
१५ वैशाख, काठमाडौं । नेकपा एमालेकी पूर्व सांसद गंगा चौधरीले मदन भण्डारीको हत्या भएसँगै त्रिशूली नदीमा जनताको बहुदलीय जनवाद (जबज) बगेको टिप्पणी गरेकी छिन् ।
राप्रपा नेपालले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेकी हुन् ।
चौधरीले शिवसेना नेपालको तर्फबाट सो सभालाई सम्बोधन गरेकी थिइन् ।
उनी एमाले परित्याग गरेर शिवसेना नेपाल अभियानमा संलग्न भएकी थिइन् । पछिल्लो समय उनी राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिमा सक्रिय भएकी छिन् ।
सोही क्रममा सोमबार भृकुटिमण्डपमा आयोजना भएको सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘एमाले पार्टीभित्र जब मदन भण्डारीको हत्या भयो, त्यतिखेर त्रिशूली नदीमा जनताको बहुदलीय जनवाद बगिसकेको छ ।’
उनले सम्बोधनको क्रममा प्रहरी परिवारकै भएका कारण माओवादी जनयुद्धको बेलामा आफ्नो ससुराले ज्यान गुमाएको भन्दै उक्त घटना बिर्सन नसक्ने बताइन् ।
‘म भन्न चाहन्छु, म एउटा प्रहरी परिवारकै भएका कारणले मेरो ससुरालाई माओवादीले तीन टुक्रा पारेर मारे । म यो बिर्सन सक्छु,’ उनले भनिन्, ‘के म यो बिर्सन सक्छु ? त्यसकारण अब राजसंस्था पुनरस्थापना नभइ राष्ट्रको भलो हुँदैन । देश जोगिँदैन ।’
देश जोगाउने हो भने सबैले स्वार्थ छाडेर राष्ट्रको झण्डामुनि उभिनुपर्ने उनको तर्क थियो ।
प्रतिक्रिया 4