
१५ वैशाख, हुम्ला । चंखेली गाउँपालिका–६ की विष्णु हमाल मेलछाम स्वास्थ्य चौकीमा आइतबार साँझ साढे ५ बजे सुत्केरी भइन् ।
उनको स्वास्थ्य जटिल भएकाले स्वास्थ्यकर्मीहरुले सदरमुकाम सिमकोट लगेर उपचार गर्न सुझाव दिए । श्रीमान छित्त हमालले एम्बुलेन्समा राखेर पाँच घण्टाको यात्रापछि सोमबार बिहान जिल्ला अस्पताल ल्याइपुर्याए ।
चिकित्सकहरुले विष्णुलाई ‘ए नेगेटिभ’ रगत चढाउनुपर्ने आवश्यक देखे । तर उनलाई मिल्ने रगत पाइएन । विष्णुको स्वास्थ्य जटिल भएकाले चिकित्सकले नेपालगञ्ज लैजान सुझाव दिए ।
तर बिरामीका आफन्तसँग आर्थिक अभाव थियो । नेपाल–अस्ट्रेलिया साझेदारी संस्थाका प्रमुख छपाल दोर्जी लामाले हवाई भाडावाफत् १८ हजार २ सय रुपैयाँ सहयोग गरे ।
त्यसपछि बल्ल श्रीमान छित्त हमालले उपचार गर्न नेपालगञ्ज लैजाने निर्णय गरे । त्यसका लागि उनी नवजात शिशु र श्रीमतीलाई जिल्ला अस्पतालकै एम्बुलेन्समा राखेर सिमकोट विमानस्थल पुगे ।
उनीहरुलाई विमानस्थलसम्म पुर्याउन अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरु पनि विमानस्थल गए ।

बिरामीलाई विमानस्थलमा ‘बेवास्ता’
विभिन्न कम्पनीका हवाईजहाजहरु चारपटक आउ–जाउ गर्दा पनि उनीहरु उड्न पाएनन् । अन्तिममा बल्लतल्ल समिट एयरलाइन्सको जहाजबाट उनीहरु नेपालगञ्ज उड्न पाए ।
‘विमानस्थलको एप्रोन बाहिर एम्बुलेन्स र डाक्टरको टोली पनि थियो । सीडीओ साब पनि हुनुहुन्थ्यो तर नेपाल एयरलाइन्स र तारा एयरका जहाजले हामीलाई चढाउन मानेनन् । अन्तिममा समिट एयरले चढायो,’ विरामीका श्रीमान् छित्त हमालले भने, ‘हामी दुई घण्टासम्म विमानस्थलमै अलपत्र पर्यौं ।’
सरकारी स्वामित्वको नेपाल एयरलाइन्सको जहाजले समेत बिरामी बोक्न नमानेको भन्दै बिरामीका आफन्त आक्रोशित थिए ।
नेपाल एयरलाइन्स हुम्लाका प्रमुख छिरिङ लामाले भने बिरामी र बिरामीका आफन्तहरू जहाजको इन्जिन स्टार्ट भइसकेपछि विमानस्थल पुगेकाले रोक्न नसकिएको बताए ।
सो जहाज सिमकोटदेखि सुर्खेत उडेको थियो । सुर्खेतबाट पुनः सिमकोट आएर फर्किएको थियो । त्यसपछि नेपालगञ्जबाट तारा एयरको जहाज सिमकोट विमानस्थल आयो । त्यसले पनि बिरामीलाई प्राथमिकता नदिएको गुनासो आफन्तहरुको छ ।

अन्तिम उडान समिट एयरलाइन्सको थियो । सो जहाजमा बल्लतल्ल बिरामीले मौका पाएका थिए । बिहान साढे सात बजे विमानस्थल पुगेका बिरामी र तिनका आफन्तहरु १० बजे मात्र उड्ने मौका पाएका थिए ।
समिट एयरको जहाज उड्ने बेला हावाको वेग बढेकाले करिब १० मिनेट ढिलो उडेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्र सिंहले हावाको बेग बढेपछि अरू यात्रु झारेर बिरामीसहित ३ जनालाई लिएर समिट एयर नेपालगन्ज उडेको जानकारी दिए ।
प्रतिक्रिया 4