हो । धरानमा पढ्दै गर्दा साथीभाइसँग मिलेर उनले एउटा गीत रेकर्ड गराए । त्यसताका एफएमहरूमा त्यो गीत खुब बज्थ्यो ।
पढाइमा अवरोध हुने ठानेर उनले पछि गीतप्रतिको झुकावलाई धेरै हदसम्म घटाए । पढाइ सक्काएर पेशाले लय समातेपछि फेरि आफ्नो रुचिलाई मूर्त रूप दिने ध्याउन्न लागे उनी ।
उनै डाक्टर भण्डारी भन्छन्, ‘आजभोति त घरमा बस्दा पनि गीत गुनगुनाउने गरेको छु । मोबाइलमा गीत रेकर्ड गर्दै रमाउने गरेको हुन्छु ।’
‘सन् १९९७ मा एमबीबीएस पढ्दा गाएको गीत त्यो समय कान्तिपुर एफएममा बज्थ्यो। जुन सुनेर म निकै सन्तुष्ट हुन्थें,’ उनी भन्छन् ।
अहिले पनि उनी घरमा खाली समय हुनेबित्तिकै गितारको धुनमा स्वर मिलाउन उद्धत हुन्छन् । गत शुक्रबार उनको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
डा.भण्डारीको युट्युब च्यानलमार्फत ‘जीवन यो रहेसम्म’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
डा. भण्डारीको सुमधुर स्वरमा रहेको गीतको रचना र कम्पोजिसन पनि डा. भण्डारीले रहेका हुन् ।
गीतको मिक्सिङ प्रदीप जोशीको छ । सिलन लम्सालको सम्पादन रहेको म्युजिक भिडियोमा निमा लामाको मेकअप रहेको छ । म्युजिक भिडियोको निर्देशन अनिल के. मानन्धरले गरेका हुन् ।
चिकित्सा पेशासँगै निरन्तर संगीत कर्ममा सक्रिय प्रा.डा.यसअघि ‘निलो आकाश, तिम्रो नै माया लाग्छ, ‘एउटा जीवन यस्तो थियो, ‘कसरी भनुँ, ‘मायालु भाका गीतहरू सार्वजनिक भएका छन् ।
डाक्टर भण्डारी फुटबलप्रेमी हुन् । उनी फुटबल भनेपछि हुरुक्कै हुन्छन् । गीतमा पप लय उनलाई खुबै मनपर्छ । र, गाउन पनि त्यही लय सहज लाग्छ।
आजभोलिको मोर्डन गीत गाउने उनी रूचाउँछन् । पप गीत गाउन सजिलो हुने उनी सुनाउँछन् । प्रायजसो उनी सुगम पोखरेल, नवीन भट्टराईको गीत गाउने गरेका छन् ।
उनी बिहान दैनिक ७ बजे अस्पताल पुग्ने गर्छन् । बेलुकी ६–७ बजे घर फर्किसक्छन्। अस्पतालमा कहिलेकाहींबाहेक उनी ७ बजे घर पुगिसकेका हुन्छन् ।
घर आएपछि संगीतलाई १ घण्टा जति समय दिने गरेका छन् भने शनिबारको दिन अलि बढी समय त्यता लगाउँछन् ।
अप्रेसन गर्नुभन्दा अघि वा अप्रेसन गरेपछि संगीत मनपर्ने बिरामीलाई गीत सुनाउने गर्छन उनी । त्यसले बिरामीलाई राहत दिने उनको भोगाइ छ ।
बिरामी हेर्नेबाहेक पढाइ वा अस्पतालको काम अफिस आवरमै सकाउने गर्छन् । घरमा उनी आफूलाई फ्री नै राख्न खोज्छन् । उनी भन्छन् ‘ इच्छा भएपछि समय मिलाउन कुनै समस्या हुँदैन।’
बिदाको दिन मुड आएको खण्डमा घण्टौंसम्म गीत नै गाएर बसिदिन्छन्। रमाइलो गर्न मनपराउँछन्। जुन बेला फुर्सद हुन्छ त्यही बेला गाउन थाल्छन् ।
छुट्टीका दिन प्रायःजसो घरमा नै समय बिताउने गर्छन् उनी । सकारात्मक सन्देश दिने र इनर्जी दिने खालका गीत गाउन मन पराउँछन् ।आफूलाई मनपरेको कुरा कसैले गर्छ भन्ने शरीरको तनाव कम हुन्छ भन्ने सोच उनको छ ।
अप्रेसन गर्नुभन्दा अघि वा अप्रेसन गरेपछि संगीत मनपर्ने बिरामीलाई गीत सुनाउने गर्छन उनी । त्यसले बिरामीलाई राहत दिने उनको भोगाइ छ। चिकित्सा पेशासँगै आफ्नो गाउने रहर पूरा गरिरहेकोमा खुसी छन् डा. रमेश ।
‘गीत गाएर अब खतरै गायक बनिहाल्छु भन्ने त होइन जे भएपनि बच्चा बेलादेखिको रहर मेटिरहेको छु’ डा.रमेश भन्छन् ।
प्रतिक्रिया 4