
काठमाडौं । अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरी समसामयिक मुद्दामा विचार राखिरहेका हुन्छन् । यसबेला भने उनको टिप्पणी कलाकारतर्फ लक्षित छ ।
सोमबार फेसबुकमा स्टाटस लेख्दै गिरीले समाज विस्तारै असहिष्णु बन्दै गएको बताएका छन् । आफ्नो फिल्म ‘छक्कापञ्जा ५’ रिलिजको बेला कतिपयले बहिष्कार नारा गुञ्जाएको स्मरण गर्दै उनले प्रकाश सपुत र सुरक्षा पन्तसम्मको सन्दर्भ उल्लेख गरेका छन् ।
‘वसन्त’ रिलिजको बेला निर्माता तथा निर्देशक सपुतले फिल्मको प्रचारको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका थिए । ‘खेल’ रिलिजको बेला अभिनेत्री पन्तले एक युट्युब अन्तर्वार्तामा पूर्वयुवराज पारसका छोरा हृदयेन्द्रले फिल्म खेल्न उचित हुने धारणा राखेकी थिइन् ।
यी दुई कलाकारका यी अभिव्यक्तिको विरोध र समर्थनमा यतिबेला सामाजिक संजाल तातेको छ । तर, फिल्मको कारणले अहिलेको चर्चा भैरहेको होइन । राजनीतिक टिप्पणीको कारण अहिले चर्चा भैरहेको हो । यो सन्दर्भमा गिरीको टिप्पणी आएको छ ।
गिरी लेख्छन्, ‘दशैंमा हाम्रो फिल्म चल्दा सामाजिक संजालमा यसको फिलिम नहेरौ भन्दै बहिष्कारको नारा गुन्जिएको सम्झन्छू ! बहिष्कारको बहाना फरक फरक भएपनि त्यो नारा बिस्तारै प्रकाश सपूत हुँदै सूरक्षा पन्त सम्म आइपुग्यो ! कसैले कसैको तारिफ गरे बहिष्कार, कसैले तारिफ गरेन…बहिष्कार ! बहिष्कारै बहिष्कार!! हामी कलाकार त बहाना मात्रै हौ ! बास्तवमा अहिले राजाबादीले गणतन्त्रबादी बहिष्कार ! गणतन्त्रबादीले राजाबादी बहिष्कार, यो बिचार राख्नेले त्यो बिचार राख्नेलाइ बहिष्कार ! यो समूहले त्यो समूह बहिष्कार, एकले अर्काको अस्तित्व नै बहिष्कार ! बहिष्कार त हाम्रो परम्परा नै बन्दै गइरहेको छ !! बिस्तारै बिस्तारै असहिष्णुतातिर बढ्दै छ कि हाम्रो समाज ?’
प्रतिक्रिया 4