१५ वैशाख, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ६ जना राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको छ। कम्पनीले हालै देशभर १० लाखभन्दा बढी घरधुरीमा इन्टरनेट जडान गरेको उपलब्धिको अवसरमा यो घोषणा गरेको हो।
नयाँ ब्रान्ड एम्बेसडरहरूमा रोहित कुमार पौडेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, अनिल कुमार साह र ललित राजवंशी रहेका छन्।
सम्झौतामा वर्ल्डलिंकका सह-संस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र प्रमुख कार्यकारी अधिकृत केशव नेपालले हस्ताक्षर गरेका थिए।
नेपालमा कुनै कम्पनीले एकै पटक ६ जना ब्रान्ड एम्बेसडरहरू नियुक्त गरेको यो पहिलो पटक हो भनिएको छ। यसले वर्ल्डलिंकको राष्ट्रिय गर्व, खेलकुद र समुदाय विकासप्रतिको प्रतिबद्धता देखाउँछ।
कार्यक्रममा बोल्दै अग्रवालले भने, ‘यी क्रिकेट खेलाडीहरूमा देखिएको समर्पण, मेहनत, टीम वर्क र राष्ट्रिय भावना वर्ल्डलिंकका मूल्य र लक्ष्यसँग मेल खान्छ। हामी नेपालीहरूको सपना र आशालाई प्रतिनिधित्व गर्ने यी खेलाडीहरूसँग सहकार्य गर्न पाउँदा गर्व गर्छौं।’
वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत नेपालले थपे, ‘नेपालमा क्रिकेटप्रतिको माया दिनदिनै बढ्दैछ। वर्ल्डलिंकले सधैं खेलकुदलाई समर्थन गर्दै आएको छ। हामीले गत वर्ष ‘बीट द स्पीड’ अभियानमार्फत नेपालको सबैभन्दा छिटो बल फ्याँक्ने प्रतिभा खोज्ने प्रयास गरेका थियौं, र अब यसको दोस्रो सिजन चाँडै ल्याउँदैछौं।’
वर्ल्डलिंकका अधिकारीहरूका अनुसार, यो सहकार्य केवल ब्रान्ड प्रचार मात्र नभई, नेपाली क्रिकेट र समुदायसँगको भावनात्मक सम्बन्ध मजबुत पार्ने अभियान हो।
प्रतिक्रिया 4