
१४ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय तहमा महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरू निष्क्रिय रहेका छन् । अनुशासन समितिका प्रमुख भरतमणि देवकोटा, प्रशिक्षण विभागका प्रमुख अनिलकेशरी शाह र केन्द्रीय सदस्य एवं योजना आयोगका पूर्वसदस्य अरनिको पाँडे निष्क्रिय छन् ।
अनुशासन समितिका प्रमुख देवकोटा हाल अमेरिकामा छन् । देवकोटा अमेरिकामा रहेकाले कार्यवाहकको रूपमा रमाकान्त रिमालले भूमिका निर्वाह गरेका छन् । रिमालले आफू कार्यवाहक प्रमुखको जिम्मेवारीमा रहेको अनलाइनखबरसँग बताए ।
देवकोटाले पार्टीलाई समय दिन नसक्ने खबर गरिसकेका छन् । उनले पदबाट राजीनामा भने दिइनसकेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
‘पारिवारिक कारणले अलि लामो समय अमेरिका बस्नुपर्ने जानकारी गराउनुभएको छ,’ बुर्लाकोटीले अनलाइनखबरसँग भने, ‘औपचारिक रूपमा राजीनामा दिनुभएको चाहिँ छैन । धेरै समय उता बस्दा पार्टीका कामहरू अड्किन्छ कि भन्ने उहाँको आसय छ । उहाँको विकल्पमा के हुन्छ भनेर सामान्य छलफल गरेका छौं ।’
देवकोटाले राजीनामा नदिए पनि अनुशासन समितिका काम अघि बढ्न सक्ने अवस्था हुने/नहुने छलफलमै रहेको बुर्लाकोटीले बताए ।
अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले गत कात्तिकमा पदबाट राजीनामा दिएका थिए । वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय देवकोटाको घरमा छ । पार्टी सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा लामिछाने सचिवालय प्रमुखको भूमिकामा देवकोटा थिए ।
त्यसबेलाको सत्ता गठबन्धनमा रास्वपाबाट सिफारिस भएका दुईजना राजदूत हुनेगरी भागबण्डा गरिएको थियो । रास्वपाले प्राप्त गर्ने राजदूतमा आफू बन्न पाउनुपर्ने भन्दै देवकोटाले लविइङ गरेको पूर्वमहामन्त्री डा. मुकुल ढकालले आरोप लगाएका छन् ।
‘यिनी मेरै सिफारिसमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालय प्रमुख भएका थिए,’ देवकोटाबारे ढकाल भन्छन्, ‘राजदूतको भागबण्डामा पार्टीलाई दुईजना राजदूत पर्यो ।आफूलाई राजदूत बनाउनैपर्छ भनेर अड्डी कसे । म समीक्षा यात्रामा भएका कारण त्यता ध्यान दिइनँ र गृहमन्त्रीसँगै कुरा गर्नु भनिदिएँ ।’
रास्वपा प्रवेश गरेर छोटो समयमा महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका पूर्वबैंकर अनिलकेशरी शाह पार्टी क्रियाकलापबाट विस्तारै अलग हुँदै गएका छन् । पार्टी केन्द्रीय सदस्य एवं प्रशिक्षण विभागका प्रमुख रहेका शाह रास्वपामा सक्रिय नहुने मनस्थितिमा पुगेका छन् ।
‘पार्टीको नेतृत्व विकासमा योगदान गर्न सकिएला भनेर म प्रशिक्षण विभाग प्रमुख भएको हो,’ शाहले अनलाइनखबरससँग भने, ‘तर, परिस्थिति यताउता पर्दा नेतृत्व विकास पार्टीको प्राथमिकतामा पर्न सकेन । त्यही भएर म पार्टीभित्र धेरै सक्रिय हुन सकेको छैन ।’
आफू अब पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी छोड्ने निष्कर्षमा पुगेको शाहले बताए । उनले भने, ‘यसको अर्थ मैले पार्टी नै छोड्छु भनेको होइन । म पार्टीमै रहन्छु । प्रशिक्षण विभागको नेतृत्व चाहिँ छोड्ने नै हो ।’
प्रशिक्षण विभाग प्रमुख रहेका उनले पदीय भूमिकाअनुसार जिम्मेवारी निर्वाह गर्न नसकेको आरोप समेत लाग्ने गरेको छ । प्रशिक्षित गर्ने प्रमुख पदमा रहेर नेता/कार्यकता प्रशिक्षण गर्ने कार्यक्रमहरू ल्याउन नसकेको उनीमाथि आरोप लगाइएको छ । पार्टीले अवलम्बन गरेका विचार/नीतिमा प्रशिक्षित गराउन नसक्दा दस्तावेजमा उल्लेखित विषयलाई नेता/कार्यकर्ताले जोडसहित उठाउन नसक्ने अवस्था बनेको रास्वपामा विश्लेषण छ ।
