
‘घरमा पाल्ने कुकुर, बिरालो जस्ता जनवार हाम्रो परिवारको हिस्सा पनि हो । बेलाबेला घरपालुवा जनवार हराएको र चोरिएको गुनासो आउने गरेका छन्’ काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फेसबुकमा लेखेका छन्, ‘यो समस्याको समाधान माइक्रो चिपिङमार्फत गर्न सकिन्छ ।’
उनले काठमाडौंबासीलाई फेसबुकबाटै आह्वान पनि गरेका छन्, ‘तपाईंहरूको कुकुर, बिरालो जस्ता प्राणीलाई माइक्रोचिप अनिवार्य लगाइदिनु होला ।’
काठमाडौं महानगरपालिकाले अहिले माइक्रो चिपिङ कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाउँदैछ । काठमाडौं महानगरपालिकाले कुकुर, बिरालो व्यवस्थान, नियन्त्रण र दर्ता कार्यविधि २०७९ जारी गरेको थियो । यस कार्यविधिको दफा ३ (च) मा महानगर क्षेत्रभित्रका घरपालुवा कुकुर र बिरालोको दर्ता अनिवार्य गरिएको छ ।
काठाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ अनुसार नेपाली जातका सामुदायिक कुकुर वा बिरालो घरमा पालेर आफ्नो नाममा दर्ता गराएमा वडाबाट निःशुल्क दर्ता गरिने व्यवस्था छ । तर, विदेशी जातका कुकुर वा बिरालोको हकमा भने प्रतिजनवार २ हजार रुपैयाँ शुल्क लाग्ने जनाइएको छ ।
कुकुर वा बिरालो पाल्ने व्यक्तिले सम्बन्धित कार्यलयमा दर्ता गराएर माइक्रोचिप लगाउनुपर्नेछ । साथै माइक्रोपिच लगाइएका कुकुर बिरालोको मृत्यु भएमा, स्तान्तरण गरेमा वा हराएमा मालिकले ७ दिनभित्र सम्बन्धित वडा कार्यलयमा जानकारी दिनुपर्नेछ ।
मेयर बालेन लेख्छन्, ‘माइक्रोपिचको कारण हराएको कुकुर वा बिरोलालाई मालिकसँग पुनर्मिलन गराउन सकिनेछ । यो सानो चिपले स्थायी पहिचान प्रदान गर्छ र हराएको पाल्तु जनवारलाई सहजै भेट्याउनका लागि सहजीकरण गर्छ ।’
उनका अनुसार माइक्रोचिप लगाउने प्रक्रिया छिटो, सुरक्षित र किफायती छ । ‘८ हप्ताभन्दा माथिका कुकुरमा माइक्रोचिप अनिवार्य लगाउन आग्रह गर्न चाहन्छौं’ बालेन लेख्छन्, ‘साथै कुकुर, बिरालो बेच्न वा अरुलाई दिनुअघि माइक्रोचिप अनिवार्य लगाउन अनुरोध गर्दछौं ।’
माइक्रोचिप लगाउनैपर्छ ?
माइक्रोचिप लगाउनैपर्छ, यसमा दुइमत छैन । किनभने यसले आफूले पालेको कुकुर, बिरालोप्रति जिम्मेवार र जवाफदेही बनाउँछ । कुनै अवस्थामा कुकुर, बिरालो हराउन, छाडिन वा चोरिन सक्छन् । त्यसबेला माइक्रोचिपको सहयोगले कुकुर, बिरालो फेला पार्न सकिन्छ । यो एक सुरक्षात्मक कवच हो ।
यसले के हुन्छ ?
