
५ वैशाख, काठमाडौं । अमेरिकाको सातवटा सहरमा कन्सर्ट गर्न नेपथ्य ब्याण्ड अमेरिका प्रस्थान गरेको छ ।
संगीतमा रमाउने संसारभरिका श्रोता दर्शकहरूलाई नेपालीपनका माध्यमबाट जोड्दै आएको नेपथ्य आगामी महिना अमेरिकाको शृंखलाबद्ध सांगीतिक यात्रामा निस्किएको हो ।
यसअघि नेपथ्यले अष्ट्रेलियाका सातवटा सहरमा कन्सर्टहरू आयोजना गरेको थियो भने त्यसपछि काठमाडौं उपत्यकाको गोकर्णेश्वरमा लोकरक प्रस्तुत गरेको थियो ।
नेपथ्यले अमेरिकामा सातौंपटक आफूलाई उभ्याउन लागेको हो । गत वर्ष पनि ब्याण्डले डेढ महिना लगाएर उक्त मुलुकको पूर्वीदेखि पश्चिमी किनारासम्मका सातवटा सहरमा शृंखलाबद्ध सफल प्रस्तुति दिएको थियो । यसपटक सात नयाँ सहरमा नेपथ्य प्रस्तुत हुने नेपालयका अर्पण शर्माले जानकारी दिए ।
तालिका अनुसार ब्याण्डले आगामी मे १७ तारिख टेक्सास राज्यको राजधानी अस्टिनमा आफूलाई उभ्याउने छ । उक्त सहरस्थित ‘इमोज् अस्टिन’ हलमा शृंखलाबद्ध यात्राकै पहिलो प्रस्तुति हुनेछ । टेक्सासमा सदैव उल्लेख्य दर्शक उपस्थिति पाउँदै आएको नेपथ्यले गत वर्ष यसै राज्यको डालास सहरमा आफूलाई उभ्याएको थियो ।
त्यसपछिको दोस्रो प्रस्तुतिका लागि ब्याण्ड दक्षिणवर्ती राज्य टेक्सासबाट एकैपटक क्यानाडासँग सिमाना जोडिएको उत्तरी किनारा वासिङ्टन राज्य पुग्नेछ । उक्त राज्यको सियाटल सहरमा मे २३ तारिखका दिन नेपथ्य प्रस्तुत हुनेछ । त्यहाँको ‘मुर थिएटर’मा बेलुकी ठीक सात बजे हलका ढोकाहरू खुला गरिने तालिका तय छ । विशाल तालहरू अनि हिउँले ढाकिएका पर्वतहरू देखिने सियाटल अमेरिकाकै सुन्दरतम सहरमध्येमा पर्छ ।
तेस्रो प्रस्तुतिका निम्ति भने ब्याण्ड फेरि थोरै तल ओर्लिएर क्यालिफोर्निया राज्यको सर्वाधिक जनसंख्या ओगटेको सहर लस एन्जलस पुग्नेछ । सिनेमा निर्माणका लागि विश्वमै अग्रणी मानिने हलिउड अटाएको यो सहरमा मे २६ तारिखका दिन यहाँस्थित ‘हाउस अफ ब्लुज’ मा ब्याण्डले लोकरक गीत सुनाउनेछ ।
त्यसपछि ब्याण्ड पेन्सिलभेनिया राज्यतर्फ प्रस्थान गर्नेछ । त्यहाँस्थित पिट्सबर्ग सहरलाई यसपटक नेपथ्यले चयन गरेको छ । गत वर्ष ब्याण्डले यसै राज्यको ह्यारिसबर्गमा आफूलाई उभ्याएको थियो । मे ३१ तारिखका दिन पिट्सबर्गस्थित ‘रक्सिन थिएटर’मा ब्याण्ड प्रस्तुत हुनेछ ।
त्यसपछि भने ब्याण्ड पाँचौँ प्रस्तुतिका लागि फेरि उत्तरतर्फ उक्लेर सिकागो सहर पुग्नेछ । त्यहाँस्थित ‘दी भिक थिएटर’मा जुन ७ तारिखका दिन नेपथ्य कन्सर्ट तोकिएको छ । अमेरिकाकै तेस्रो ठूलो जनसंख्या समेटेको यो सहर ‘सिकागो सिम्फोनी अर्केष्ट्रा’ जस्ता संस्थाहरूको उपस्थितिका बीच कला र संस्कृतिका लागि पनि उत्तिकै प्रसिद्ध छ ।
सिकागोमा नेपथ्यका गीतहरू सुनाएपछि ब्याण्ड म्यासाचुसेट्स राज्यको राजधानी बोस्टन सहरतर्फ लाग्नेछ । सन् १६३५ मा अमेरिकाकै पहिलो स्कुल ‘बोस्टन ल्याटिन स्कुल’ स्थापनाको श्रेय पाएको यो सहर यतिबेला उच्च शिक्षाका लागि विश्वकै केन्द्र मानिन्छ ।
हार्वर्ड र एमआइटी जस्ता विश्वकै अग्रणी शिक्षालयहरू यसै सहरका देन हुन् । यस सहरको ‘रोयल बोस्टन’ हलमा नेपथ्य जुन ११ तारिखका दिन प्रस्तुत हुनेछ । यसरी अमेरिकाका फरक फरक भेगका बेग्लाबेग्लै विशेषता बोकेको सहरमा उपस्थित भइसकेपछि अन्तिममा नेपथ्य नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहर पुग्नेछ ।
नेपथ्य पहिलोपटक प्रस्तुत हुन लागेको यो सहरमा वर्षेनि ‘नर्थ क्यारोलाइना फोक फेस्टिभल’ पनि आयोजना हुँदै आएको छ । यहाँको ‘पिडमोन्ट हल’मा जुन १४ तारिखको साँझ ब्याण्डले यो वर्षको शृंखलाबद्ध अमेरिका यात्राकै अन्तिम प्रस्तुति दिनेछ ।
नेपथ्यले सन् २००४ मा एरिजोना राज्यको फिनिक्स र राजधानी वासिङ्टन डिसीमा आफूलाई प्रस्तुत गर्ने उद्देश्यका साथ पहिलोपटक अमेरिका यात्रा गरेको थियो । त्यसपछिका वर्षहरुमा ब्याण्डले न्यूयोर्क, सानफ्रान्सिस्को, लस एन्जलस, एटलान्टा, डालास र बोस्टनमा सांगीतिक प्रस्तुति दिइसकेको छ ।
यसपाला अमेरिका यात्राको संयोजन ‘मोमो इन्टरटेनमेन्ट’ र ‘के गरिरा’ ले संयुक्त रुपमा सम्हाल्ने भएको छ ।
शर्माका अनुसार नेपथ्यसँगै ब्यान्डको व्यवस्थापन र प्राविधिक टोली पनि अमेरिका प्रस्थान गर्दै छ । मञ्चमा भने मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन् ।
प्रतिक्रिया 4