
मैले पहिलो पटक घनश्याम भूसाललाई ११ वर्षको हुँदा देखेको हुँ । तेजिलो शैलीमा त्रिचन्द्र क्याम्पसमा जुल्फी हल्लाउँदै कम्युनिस्ट आन्दोलन र त्यसमा युवा, विद्यार्थीको भूमिकाबारे उनी बोलिरहेका थिए ।
भर्खरै पञ्चायत ढलेको थियो । र, मुलुकमा राजतन्त्र सहितको बहुदलीय व्यवस्था आफ्नो खुट्टामा टेक्न खोज्दै थियो । नेपाली समाजको आगामी बाटो के हुने भन्नेबारे मानिसहरू भर्खर–भर्खर सार्वजनिक जीवनमा देखापरेका राजनीतिकर्मीलाई उत्सुकतासाथ सुनिरहेका थिए । विचारिरहेका थिए ।
त्यतिबेला भूसाल अनेरास्ववियुको महासचिव थिए भने म नीलकण्ठेश्वर मावि, जुगुको प्रारम्भिक कमिटीमा थिएँ । दाइ रितबहादुर खड्काले मलाई त्यो कार्यक्रममा लिएर जानुभएको थियो । त्यही हप्ता मैले त्यस समयका अर्का प्रखर वक्ता राम कार्कीलाई पनि पहिलो पटक सुनेको हुँ ।
त्यसयता बितेका ३५ वर्षमा नेपालको राजनीतिले अभूतपूर्व उथलपुथल देख्यो । जनविद्रोह, दशौं हजारको बलिदानी, ऐतिहासिक जनआन्दोलन हुँदै मुलुक गणतन्त्रमा प्रवेश गर्यो ।
बितेका ३५ वर्षहरूमा घनश्याम भूसाललाई आम राजनीतिकर्मी वा राजनीतिमा चासो राख्नेले जस्तै मैले पनि कहिले प्रत्यक्ष, कहिले अप्रत्यक्ष, कहिले समाचारबाट त कहिले उहाँहरूको आलेखबाट नियालिरहें, सुम्सुम्याइरहें ।
३५ वर्षपछि उनै घनश्यामले उस्तै पारामा जुल्फी हल्लाउँदै गत मंगलबार माओवादी पार्टीको आलोचना गर्दै भने, ‘अर्को एउटा क्रान्तिकारी हाम्रो सहयात्री पार्टी छ– नेकपा (माओवादी केन्द्र) । माओवादी नाम राखेको छ । के हो माओवाद ? व्याख्या पनि गर्दैन । किन राखेको हो त्यो पनि थाहा छैन । लुकिङ लन्डन, टकिङ टोकियो ।’
गणतन्त्र नेपालको संविधान बनेको एक दशकसम्म आइपुग्दा नयाँ संविधान कार्यान्वयनको जिम्मेवारी मूलतः संविधानका अग्रगामी एजेण्डाहरू धेरै नरुचाउनेहरूको हातमा पुग्यो । सम्झौताको दस्तावेजका रूपमा आएको संविधान आफैंमा अनगिन्ती सीमाहरू सहित आएको थियो । यद्यपि थोरै नै सही, संविधानमा भएका प्रगतिशील प्रबन्धहरूलाई आम जीवनमा अनुवाद गर्ने काम यो अवधिमा हुन सकेन ।
फलस्वरूप जनताको जीवन रूपान्तरणका एजेन्डाले राज्यको नीति–निर्माणमा आफ्नो ठाउँ पाउन सकेनन् । यही कमजोरीमा टेकेर आजका दिनमा लोकप्रियतावादी र प्रतिगामीहरूले टाउको उठाउन खोजेका छन् ।
गत चैत १५ गतेको तिनकुने र भृकुटीमण्डपका दुइटा आमसभाले नै मुलुकभित्रको ध्रुवीकरणको केही प्रस्ट तस्विर दिन्छन् । अहिले चौतर्फी रूपमा अग्रगमनका एजेन्डा र नेताहरूमाथि प्रहार भइरहेका छन् । सत्तामा रहेकाहरू बदलिंदो परिवेशमा आफ्नो अवसरवादी चरित्र देखाइरहेकै छन् ।
यस्तो परिस्थिति बीच कमरेड घनश्यामले माओवादीको वैचारिकीमाथि जुन प्रश्न गरेका छन्, त्यसले उनकै शब्दमा ‘क्रान्तिकारी सहयात्री दल’ को आलोचना मात्रै गर्दैन, बरु त्यसले पश्चगामी शक्तिहरूलाई नै बल पुर्याउँछ ।
