+
+
Shares

लाप्राकको नमुना बस्ती : घर छन्, बासिन्दा छैनन्

खसमाया गुरुङ भन्छिन्– यहाँ छिमेकी कोही छैनन्, बोली मिसाउने मान्छे पाइँदैन, सुनसान छ ।

विकास मरहट्टा विकास मरहट्टा
२०८२ वैशाख १५ गते १०:३५

१५ वैशाख, लाप्राक (गोरखा) । भनाइ नै छ– घर त्यो हो, जहाँ मन बस्छ । अर्थात् जुन ठाउँमा मन रमाउँछ, त्यो नै साँचो अर्थमा घर हो । माया, सम्बन्ध र आफ्नोपनको अनुभूति नहुने घर केबल ढुंगा, माटो, इँट्टा, काठ, सिमेन्ट आदिबाट बनेको संरचना मात्र हुन्छ । नमुना एकीकृत बस्तीका घरमा यस्तै अनुभूति भएको छ लाप्राकीलाई ।

गोरखाको बारपाक केन्द्रविन्दु भएर २०७२ सालमा गएको भूकम्पपछि घरबारविहीन भएका लाप्राकका बासिन्दालाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गुप्सीपाखामा एकीकृत नमुना बस्ती बनाइदियो ।

एकनासका चिटिक्कका घर बनाएर गोलाप्रथाबाट स्थानीयलाई हस्तान्तरण गरी २०७८ साल वैशाख ९ गते लालपूर्जा पनि वितरण गरियो । तर एकीकृत बस्तीका नयाँ घरमा लाप्राकीको मन बसेन । उनीहरुले पुरानो थातथलो नछाडेपछि अधिकांश नयाँ घर रित्तै छन् । रित्ता घरको आगनमा घाँस उम्रिन थालेको छ । घरका झ्यालढोका फुटेका छन् ।

पुरानो गाउँ छाडेर नयाँ बस्तीमा बसेका सीमित व्यक्तिहरुमध्ये खसमाया गुरुङ पनि एक हुन् । नयाँ बस्तीसँग जीविकोपार्जन नजोडिएकाले उनी त्यति खुशी छैनिन् । खसमायाले भनिन्, ‘यहाँ घरमात्र हो, खेती गर्ने जमिन छैन, खेतीका लागि तलै गाउँ जानुपर्छ ।’ नयाँ बस्तीबाट पुरानो गाउँ जान करिब ४५ मिनेट लाग्ने उनले सुनाइन् ।

पुरानो गाउँ पहिरोको जोखिममा रहेकाले मात्र आफू नयाँ बस्तीमा बसिरहेको उनको भनाइ छ । तर छिमेकीहरु नहुँदा एक्लोपनको अनुभव उनलाई भएको छ । ‘सबै कुरा तलै गाउँमा छ तर पहिरोको डरले मात्र यहाँ आएर बस्नुपरेको हो,’ खसमाया भन्छिन्, ‘यहाँ छिमेकी कोही छैनन्, बोली मिसाउने मान्छे पाइँदैन, सुनसान छ । सबै बसे त रमाइलै हुन्थ्यो होला !’

गोदाम घर बने नमुना बस्ती

पुरानो गाउँको तुलनामा नयाँ बस्ती बसाइएको गुप्सीपाखा बढी हिउँ पर्ने र चिसो हुने ठाउँ हो । यसअघि यो ठाउँ चरन क्षेत्रको रुपमा प्रयोग हुन्थ्यो । पुस र माघ महिनामा बस्तीमा पानी पनि अभाव हुने गरेको स्थानीय बताउँछन् । पानी लिन घरबाट करिब आधा घण्टा पैदल हिँडेर जंगलतिर जानुपर्छ ।

त्यसैले स्थानीयले पुरानो गाउँ छाड्न नमानेको अर्का स्थानीय मार्सिङ गुरुङ बताउँछन् । मार्सिङका अनुसार लाप्राकको नमुना बस्तीका अधिकांश घर अहिले खाद्यान्न भण्डार गर्ने गोदामको रुपमा प्रयोग भएको छ । विशेष गरी स्थानीयले ती घरहरुमा आलु थन्क्याउने गरेका छन् ।

२०५६ सालदेखि नै पहिरोको जोखिममा रहेको लाप्राकको पुरानो गाउँमा २०७२ सालको भूकम्पले ६ सयभन्दा बढी घरमा क्षति पुगेको थियो । घरबारविहीन भएका लाप्राकी गुप्सीपाखा (हाल नयाँ बस्ती रहेको ठाउँ) मा पाल र टेन्ट टाँगेर बसेका थिए । नयाँ बस्ती निर्माणका लागि ठाउँ खाली गरिदिन उनीहरु पुरानै गाउँमा फर्किएर भूकम्पले क्षति पुगेको घर मर्मत गरेर बसेका थिए ।

२०७३ मंसिर ८ बाट गुप्सीपाखामा एकीकृत बस्ती निर्माणको काम सुरु भएको थियो । बस्ती निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सहरी विकास मन्त्रालय र एनआएनएबीच २०७३ वैशाख १२ गते त्रिपक्षीय सम्झौता भएर काम अघि बढेको थियो ।

घर निर्माणका लागि स्थानीयले श्रमदान पनि गरेका थिए । आठ ट्याक्टर ढुंगा र ४० बोरा गिट्टी प्रत्येक स्थानीय आफैंले जुटाएका थिए । आवश्यक काठ आफैंले जोहो गरेका थिए । करोडौंको लागतमा एकीकृत नयाँ बस्तीमा घर बनाइसकेर गोलाप्रथाबाट घर छनोट पनि गरे । तर उनीहरुले नयाँभन्दा पुरानै घरलाई प्राथमिकता दिए ।

छैन बिजुलीको सुविधा

हाल करिब ५० घरधुरी मात्र नयाँ बस्तीमा बसिरहेका छन् । केहीले होटल र रेष्टुरेन्ट चलाएका छन् । ११ घरधुरी समेटेर होमस्टे पनि सञ्चालन गरिएको छ । तर उनीहरु बिजुलीको समस्या भोगिरहेको बताउँछन् ।

बस्तीमा गाडिएका पोलमा तार टाँगेको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय प्रसारण लाइनको बिजुली प्रवाह नभएको स्थानीय यामकुमारी गुरुङ गुनासो गर्छिन् । गुम्दा र बारपाकमा केन्द्रीय प्रसारणको लाइनबाट बिजुली बलिसक्दा पनि लाप्राकमा भने लापरबाही भएको उनको ठहर छ ।

‘लाप्राकको नयाँ बस्तीमा अहिले लघु जलविद्युतबाट बिजुली बालिएको छ तर साँझपख पावर पुग्दैन,’ नमुना बस्ती सामुदायिक होमस्टेकी कोषाध्यक्ष समेत रहेकी ज्योति गुरुङ भन्छिन्, ‘साँझ परेपछि बत्ती धिपधिप गर्छ । वाइफाइ चलाउन पनि समस्या हुन्छ ।’

 

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?