+
+
Shares

बलिउडकी ती सुपरस्टार, जो असफल प्रेमले विक्षिप्त भएर संसार त्यागिन्

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते ७:११

७० को दशकमै परवीन बाबीले सिनेमाको पर्दामा त्यो सबैकुरा गर्दै थिइन्, जुन समाजमा महिलाहरूको रुढीवादी छविलाई तोड्ने खालको थियो ।

अवस्था आज पनि बद्लिएको छैन । महिलाहरूले आफ्नो इच्छा पूरा गर्न र अत्मनिर्भर बन्नका लागि संघर्ष गरिरहेकै छन् । समाज र परिवारको परिबन्धबाट उम्किएर स्वच्छन्द ढंगले जीवन यापन गर्नु उनीहरूका लागि चुनौती छ ।

सिनेमाको पर्दामा सही, परवीन बाबीले महिलाको त्यस्तो छवि निर्माण गरिन् जो एक्लै काम गर्न सक्ने र अत्यन्त आत्मविश्वासले भरिपूर्ण छिन् । जस्तो ‘दीवार’ फिल्मको दृश्यको कुरा गरौं । अमिताभ बच्चन बियर बारमा एक्लै बसेका हुन्छन् । उनलाई एक्लै देखेर परवीन बाबी त्यहाँ पुग्छिन् । र, कुनै परिचय नगरी कुराकानी सुरु गर्छिन् ।

उनका फिल्ममा यस्तै दृश्य भरमार छन् । परवीन यस्तो भूमिकामामा देखिन्थिन्, जो कामकाजी छिन्, आत्मनिर्भर छिन् र विवाहअघि आफ्नो पुरुष मित्रसँग शारीरिक सम्बन्ध राख्न पनि हिचकिचाउँदिनन् ।

यस्तो गरिरहँदा पनि उनलाई कतै कुनै दाग लागेन । त्यसो त न उनलाई दागको चिन्ता थियो, न त समाजको ।

भूमिका सानो होस् वा ठूलो, उनी त्यसमा आफ्नो प्रभावशाली छाप छाड्न सफल थिइन् । त्यसैले त सक्रिय फिल्मी करियरको तीन दशक लामो अन्तरालपछि पनि उनको भूमिकाहरू मान्छेको स्मरणमा ताजा रह्यो ।

४ अप्रिल, १९४९ मा सौराष्ट्रको जुनागढमा मध्यमवर्गीय मुस्लिम परिवारमा जन्मेकी परवीन बाबीले अहमदाबादको सेन्ट जेभियर्स कलेजबाट अंग्रेजी साहित्यमा बीए गरेकी थिइन् र मोडलिङमा करियर खोजिरहेकी थिइन् ।

यता बीआर इशारा नयाँ अभिनेत्रीको खोजीमा थिए । एकदिन उनको नजर परवीन बाबीमाथि पर्‍यो, जो त्यतिबेला चुरोटको सर्को तानिरहेकी थिइन् । इशाराले तुरुन्तै निर्णय गरे कि उनको अभिनेत्री भेटिइन् ।

टाइम म्यागजिनको कभर गर्ल

परवीन बाबीलाई पहिलो सफलता १९७४ मा अमिताभ बच्चनसँग फिल्म मजबूरमा प्राप्त भयो । त्यसपछि रिसे युवक (एंग्री यंग म्यान) सँग परवीन बाबीले दीवार, अमर अकबर एन्थनी, शान र कालिया जस्ता धेरै सफल फिल्महरू गरिन् । १९७६ मा परवीन बाबी यति धेरै सफल भइसकेकी थिइन् कि, त्यस वर्ष प्रतिष्ठित पत्रिका टाइमले उनलाई आफ्नो कभरमा छाप्यो ।

टाइमको कभरमा स्थान पाउने पहिलो बलिउड कलाकार परवीन बाबी थिइन् ।अर्को महत्वपूर्ण कुरा त के पनि भने, परवीन बाबीको भूमिकाहरू त्यस्ता फिल्महरूमा सानो हुन्थ्यो जसमा नायकलाई केन्द्रमा राखिएको छ । जबकि उनको अनुहार र भावभंगीको जादू यस्तो थियो कि साना भूमिकाहरू पनि उनलाई चर्चामा ल्याउन पर्याप्त भए ।

उनले सिनेमामा पाइला राख्दै गर्दा राम्रा केटीहरूले सलवार सुट र साडी लगाउने चलन थियो । त्यहीबेला पश्चिमी शैलीमा हुर्केकी परवीन बाबीलाई फिल्म निर्देशक बीआर इशाराले पहिलो पटक १९७३ मा क्रिकेटर सलीम दुर्रानीसँग फिल्म ‘चरित्र’ मा अवसर दिए । फिल्म त फ्लप भयो, तर परवीन बाबीको जादू चल्न थाल्यो ।

