
१५ वैशाख, काठमाडौं । राप्रपा नेपालले सोमबार रत्नपार्कस्थित शान्ति बाटिकामा सभा आयोजना गर्यो । सभा कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको भए पनि मुख्य केन्द्रमा थिए, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ।
‘आस्थाका बन्दीहरूलाई तत्काल रिहा गर, धर्म निरपेक्षता र गणतन्त्रको विरोधमा बन्देज लगाउने कानुन बनाउन पाईँदैन’ जस्ता नारा लेखिएका ब्यानर टाँगिएको सभामा राजसंस्था पक्षधर विभिन्न समूहको उपस्थिति थियो ।
दुर्गा प्रसाईं नेतृत्वको महाअभियानका सतिश खरेल, नेपाली कांग्रेस बीपीका महामन्त्री देवेन्द्र पौडेल, पूर्वपञ्च केशरबहादुर बिष्ट, राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, शिव सेना नेपालकी उपाध्यक्ष गंगा चौधरीसम्मले सभामा मन्तव्य राखेका थिए ।
त्यतिन्जेलसम्म सभाको मुख्य पात्र मानिएका राजेन्द्र लिङ्देनको उपस्थिति थिएन । अबेरसम्म लिङ्देन उपस्थित नभएपछि समर्थक, शुभेच्छुक तथा नेताहरू सशंकित भएका थिए ।
उपस्थित हुने भनिएको समयमा लिङ्देन पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन बुझाउने कार्यक्रममा संसदको लेखा समितिमा थिए । प्रतिवेदन बुझाउने कार्यक्रममा लिङ्देन रहेको जानकारी हुनु र यसअघिको लिङ्देन/थापाको तिक्तताका कारण समेत उनी सहभागी हुनेमा आशंका थियो ।
तर, जब केशरबहादुर विष्टले आफ्नो मन्तव्य टुंग्याउँदै थिए, त्यहीमा बेला कार्यक्रममा उपस्थित भए लिङ्देन । उनको उपस्थित कति महत्वपूर्ण र अर्थपूर्ण थियो भन्ने कुरा सहभागीहरूको हुटिङले नै देखाउँथ्यो । उपस्थित समुदायले उनलाई तालीका साथ स्वागत गरेका थिए ।
सभास्थलमा पुग्ने बित्तिकै लिङ्देनले छोटो भाषण गरे । कार्यक्रम आयोजना गरेर बोलाएकोमा उनले थापालाई धन्यवाद दिए । लिङ्देनले सबै देशभक्त र राष्ट्रवादी समूह एकजुट हुनुको विकल्प नभएको बताए । साथै, उनले पूर्वाग्रह त्यागेर देशलाई निकास दिन अपिल समेत गरे । उनको यो अभिव्यक्तिले राजावादीहरूलाई निकै उत्साहित बनाएको थियो ।
लिङ्देनले भाषण गर्दा कमल थापा भने दर्शकदीर्घाको पहिलो लहरको कुर्सीमा बसेर नियालिरहेका थिए । पूर्वाग्रह छाडेर एक ठाउँमा आउनुको विकल्प नरहेको लिङ्देनले बताउनु निकै अर्थपूर्ण थियो ।
थापा र लिङ्देन पहिले एउटै पार्टीमा थिए । थापालाई हराउँदै राप्रपा अध्यक्षमा लिङ्देन निर्वाचित भएपछि थापाले नयाँ पार्टी खोलेका थिए । ‘राजसंस्था बोकेर हिँडेको पुरस्कार पाइयो, राजाको भलो होस्’ भन्दै थापा बाहिरिएका थिए ।
अहिले उनै थापाले सभा आयोजना गर्नु, त्यसमा लिङ्देन उपस्थित हुनु र पूर्वाग्रह छाडेर एक ठाउँमा आउने भाषण गर्नुले राजावादीमा यो सभाले उल्लास ल्याएको छ ।