यति मात्र होइन, उनले त्यही भाषणमा माओवादीले बोक्ने सिद्धान्तमाथि जसरी प्रश्न गरे त्यसले ‘ह्वेन द ड्रम विट्स फर वन, अदर्स लर्न द डान्स’ (एउटाका लागि खैंजडी बजाउँदा अर्कै रमाउँछ) भन्ने अंग्रेजी उखानलाई सम्झाइदिन्छ ।
समकालीन नेपाली कम्युनिस्ट आन्दोलनमा दोस्रो पुस्ताको आशलाग्दो अनुहारका रूपमा रहेको तपाईंको छवि, भुईंमान्छेको वरपर रहेर हुर्किएको राजनीतिक विरासतका रूपमा हामी हेर्ने गर्छौं । नेपाली कम्युनिस्ट आन्दोलनमा अध्ययन, अनुसन्धानको खडेरी पर्दै गइरहेको सन्दर्भमा मसिनो र गम्भीर रूपमा अध्ययन गर्ने तथा त्यसलाई आममान्छेले बुझ्ने भाषामा भन्न सक्ने तपाईंको क्षमताप्रति हामी लोभिन्छौं ।
उपभोक्तावाद र लोकप्रियतावादले गाँज्न थालेको समकालीन राजनीतिक परिवेशमा हामीले तपाईंबाट सिक्नुपर्ने धेरै कुरा छ । वैचारिक पक्षधरता, अध्ययनशीलता र तपाईंको सादगीपूर्ण जीवनशैलीप्रति हामी माओवादी आजका दिन पनि त्यति नै सम्मान गर्छौं । त्यसमा एक जना माओवादी म पनि हुँ, जो तपाईंबाट प्रभावित छ ।
माओवादीलाई तपाईं आजका दिनमा हजार गाली र प्रश्न गर्न सक्नुहुन्छ । तर, दुइटा विषयमा तपाईं माओवादीलाई आजका दिन पनि प्रश्न गर्न सक्नुहुन्न । त्यो हो– उसको वैचारिक धरातल र वर्गीय पक्षधरता । माओवादी आजका दिनसम्म जति नै कालो पोतिए पनि ऊ अग्रगमनको धरातलमा उभिएको मृगसरी हो, जसको नाभिमा कस्तूरी छ । तर, तपाईंको वैचारिकीले जरा हालेको सिङ्गो एमाले र समाजवादीको नेतृत्व गर्दै गरेको पंक्ति जति नै दूधले नुहाए पनि त्यस्तो मृगसरी होइन, जसले मौकापरस्तको राजनीति ढुकेर बसिरहेको छ ।
विगत हेर्दा हामीलाई पनि कहिले कसो कहाली लाग्छ । ओलीको आलोचना गर्न कत्ति नहिच्किचाउने घनश्याम आफ्नो राजनीतिक सत्ता गुम्ने डरले माधवकुमार नेपाललाई छोडेर ओली कित्तामै बस्न रुचाए । माधवकुमार नेपालले नयाँ पार्टीका रूपमा समाजवादी गठन गर्दैगर्दा उनको हात घनश्यामले समाउनुपर्ने थियो, तर त्यो हात समाउनेमा उनी होइन, रामकुमारी झाँक्री थिइन् ।
त्यति मात्र होइन, निर्वाचनमा ओलीबाट टिकट पाउने आशमा उनी बालकोट धाइरहे । तर, ओलीले संसद्वादी दलहरूलाई राजाले लात हाने जस्तैगरी घनश्यामलाई लात हानेपछि, एमाले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारका रूपमा रूपन्देहीमा उम्मेदवार बने ।
नेपाली राजनीतिमा संसद्वादी दलहरूको हात थाम्ने पनि माओवादी थियो र घनश्यामलाई ओलीले लात हान्दा हात थाम्ने पनि माओवादी नै थियो । समय बित्दैगयो । अवस्था सामान्य बन्दैगयो ।
