
१५ वैशाख, काठमाडौं । पर्सामा इँटा भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका-२ का सन्तोष साहले सञ्चालन गरेको इँटा भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर सोमबार दुई जना बालिकाको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।
‘साहले पर्सागढी नगरपालिका –५ मा हिरा इँटा भट्टा सञ्चालन गरेका रहेछन् । राति पानी परेपछि इँटा भट्टाको खाल्डोमा पानी जमेको रहेछ । त्यहीँ जमेको पानीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको हो,’ पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले अनलाइनखबरसँग भने ।
उनका अनुसार मृत्यु हुनेमा पर्सागढी नगरपालिका-५ का रुस्तम मियाँकी ५ वर्षीया छोरी नेहा र मुख्तार मियाँकी ४ वर्षीया छोरी अफसाना रहेका छन् ।
खाल्डोमा जमेको पानीमा डुबेर घाइते भएका दुवै जनालाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिए पनि चिकित्सकहरूले उनीहरूलाई मृत्यु घोषणा गरेको उनले बताए ।
प्रहरीका अनुसार दुवै जना बालिका बिहान बाख्रा चराउन गएका थिए । खेल्ने क्रममा उनीहरू खाल्डोमा जमेको पानीमा डुबेको हुन सक्ने आशंका प्रहरीको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया 4