छोटो भाषण गरेर मञ्चबाट ओर्लिएका लिङ्देनलाई थापाले स्वागत गरे । लगत्तै मञ्चमै चढेर थापाले सभालाई अन्तिम सम्बोधन गरे । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्थापनाको माहोल बनिरहेको भन्दै एकढिक्का हुन नेताहरूलाई आह्वान गरे ।
यो अवस्थामा व्यक्तिगत स्वार्थ र कुण्ठा बोकेर चुप बसेमा आफूहरुको विचार र हाम्रो मान्यताको अस्तित्व नै समाप्त हुनसक्ने थापाले बताए । ‘हामी त कति दिन राजनीतिमा सक्रिय हौंला र । तर भोलिको पिँढीले हामीलाई के प्रश्न गर्ला ? त्यसैले एकातिर अत्यन्तै अनुकूल वातावरण र अर्कोतर्फ हाम्रो विचार र मान्यतालाई समाप्त गर्ने षडयन्त्र भइरहेको बेलामा पनि यदि हामी एक ठाउँमा उभिन सक्दैनौं भने इतिहासले सराप्ने छ । त्यसैले हामी एक ढिक्का भएर अगाडि बढौं,’ थापाले भने ।
राजावादी, हिन्दुवादी एक ठाउँमा उभिएको बताउँदै यो सहकार्यलाई निरन्तरता दिने बताए । अनि थापाले थपे, ‘मैले तपाईहरुको भावना बुझेको छु, देशभरिका राष्ट्रवादीको चाहना एकता हो । हामी पनि त्यही चाहिरहेका छौं ।’
थापाले मञ्चबाट यसो भनिरहँदा सभा उल्लासमय बनेको थियो । यसपछि थापाले लिङ्देनलाई प्रिय भाइ भन्दै सम्बोधन गरे, ‘सार्वजनिक रूपमा भन्दा कुनै आपत्ति हुँदैन । हामी एक ढिक्का भएर अगाडि बढ्ने संकल्प गरौं । केही हप्ता, केही महिनामै हामीले हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्न सक्छौं ।’
यसका लागि राप्रपा अध्यक्ष लिङ्देनले नै मुख्य भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । यसअघिको तिक्ततापूर्ण सम्बन्धबारे पनि खुलेर थापाले भने ‘राजनीतिमा अरोह घटनाक्रम र केही घटना दुर्घटनाहरू भए होलान् । तर अहिलेको घडीले उहाँको सक्रिय सहभागिता र नेतृत्वको आवश्यकता महसुस गरिराखेको छ ।’
यसअघि लिङ्देनलाई अस्वीकार गरेर पार्टी छाडेका थापाले अहिले भने लिङ्देनको सक्रियताको प्रशंसामात्रै गरेनन्, उनकै नेतृत्वमा एकताबद्ध हुने आशय पनि व्यक्त गरे ।
आफ्नो मन्तव्य सकिएपछि थापाले लिङ्देनलाई मञ्चमै बोलाए । हात उठाएर एकताबद्ध हुने संकेत दिए । राष्ट्रिय झण्डा लिङ्देनको हातमा थमाउँदै मञ्चबाट एकताबद्ध हुने संकेत थापाले दिए ।
लिङ्देन र थापा मात्रै होइन, अन्य राजावादी शक्ति समेत एकै ठाउँमा उभिएर एउटै मञ्चमा भाषण गरेपछि राजावादीलाई उत्साहित बनाएको छ । उनीहरुले दुवै पक्षबाट राजावादी आन्दोलनलाई समेत बल पुग्नेगरी एकताको सन्देश नै जारी गरे ।
दुवै नेताले एकढिक्का भएर अघि बढ्नुपर्ने तर्क अघि सारे । दुवैलाई सभालाई सम्बोधन गर्दै एक हुनुको विकल्प अब नभएको पनि बताए । सभामा राप्रपाका नेताहरू धवलशमशेर राणा, महामन्त्री कुन्ती शाही लगायत पनि थिए ।
प्रतिक्रिया 4