माइक्रोचिप भनेको सानो इलेक्ट्रोनिक चिप हो यो जनावरको छालामुनि इन्जेक्ट राखिन्छ । यसमा जनावरको मालिकको नाम, ठेगाना लगायतका विवरण राखिएको हुन्छ । यसले गर्दा घरपालुवा जनवार हराउने, चोरिने डर नहुने मात्र होइन लखेटिने प्रवृत्ति पनि निरुत्साहित हुन्छ ।
अहिलेको मूख्य आवश्यकता यही नै हो । धेरैले कुकुर, बिरालो पाल्छन् । तर, रोगी र बुढो भएपछि सडकमा ल्याएर छाड्ने गर्छन् । कतिले रहरले मात्र पालेका हुन्छन् र स्यहारसुसार गर्न नसकेर सडकमा छाडिदिन्छन् । यस्तो प्रवृत्ति खासगरी कुकुरको व्यवसाय गर्नेहरूमा हुन्छ ।
कुकुर ब्रिडिङ गराउने र बिक्री गर्नेहरूले त्यसबाट फाइदा लिइसकेपछि कुकुरलाई सडकमा लखेट्ने गरेको पाइन्छन् । माइक्रोचिप अनिवार्य भएपछि उनीहरूले यस्तो कृत्य गर्न पाउँदैनन् ।
केनल क्लब र ब्रिडिङ सेन्टरले पनि लगाउनुपर्छ ?
कुकुरको नश्ल अनुसार त्यसको मूल्य तय हुन्छ । त्यसैले उन्नत नश्लको कुकुर पाल्ने, त्यसबाट बच्चा उत्पादन गराउने र बिक्री गर्ने गरिन्छ । यसरी ब्रिडिङका लागि कुकुर पाल्नेमध्ये धेरैले राम्ररी हेरचाह र स्यहारसुसार गरेको पाइदैन ।
त्यहाँ केवल व्यवसायिक प्रयोजनका लागि मात्र कुकुर पाल्ने र खरिद–बिक्री गर्ने भएकाले ती कुकुरलाई बुढो वा रोगी भएपछि सडकमा लखेट्ने गरेको पाइन्छ । माइक्रोचिप लगाउनैपर्ने व्यवस्थाले यस्तो कृत्य रोक्न सहयोग गर्छ । यद्यपि काठमाडौं महानगरपालिकाले ब्रिडिङ सेन्टर वा केनल क्लबको हकमा के हुन्छ भनी स्पष्ट पारेको छैन ।
काठमाडौं महानगरमा मात्रै ?
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका कुकुर, बिरालो आदिको हकमा यस्तो व्यवस्था गरेको हो । जबकि काठमाडौंबाहेकका शहर, बजार, टोलमा पनि कुकुर चोरिने, लेखेटिने क्रम व्यापक छ ।
यसले गर्दा कतिपय जोखिम पनि बढाएको छ । खासगरी कुकुरले टोक्ने वा दुर्घटना गराउने समस्या पनि धेरै देखिन्छ । यदि माइक्रोचिप लगाउनैपर्ने प्रावधान गरिए यस्ता जोखिम धेरै हदसम्म कम हुन्छ ।
‘केनल क्लब र ब्रिडिङ सेन्टरले पनि माइक्रोचिप राख्नुपर्छ’
डा. अवधेशकुमार झा
प्रमुख, कृषि तथा पशुपंक्षी विभाग, कामनपा
माइक्रोचिप लगाउने व्यवस्थाले हराउने भन्दा पनि सडकमा लगेर छाडिदिने प्रवृत्ति कम हुनसक्छ । त्यसैले काठमाडौंभित्र कुकुर, बिरालो पाल्ने सबैले अनिवार्य रुपमा माइक्रोचिपिङ गर्नैपर्छ । यसो नगरेको अवस्थामा कुकुर, बिरालो पाल्न पाइँदैन । यस्तो व्यवस्था घरमा राखेर पाल्नेहरूले मात्र होइन, केनल क्लब र ब्रिडिङ सेन्टरको लागि पनि गरिनेछ ।
उनीहरूले आफ्ना कुकुरको दर्ता गरेर मात्र राख्न पाउनेछन् भने त्यसलाई माइक्रोचिप लगाउनै पर्नेछ । यदि कसैले यो व्यवस्था उल्लंघन गर्छ वा माइक्रोचिप लगाउँदैन भने उनीहरूमाथि सजाय हुन्छ । कतिपय अवस्थामा कुकुर जफत हुनसक्छ भने, कतिपय अवस्थामा दर्ता प्रक्रिया रद्द गरिनेछ ।
प्रतिक्रिया 4