आमाको निधनका कारण पनि प्रशिक्षण विभागको जिम्मेवारीमा कार्य गर्न समस्या परेको शाहले सुनाए । ‘पार्टीमा समय दिन सकेको छैन । मेरो लिड नेपाल भन्ने संस्था पनि छ । त्यसको माध्यमबाट पनि म प्रशिक्षण र नेतृत्व विकासमा सक्रिय छु,’ शाहले भने, ‘यो संस्थाको प्रशिक्षणको काम र पार्टीको प्रशिक्षणको काम दुवै शनिबार-आइतबार पर्ने गरेको छ । त्यसरी समय जुध्दा पनि समस्या भएको छ ।’
योजना आयोगका पूर्वसदस्य अरनिको पाँडे पनि रास्वपाको राजनीतिमा हाल सक्रिय छैनन् । योजना आयोगको सदस्य पदबाट राजीनामा दिएपछि उनी रास्वपाका गतिविधिमा सक्रिय देखिएका छैनन् । प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा सहभागी हुँदा पाँडे योजना आयोगको सदस्य थिए । २०८० चैतमा योजना आयोगको सदस्य बनेपछि पाँडेले केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका थिए ।
‘स्वार्थको द्वन्द्व हुन नदिने’ भन्दै रास्वपाको केन्द्रीय सदस्यबाट पाँडेले राजीनामा दिएका थिए । योजना आयोगको सदस्यबाट राजीनामा दिएपछि पुरानै अवस्थामा उनी क्रियाशील नरहेको रास्वपाका नेता/कार्यकर्ता बताउँछन् ।
पाँडेलाई रास्वपाको विकास योजना तथा नीति तर्जुमा विभाग प्रमुखको जिम्मेवारी समेत तोकिएको थियो । राष्ट्रिय योजना आयोग छोडेपछि बिरामी परेको हुँदा सक्रिय हुन नसकेको पाँडेले अनलाइनखबरसँग बताए । ‘कोभिडका कारण थला परेको थिएँ । त्यति देखापरेको चाहिँ छैन म,’ पाँडेले भने । उनले पुरानै अवस्थामा क्रियाशील हुने बताए ।
जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएका पाँडेले गत निर्वाचनमा ललितपुर–३ बाट स्वतन्त्र उम्मेवारी घोषणा गरेका थिए । तर प्रतिस्पर्धा भने गरेनन् ।
उनले अष्ट्रेलियाको मेलबर्न इन्स्टिच्युट अफ मेलबर्न (एआईटी)बाट विद्यावारिधि गरेका छन् । उनले काठमाडौं उपत्यकाको वायु प्रदूषणको अनुसन्धान गरी सोही विषयमा विद्यावारिधि गरेका हुन् ।
यूएनईपी, यूएनडीपी, डब्लूएचओ लगायतका अन्तर्राष्ट्रिय संस्थामा कार्य गरेको अनुभव पाँडेसँग छ । जलवायु परिवर्तन, दिगो विकास, प्रदूषण लगायतका क्षेत्रमा उनले नेपाल, फिलिपिन्स र जापानमा सरकारको सल्लाहकार भएर समेत काम गरेका थिए ।
सहमहामन्त्री सुमना श्रेष्ठले आफ्नो पदबाट यसैबीचमा राजीनामा दिएकी छन् । श्रेष्ठले राजीनामा प्रस्तुत गरेको केन्द्रीय समिति बैठकमा आफू सहभागी नभएको केन्द्रीय सदस्य एवं प्रशिक्षण विभाग प्रमुख शाहले जानकारी गराए ।
‘अरनिकोजी पनि आफ्नै व्यक्तिगत कारणले पार्टीमा त्यति सक्रिय देखिनुहुन्न । मेरो पनि व्यक्तिगत कारण छ,’ शाहले भने, ‘यसबीचमा सुमनाजीले पार्टीबाट राजीनामा दिनुभयो । त्यो दिनको केन्द्रीय समिति बैठकमा म थिइनँ ।’
कार्यवाहक महामन्त्री बुर्लाकोटी यी विभागीय प्रमुखहरूको सक्रियता सुरुबाटै अपेक्षाअनुरूप नदेखिएको समीक्षा गर्छन् । निष्क्रिय भनिएका नेताहरूको कार्यशैली पहिलेदेखि नै रफ्तारमा नरहेको र उक्त सुस्तता उस्तै लयमा रहेको उनी दाबी गर्छन् ।
‘उहाँहरूको पहिले पनि रफ्तारको सक्रियता होइन । अहिले घटेको पनि होइन । पहिलेदेखि नै त्यस्तै हो,’ बुर्लाकोटीले भने ।
प्रतिक्रिया 4