फिल्मी करियर र व्यक्तिगत जीवनको बक्ररेखा

फिल्मी करियरमा जति सफलता उनले पाइन्, त्यति सफलता उनको व्यक्तिगत जीवनमा प्राप्त भएन । फिल्मी करियर उत्कर्षमा रहँदा उनको प्रेम डेनीसँग भयो । तर यो प्रेम धेरै अगाडि बढेन । डेनीले फिल्मफेयरलाई दिएको एक अन्तर्वार्तामा बताएका थिए कि, परवीन बाबी र उनको प्रेम सम्बन्ध तीन–चार वर्षको थियो । त्यसपछि दुवैको बाटो अलग भयो ।

डेनीपछि परवीन बाबीको प्रेम कबीर बेदीसँग भयो । दुवैले १९७६ मा बुलेट फिल्ममा सँगै काम गरे र करिब तीन वर्षसम्म दुवै एक-अर्काको प्रेममा डुबे । कबीर बेदीको प्रेमको खातिर परवीन बाबीले आफ्नो चम्किलो करियर पनि छोडिन् । त्यस समयमा कबीर बेदीलाई एक इटालियन टिभी सिरियलमा मुख्य भूमिका प्राप्त भएको थियो र परवीन बाबी उनको साथमा युरोप सरेर गइन् ।

तर दुवैको बीचमा सबै कुरा ठीक भएन, त्यसैले परवीन बाबी बलिउड फर्किइन् । जब उनी फर्किइन्, तब पनि उद्योगले उनलाई हार्दिकतासाथ स्वागत गर्‍यो ।

यही फिर्तीको समयमा प्रीतीश नन्दीको सुझावमा परवीन बाबीले द इलस्ट्रेटेड वीकली अफ इन्डियामा आफ्नो एक संस्मरण लेखिन्, ‘मेरो करियर यो भन्दा राम्रो कहिल्यै भएको थिएन । म नम्बर एकको दौडमा छु । मुम्बईमा यस्तो कुनै फिल्म बनिरहेको छैन, जसमा परवीन बाबी नहोस् । मानिसहरू मेरो यो सफल फिर्तीबाट चकित छन् । धेरैले यो मेरो भाग्य बताउँछन्, तर म तपाईंलाई भन्न चाहन्छु कि यहाँ भाग्यको कुनै कुरा छैन, यो पसिना र आँसु हो, जुन टुटेको मन र कठिन मेहनतसँग आएको हो । यद्यपि यो समयमा मैले यो बुझें कि शो बिजनेसमा रहनको आफ्नै संघर्ष छ, यसका आफ्नै दबाब र चुनौतीहरू छन् । म यसमा यति धेरै डुबिसकेकी छु कि अब मलाई यो सहनै पर्छ ।’

दुःखान्त प्रेम, मानसिक रोग र बलिउडसँगको बिछोड

कबीर बेदीसँगको ब्रेकअपलाई आफ्नो जीवनको टर्निङ प्वाइन्ट बताउने परवीन बाबी त्यसपछि महेश भट्टको प्रेममा परिन् । दुवैको प्रेम १९७७ को अन्त्यमा सुरु भएको थियो, त्यतिबेला महेश भट्ट पनि कबीर बेदी जस्तै विवाहित थिए । तर उनले आफ्नी पत्नी र छोरी पूजा भट्टलाई छोडेर परवीन बाबीसँग बस्न थाले ।

यो त्यो समय थियो जब परवीन शीर्ष स्टार थिइन् र महेश भट्ट एक असफल फिल्म निर्माता । परवीन बाबीसँगको सम्बन्धमा आधारित भएर नै महेश भट्टले अर्थ फिल्म बनाए । यो फिल्मबाट जहाँ महेश भट्टको करियर उभियो, त्यहाँ परवीन बाबी यस्तो अवस्थामा पुगिन् जहाँ उनको मानसिक सन्तुलन डगमगाउन थाल्यो ।

महेश भट्टसँगको प्रेमको समयमा नै परवीन बाबीलाई मानसिक रोग सुरु भयो, जसलाई महेश भट्टले आफ्ना धेरै अन्तर्वार्ताहरूमा प्यारानोइड स्किजोफ्रेनिया भनेका छन् ।

यद्यपि परवीन बाबीले आफूलाई कहिल्यै यो रोगको चपेटमा परेको बताइनन् । उनले के कुरा मात्र स्वीकार गरिन् कि अनुवांशिक मानसिक रोगले उनलाई समातेको थियो ।