हेर्दाहेर्दै उनी समाजवादीमा प्रवेश गर्ने दिन आयो । समाजवादीको महासचिव बन्ने दिन आयो । राजनीतिक भाषामा शायद यसैलाई अवसरवाद भनिन्छ । उनै घनश्यामले माओवादीको वैचारिकीमाथि प्रश्न उठाउँदा देशैभरका माओवादीलाई दुख्नु स्वाभाविक हो ।
प्रश्नहरूलाई किमार्थ निषेध गर्न मिल्दैन । यही नै हाम्रो आधारभूत मान्यता हो । तर, आजका दिनमा अग्रगमनको राजनीति जुन सकसमा छ, त्यसमा तपाईंले कसलाई प्रश्न गर्दै हुनुहुन्छ भन्नेले तपाईंको प्रश्नले अन्ततः कसलाई सेवा पुर्याइरहेको हुन्छ भन्ने बुझ्नुपर्ने हुन्छ ।
यसको उदाहरणका लागि हामीहरूले भारतीय मिडियालाई हेरे पुग्छ । उनीहरू सत्ताधारी पार्टी बीजेपी, त्यसको माउ संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र सत्ता सञ्चालक नरेन्द्र मोदीलाई नभएर प्रमुख प्रतिपक्षी दल कंग्रेस र त्यसका नेता राहुल गान्धीलाई प्रश्न गरिरहेका हुन्छन् । यसो भन्दै गर्दा राहुल गान्धीमाथि कुनै पनि प्रश्न गर्न मिल्दैन वा हाम्रो पार्टीमाथि पनि कुनै प्रश्न गर्न मिल्दैन भन्ने पक्कै पनि होइन ।
तर, तपाईंले उठाएको प्रश्नले कसलाई टेवा पुर्याइरहेको हुन्छ त ? किनभने प्रश्न उठाउने व्यक्ति पनि प्रश्नको घेराभन्दा बाहिर हुँदैन । तपाईंले मूलधारका भारतीय मिडियाबाट सिकेर आजको प्रमुख प्रतिपक्षी दल माओवादीमाथि प्रश्न उठाउनुभएको होइन भन्नेमा म ढुक्क छु ।
तर, आमजनता त्यसरी ढुक्क नहुन सक्छन् । किनभने तपाईंले उठाएको प्रश्नलाई सही मान्ने हो भने हामीले भारतीय मूलधारका मिडियाले कंग्रेसमाथि उठाएको प्रश्नलाई पनि जायज भन्नुपर्ने हुन्छ ।
प्रतिगामीहरू सल्बलाएको समयमा हाम्रा सानातिना वैचारिक मतभेद र विमतिलाई चौतारोमा लाउड स्पिकर लगाएर भट्याउने हो भने त्यसले कसको सेवा गर्छ भन्ने तपाईंले बुझ्नुपथ्र्यो । तथापि, यो लेखको आशय तपाईंको प्रतिवाद गर्नु हुँदै होइन । किनभने हामीलाई थाहा छ, तपाईं–हामी एउटै मोर्चाका सहयात्री दल हौं । हामी एउटै कित्ताका शक्ति हौं । हाम्रो गन्तव्य समान छ । र, मतभिन्नताका बावजुद हिंड्नुपर्ने हाम्रो बाटो पनि समान छ ।
ठिक यतिबेला यो देशका वामपन्थी र प्रगतिशील शक्तिहरूलाई एक ठाउँमा उभिन अपिल गरेर तपाईंले पश्चगमन विरुद्धको मोर्चालाई बलियो बनाउनुपर्नेमा माओवादीमाथि हिलो छ्यापेर तपाईंले कतै अर्कै बाटो समाउन खोज्नुभएको त होइन ? संशय गर्नुपर्ने भयो ।
आउनुस्, हामी हाम्रा झिना–मसिना विवाद, व्यक्तिगत अहंलाई छोडेर एकढिक्का भएको वामपन्थी आन्दोलनलाई अघि बढाउन भूमिका खेलौं । किनभने हामीले देख्न चाहेको घनश्याम नेपालका वामपन्थीहरूलाई एक हुन् अपिल गरिरहेको घनश्याम हो न कि वामपन्थीकै कुरा काटिरहेको घनश्याम । तर, तपाईं वामपन्थीहरूकै चुत्थो आलोचनामा आफ्नो ऊर्जा मास्न चाहनुहुन्छ भने हामीले भन्नुपर्ने हुन्छ– गर्नु गर्यौ घनश्याम धेरै बोलेर …।
प्रतिक्रिया 4