
१५ वैशाख, काठमाडौं । बजारमा भाउ घटेको ‘हल्ला’ गराएका उद्योगीले उपभोक्ता छक्याउँदै फेरि सिमेन्ट र डन्डीको भाउ बढाएका छन् ।
उद्योगीहरूले १५ चैत २०८१ मा सिमेन्टको भाउ प्रतिबोरा २० रुपैयाँ र डन्डी किलोको ८ देखि १० रुपैयाँ घटाइएको बताएका थिए ।
तर, अहिले फेरि उद्योगमा १२ घण्टा ‘लोडसेडिङ’ रहेको र उत्पादन गर्न नपाएको भन्दै उनीहरूले बढी मूल्यमा सिमेन्ट र डन्डी बिक्री गरिरहेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले उद्योगीले सिमेन्ट र डन्डीको मूल्य मिलेमतोमै बढाएर बेचेको दाबी गरेका छन् ।
उनका अनुसार उद्योगीहरूले सिमेन्ट र डन्डी उत्पादन कटौती गरेर मूल्य बढाएका हुन् । उत्पादन बढाएर लागत घटाउनु पर्नेमा उत्पादन नै घटाएर मूल्य बढाउँदै लगिरहेको उनी बताउँछन् ।
‘२५ सय टन उत्पादन क्षमता भएका डन्डी उद्योगले अहिले ३ सय टन मात्रै उत्पादन गरिरहेका छन्,’ अध्यक्ष सिंहले अनलाइनखबरसँग भने, ‘उद्योगीले हामीलाई लाइनमा राखेर मूल्य बढाउँदै बेच्दै गर्नुभएको छ ।’
उद्योगीले सिमेन्ट र डन्डीमा ‘कार्टेलिङ’ गरी बजारमा भाउ बढाएको सिंह बताउँछन् । ‘अहिले डन्डीको मूल्य प्रतिकिलो ८८ रुपैयाँबाट ९४ रुपैयाँ पुगेको छ । पहिला ७ सय ५० रुपैयाँ रहेको ओपीसी सिमेन्टको मूल्य बढाएर ७ सय ७१ रुपैयाँसम्म पुर्याएका छन्,’ सिंहले भने, ‘अहिले हामीले २–३ दिन लाइनमा उभिएर सिमेन्ट किन्नुपर्ने अवस्था छ ।’
उद्योगीहरूले लोडसेडिङ भएका कारण उत्पादन गर्न नपाएको दाबी गरेका छन् । अध्यक्ष सिंह यदि उद्योगीले लोडसेडिङकै कारण उत्पादन गर्न नसकेको भए उत्पादन क्षमता कति हो र अहिले उत्पादन कति भइरहेको छ भन्ने स्पष्ट तथ्यांक सार्वजनिक गर्न माग गर्छन् ।
‘उहाँहरूको कुल उत्पादन क्षमता कति हो र लोडसेडिङले कति उत्पादन घट्यो, कति बिक्री भएको छ र कति मूल्यमा बेचिएको छ स्पष्ट पार्नुपर्यो,’ उनको प्रश्न छ, ‘२५ सय टन उतपादन गर्ने क्षमता भएका उद्योगको १२ घण्टा लोडसेडिङ नै भए १२ सय टन त उत्पादन हुन्छ होला नि ?’
