+
+
Shares

अदालतमा रवीन्द्रले स्वीकारे- आँखै अघि अश्रुग्यास खसेपछि आवेगमा आएँ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १४ गते २२:३४

१४ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले अश्रुग्यास प्रहार भएपछि आफू आवेगमा आएको बताएका छन् ।

म्याद थपका लागि आइतबार जिल्ला अदातल काठमाडौंमा लगिएका मिश्रले आफ्नो भनाइ राख्ने क्रममा आन्दोलनमा गएका व्यक्ति विरोधस्थलमा ध्यान गरेर बस्न नसक्ने समेत बताए ।

१५ चैत काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनपछि सोही दिन राति प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो ।

त्यसयता मिश्र काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

‘मेरो आँखै अगाडि नाकै अगाडि अश्रुग्यास खपेपछि त्यो अश्रुग्यासबाट तरतर आँशु झारेर नवराजजीलाई बचाएर एक ठाउँमा राखेपछि र ममाथि अश्रुग्यास परेपछि स्वभाविक रुपमा म अलिकति आवेगमा आएकै हो,’ मिश्रले न्यायाधीशसमक्ष भने ।

अश्रुग्यास आफू नजिक प्रहार हुनुअघि छरिएका प्रदर्शनकारीले के–के गरे त्यो बारेमा जानकारी नरहेको मिश्रले बताए । यसअघि राप्रपाले गरेका प्रदर्शनमा प्रहरीले रोक्दा पनि अघि बढ्न भनेजस्तै यसपटक पनि भनको मिश्रले बताए ।

‘त्यहाँ के मैले प्रहरीको घेरा तोड्न प्रयास गरेको थिएँ ? के मैले संसद्मा आगो लगाऔं भनेको थिएँ ? संसद् घेर्न जाऔं भनेको थिएँ?,’ मिश्रले न्यायाधीशसामु भनेका छन्, ‘मैले के कसैको घरमा आगो लगाऔं भनेको थिएँ ? मैले कसैलाई ढुंगा हान भनेको थिएँ ? आन्दोलनमा भएको नेताले बोल्छ । हो मैले बोलें ।’

प्रदर्शनमा उत्रिएका नागरिकलाई अघि बढौं भनेको आधारमा एक महिना हिरासतमा राखिएको उनले न्यायाधीशलाई सुनाए । जति समय बढी हिरासतमा राखियो त्यति बढी आफूलाई नायक र राज्यलाई खलनायक बन्ने परिस्थिति हुँदै गएको उनले सुनाए ।

‘त्यसो भन्नु मलाई हिरासतमा राख्नुपर्दछ भन्ने होइन । यो न्याय भएन भन्ने हो,’ मिश्रले भने, ‘म बाँकी जीवन नाक काटेर बाँच्न चाहन्नँ श्रीमान् ।’

राज्यले चाहँदा नागरिकलाई जेरीजस्तै घुमाइदिने अवस्था रहेको उनले सुनाए । त्यो जेरीलाई फुकाउन सक्ने न्यायालय मात्रै भएको मिश्रको भनाइ छ ।

१० वैशाखमा छुट्टे आशा भएपनि रिहा नगरिएको उनको भनाइ थियो।

बयान सकिएको र भाग्ने अवस्था पनि नहुँदा समेत त्यो दिन नछोडिएको मिश्रले बताए ।

मिश्रले आज आमाको मुख हेर्ने दिनमा रिहा भएर आमालाई भेट्न पाउँ भनी न्यायाधीशसँग आग्रह गरे । तर, प्रहरीको अनुसन्धान अझै नसकिएको भन्दै सरकारी वकिलहरुले मिश्रलाई अझै कम्तीमा २० दिन हिरासतमा राख्न अनुमति दिनुपर्ने जिकिर इजलासमा गरेका छन् ।

यसअघि पनि २० दिनको अनुमति माग्दा बाँकी बयान सक्ने गरी भन्दै अदालतले तीन दिन म्याद थपिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?