
१५ वैशाख, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कस्मेटिक, फुड सप्लिमेन्ट तथा न्युट्रास्युटिकल आयात र उत्पादनकर्तालाई विवरण सहित एक साताभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
विभागले सूचना जारी गर्दै कस्मेटिक, फुड सप्लिमेन्ट तथा न्युट्रास्युटिकल वस्तुहरूमा अनुचित व्यापारिक क्रियाकलाप गरिरहेको भन्ने गुनासो आएकाले सम्पूर्ण कागजात सहित उपस्थित हुन निर्देशन दिएको हो ।
‘विभागमा प्राप्त उजुरी र गुनासोमा कस्मेटिक, फुड सप्लिमेन्ट तथा न्युट्रास्युटिकल वस्तुहरू कसैले अनुचित व्यापारिक व्यवसायजन्य क्रियाकलाप गरिरहेको, बजारमा एकाधिकार कायम गरी अन्य कुनै तरिकाबाट वस्तु सेवाको मूल्य, कमसल वस्तु पैठारी वा बिक्री वितरण भइरहेको भन्ने गुनासो प्राप्त भएको हुँदा कम्पनी र उद्योगलाई सम्पूर्ण विवरण सहित ७ दिनभित्र उपस्थित हुन सूचित गरिन्छ,’ विभागद्वारा जारी सूचनामा उल्लेख छ ।
व्यवसाय दर्ता, पान र भ्याट कर चुक्ता प्रमाणपत्र, एक्जिम सर्टिफिकेट, उत्पादक कम्पनीको दर्ता र वस्तु उत्पादन इजाजत, प्रज्ञापन, वस्तुको एनालाइसिस रिपोर्ट, ट्रेडमार्क, उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ बमोजिमको लेबल नमुना समेत लिई विभागमा उपस्थित हुन व्यवसायीलाई निर्देशन दिइएको छ ।
प्रतिक्रिया 4