अध्यक्ष सिंहका अनुसार अहिले भारतमा नेपाली सिमेन्ट प्रतिबोरा ५ सय रुपैयाँमा पाइन्छ । तर, नेपाली उपभोक्तालाई ७ सय ७१ रुपैयाँमा किन बेचियो भन्ने उनको प्रश्न छ ।
बीचमा घटेको भाउ अहिले बढेको हो : उद्योगी
नेपाल फलामे छड उत्पादक संघ उपाध्यक्ष हरि न्यौपाने बीचमा घटेको डन्डीको भाउ अहिले फेरि बढेको स्वीकार्छन् ।
‘अहिले उद्योगमा बत्ती छैन, पावर सबै बन्द गरिएको छ,’ उपाध्यक्ष न्यौपानेले भने, ‘केही दिनअघि ५–६ घण्टा मात्रै लोडसेडिङ भएकोमा अहिले पुरानै अवस्थामा फर्किएको छ, डन्डीमा त्यति धेरै मूल्य बढेको छैन । ३–४ रुपैयाँ बढेको हो ।’
अम्बे स्टिलका सञ्चालक समेत रहेका न्यौपाने सरकारले लोडसेडिङ भनेर घोषणा नगरेको तर उद्योगमा १२ घण्टा लोडसेडिङ भएकाले पूर्ण क्षमतामा उत्पादन गर्न नसकिएको बताउँछन् ।
‘विद्युत् प्राधिकरणले भारतबाट पूर्ण क्षमतामा विद्युत् आयात नभएको हुँदा उद्योगमा बत्ती दिन नसकिएको र १०–१५ दिनमा यो समस्या समाधान हुन्छ भनेको छ,’ उनले भने, ‘उद्योगले बत्ती पाउनासाथ उत्पादन गरिहाल्छन् ।’
उद्योगमा बत्ती कटौतीको समस्या १५–२० दिनमा पनि समाधान भएन भने उचित निर्णय दिने उनको भनाइ छ ।
‘अहिले बत्ती नहुँदा पनि समस्या भयो भनेर भनिरहेकै छौं,’ उनी भन्छन्, ‘समस्या समाधान हुने छाँट देखिएन भने सम्बन्धित निकायलाई थप दबाब दिन्छौं ।’
लोडसेडिङ भनेर उपभोक्ता ठग्न पाइँदैन : वाणिज्य विभाग
यसअघि उद्योगीले कार्टेलिङ गरेर बढाएको निर्माण सामग्रीको मूल्य वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छलफल गरेर घटाउन लगाएको थियो ।
उद्योगीले १५ चैत २०८१ मा सिमेन्ट र डन्डीको मूल्य घटाएको बताएका थिए । तर, अहिले फेरि एक महिना बित्न नपाउँदै सिमेन्टमा २१ रुपैयाँ र डन्डीमा ६ रुपैयाँसम्म भाउ बढाएका हुन् ।
१ वैशाखदेखि लागु हुने गरी विभागले सिमेन्ट र डन्डीका हकमा पहिलो ‘फ्याक्ट्री गेट प्राइस (एफजीपी) अर्थात् कारखाना मूल्य तथा दोस्रो ढुवानी र अन्य खर्च जोडेर डिलरहरूले तय गर्ने अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गरेको छ ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहाल अहिले सिमेन्ट र डन्डी उद्योगीले एफपीजी र एमआरपी लेबल लगाएको विवरण विभागलाई उपलब्ध गराएको बताउँछन् ।
उनका अनुसार विभागलाई पनि मूल्यवृद्धि भएको जानकारी आएको छ ।
‘विभागलाई उपलब्ध गराएको प्राइस हेरेर कहाँ कति मूल्य बढ्यो भनेर मैले अनुसन्धान गरिरहेको छु,’ महानिर्देशक दाहालले अनलाइनखबरसँग भने, ‘अहिले उपलब्ध भएको र बढेको भनेको मूल्य मैले तुलना गर्छु । यदि मूल्य बढाएर बेचेको प्रमाणित भए तत्काल कारबाही हुन्छ ।’
एफपीजी लगाइसकेपछि पनि सोही मूल्य भित्रै उद्योगीले मूल्य बढाउँछन् भने उनीहरूलाई कारबाही गरिने उनी बताउँछन् ।
महानिर्देशक दाहाल उद्योगमा लोडसेडिङ कारण देखाएर उद्योगीले उपभोक्ता ठग्ने काम गर्न नपाउने बताउँछन् ।
‘सरकारले लोडसेडिङ छैन भनेर सूचना जारी गरिरहन्छ, उद्योगी लोडसेडिङ छ भनेर भन्छन्, यो बुझ्नैपर्ने कुरा छ,’ महानिर्देशक दाहाल भन्छन्, ‘उपभोक्ताको हितका लागि विभाग दिनरात लागिरहेको छ । यो त विभागले गरिरहेको कामलाई असफल बनाउन लागेजस्तो देखिन्छ । हामी जे पनि गर्न सक्छौं भन्ने उद्योगीको घुर्कीजस्तो देखियो यो ।’