महेश भट्टकै कारण परवीन बाबी आध्यात्मिक गुरु यूजी कृष्णमूर्तिको सम्पर्कमा आइन् र उनकै सुझावमा १९८३ मा परवीन बाबीले बलिउड छोडिन् । केही समय उनी बैंगलोरमा बसिन्, त्यसपछि अमेरिका गइन्।

यो त्यही समय थियो जब परवीन बाबी आफ्नो करियरलाई गम्भीरतापूर्वक लिइरहेकी थिइन् र अमिताभ बच्चनको छाँयाबाट बाहिर निस्केर केही फरक गर्ने प्रयास पनि गरिरहेकी थिइन् ।

यसको झलक जितेंद्रसँगको उनको फिल्म अर्पणमा पनि देखियो, जसमा पश्चिमी शैलीभन्दा फरक साडीमा सजिएकी परवीन देखिइन् । त्यति मात्र होइन, ऋषिकेश मुखर्जीको फिल्म रंग बिरंगी र इस्माइल श्रॉफको दिल आखिर दिल है जस्ता फिल्महरूमा उनले काम गर्न थालेकी थिइन् । तर यी सबैमा अचानक ब्रेक लाग्यो ।

अमेरिकामा पनि उनको मानसिक रोगको प्रभावशाली उपचार भएन । आफ्नो रोगको समयमा उनले अमिताभ बच्चनसहित विश्वका नामी व्यक्तिहरूबाट आफ्नो ज्यानलाई खतरा भएको बताइन् । सन् १९८९ मा परवीन बाबी भारत फर्किइन् र २००५ सम्म मुम्बईमा बसिन् । यद्यपि बलिउडको चमक धमकबाट टाढा ।

अमिताभसँग दुश्मनी

डेनीले फिल्मफेयर म्यागजिनमा भनेका थिए, ‘एक अन्तर्वार्तामा अमित जीले भनेका थिए कि म उनको राम्रो साथी हुँ । परवीनले त्यो अन्तर्वार्ता पढिन्, त्यसपछि जब म एक दिन उनको घर पुगें, उनले घरको ढोका पनि खोलिनन् ।’

अमिताभ बच्चनप्रति उनको शंका अन्तिम समयसम्म रह्यो । उनको मृत्युको एक वर्षअघि शेखर सुमनलाई दिएको एक टिभी अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘मर्लिन ब्रान्डो, एल्विस प्रिस्ले, लरेन्स ओलिभर र माइकल ज्याक्सन हुँदाहुँदै अमिताभ बच्चनलाई शताब्दीको स्टार चुनिएको छ, यो भन्दा ठूलो मजाक अरू के हुन सक्छ ।’

त्यही अन्तर्वार्तामा उनले अमिताभलाई भारतको दशौं सुन्दर पुरुष चुनिएको कुरालाई पनि मजाक भन्दै देवानंद, फिरोज खान, शम्मी कपूर, शशि कपूर, यहाँसम्म कि राजकपूर वा ऋषि कपूर धेरै सुन्दर थिए भनेकी थिइन् ।

त्यति मात्र होइन, शशि कपूरका छोरा करण कपूर र संजय गान्धीलाई पनि परवीन बाबीले अमिताभभन्दा धेरै सुन्दर भनेकी थिइन् ।

यद्यपि अमिताभले कहिल्यै परवीन बाबीलाई लिएर सार्वजनिक रूपमा केही टिप्पणी गरेनन् ।

२००५ मा परवीन बाबीको निधनपछि अमिताभले यसो भनेका थिए, ‘परवीन आफ्नै शर्तमा बाँच्ने कलाकार थिइन्, जसको हिन्दी सिनेमामा गहिरो प्रभाव रहनेछ ।’

जे भएपनि मानसिक रोग र सनकको हदसम्म आफ्नै शर्तमा बाँच्ने स्वभावका बावजुद परवीन बाबी आफ्नो जीवनको अन्तिम दिनसम्म आत्मनिर्भर रहिन्, कसैको आडभरोसमा बाँचिनन् ।

तर यो पनि सत्य हो कि जसको घरअगाडि निर्माताहरूको लाइन लाग्थ्यो, त्यही परवीन बाबीलाई अन्तिम दिनहरूमा सबैले बिर्सिए ।

लगभग एक दशक लामो स्टारडम र करिब ५० फिल्महरूले उनको जीवनको खालीपनलाई भर्न सकेनन्, यही एक्लोपनले उनलाई अन्तिम समयसम्म सताइरह्यो ।

वास्तवमा परवीन बाबीको कथा, सानो शहरबाट आएर बलिउडमा छाउने त्यस युवतीको कथा हो, जसले पूर्ण संसार प्राप्त गर्न सकिनन् ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?