यस्तो छ उद्योगीले राखेको सिमेन्टको एफपीजी
अधिकांश उद्योगहरूले सिमेन्ट र डन्डीमा जएफपीजी र एमआरपी लेबल लगाएको जानकारी दिएका छन् ।
वाणिज्य विभागका अनुसार उद्योगले ओपीसी सिमेन्टको एफपीजी प्रतिबोरा ६ सय ७५ देखि ७ सय ७१ रुपैयाँसम्म तोकेका छन् ।
विभागका अनुसार सोना सिमेन्ट उद्योगले पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ५ सय ९० रुपैयाँ तोकेको छ । सगरमाथा गोल्ड सिमेन्ट पीपीसीको मूल्य ५ सय ६५ तोकिएको छ ।
यस्तै सर्वोत्तम सिमेन्ट उद्योगले ओपीसी सिमेन्ट प्रतिबोराको मूल्य ६ सय ७५ रुपैयाँ तोकेको छ । शिवम् सिमेन्ट उद्योगले ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ७ सय ७१, होङ्सी सिमेन्टको ७ सय ३५ र रिद्धिसिद्धिले ७ सय १५ रुपैयाँ तोकेको छ ।
यसैगरी शालिमार गोल्ड सिमेन्ट उद्योगको ओपीसी सिमेन्ट प्रतिबोरा ७ सय र होङ्सी सिमेन्ट उद्योगले पीपीसी सिमेन्टको मूल्य भने प्रतिबोरा ६ सय ४५ रुपैयाँ तोकेको छ ।
यस्तो छ डन्डीको एफपीजी
विभागलाई प्राप्त डन्डीको फ्याक्ट्री गेट प्राइस अनुसार अम्बे स्टिलले एक किलो डन्डीको एफपीजी १ सय १८ रुपैयाँ तोकेको छ । जगदम्बा स्टिलको १०/१२ एमएमको एक किलो डन्डीको मूल्य प्रतिकिलो १२२.०४ र ८ एमएमको मूल्य १२५.४३ रुपैयाँ तोकिएको छ ।
यस्तै सर्वोत्तम स्टिलको १०–१२ एमएम एक किलोको मूल्य ११८ र १६ एमएमको एक किलोको १२०.९१ रुपैयाँ तोकिएको छ ।
त्यस्तै जगदम्बा स्टिलका प्रबन्धक प्रभु आचार्यले जगदम्बा स्टिलको एफपीजी प्रतिकिलो १ सय ३ रुपैयाँसम्म रहेको जानकारी दिए । यसमा पनि विक्रेताले मार्जिन राख्दा १ सय ८ रुपैयाँसम्म पुग्ने उनको भनाइ छ ।
‘बजार मूल्य उद्योगको भन्दा फरक पर्न जानु स्वाभाविक हो,’ उनले भने, ‘यो मूल्य अझै बढ्न सक्छ । धेरै बढ्ने होइन, १–२ रुपैयाँ बढ्ने सम्भावना छ ।’
लोडसेडिङ भन्नासाथ उद्योगीले भाउ बढाए : डिलर
काठमाडौं कलंकीस्थित एक डिलरले ३–४ दिनदेखि सिमेन्टको भाउ प्रतिबोरा १५ देखि २० रुपैयाँ र डन्डीको भाउ प्रतिकिलो ३ देखि ६ रुपैयाँसम्म बढेको बताए ।
भारतबाट विद्युत् कटौती हुने समाचार सुन्नासाथ उद्योगीले सिमेन्ट र डन्डीको भाउ बढाएको उनी बताउँछन् ।
उनका अनुसार ओपीसी सिमेन्टको अधिकतम बजार मूल्य प्रतिबोरा ८ सय ५० रुपैयाँ छ । ओपीसी सिमेन्टको एफपीजी ६ सय ५५ रुपैयाँ छ । त्यसमा ढुवानी भाडा, लोडअनलोड खर्च सबै जोडिएको हुन्छ । डिलरले एक बोरा सिमेन्ट बेच्दा २० रुपैयाँ मार्जिन राखेको उनले बताए ।
‘उद्योगबाट आउने प्राइस प्रतिबोरा ६ सय ५५ रुपैयाँ छ, ढुवानी खर्च १ सय ७० रुपैयाँ लाग्छ, गोदाममा झार्दा ५ रुपैयाँ पर्छ,’ उनले भने, ‘सिमेन्टको भाउ कम्पनी अनुसार फरक पर्छ ।’
उनका अनुसार अहिले बजारमा ब्रान्ड अनुसारका ओपीसी सिमेन्टको बजार मूल्य ८ सय २५ देखि ८ सय ५० रुपैयाँसम्म पर्छ भने पीपीसी सिमेन्टको प्रतिबोरा बजार मूल्य ७ सय २५ देखि ७ सय ५० रुपैयाँसम्म पर्छ ।
यस्तै उनले डन्डी पनि फरक–फरक मूल्यमा कारोबार भइरहेको बताए । डन्डीको सबैभन्दा सस्तो मूल्य प्रतिकिलो १ सय ४ देखि १ सय ८ रुपैयाँसम्म छ । सबैभन्दा महंगो भनेको प्रतिकिलो १ सय १८ रुपैयाँसम्म रहेको उनी बताउँछन् । उद्योगले नै डन्डी प्रतिकिलो ९५ रुपैयाँमा बेचिरहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4