
१५ वैशाख, काठमाडौं । स्पेन र पोर्चुगलमा सोमबार विद्युत आपूर्ति व्यापकरूपमा बन्द भएको छ ।
विद्युत् आपूर्तिमा समस्या हुँदा मोबाइल फोन र इन्टरनेट नेटवर्कमा प्रभाव परेको छ । यस्तै, रेल सेवा अवरूद्ध भएका र मानिसहरू लिफ्टमा फसेको अधिकारीहरूले बताएका छन् ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले राज्यको विद्युत् सञ्जाल सञ्चालकको मुख्यालयमा गएर समस्याको जानकारी लिएका छन् । स्पेन सरकारले व्यापक रूपमा भएको विद्युत् कटौतीको उद्गमस्थल पत्ता लगाउन लागिपरेको जनाएको छ ।
स्पेनी विद्युत् सेवा प्रदायक रेड इलेक्ट्रिकाले देशमा विद्युत सुचारु गर्न ६ देखि १० घण्टा लाग्न सक्ने भन्दै विद्युत कटौतीको कारणबारे अनुमान नगर्न आग्रह गरेको छ ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्वीरहरूमा मेट्रो स्टेसनहरूमा अन्धकार छाएको, रेलहरू रोकिएका र कार्यालय र हलहरूमा रहेका मानिसहरूले आफ्नो फोनको बत्ती प्रयोग गरेर हिंडिरहेको देखिन्छ ।
राष्ट्रिय सडक प्राधिकरण डीजीटीले मोटर चालकहरूलाई ड्राइभिङ रोक्न भनेको छ भने प्रहरीले चौराहाहरूमा ट्राफिक निर्देशन जारी गर्न बाध्य भएको छ ।
म्याड्रिड र बार्सिलोनामा एएफपीका पत्रकारहरूले मानिसहरू सडकमा निस्केको र आफ्नो स्मार्टफोन समातेर नेटवर्क जडान गर्ने प्रयास गरिरहेको बताएका छन् ।
मानिसहरू पनि लिफ्टमा फसेको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् । इन्टरनेट गतिविधि अनुगमन साइट नेटब्लकले एएफपीलाई बताएअनुसार विद्युत अवरोधका कारण देशको अधिकांश डिजिटल पूर्वाधारमा सेवा प्रभावित बन्न पुगेको छ ।
यसले वेब कनेक्सनसामान्य प्रयोगको १७ प्रतिशतमा झरेको बताएको छ ।
उडानमा अवरोधपोर्चुगलको विद्युत प्रदायक संस्था आरईएनले एएफपीलाई दिएको जानकारी अनुसार इबेरियन प्रायद्वीपका सबै क्षेत्र विद्युत अवरूद्धताबाट प्रभावित भएको बताएका छन् ।
दक्षिण–पश्चिम फ्रान्समा पनि केही समय विद्युतमा अवरोध आएको र सेवा प्रभावित भएको थियो यद्यपि, त्यहाँ अहिले सेवा पुनः सञ्चालनमा आएको छ ।
फ्रान्सको हाइ भोल्टेज ग्रिड अपरेटर आरटीईले भनेको छ, ‘विद्युतीय घटनाले स्पेन र पोर्चुगललाई प्रभावित गरिरहेको छ, जसको कारण पत्ता लाग्न बाँकी छ ।’
स्पेन र पोर्चुगलसँग सम्पर्कमा रहेको र यसको ‘अन्तर्निहित कारण बुझ्न’ युरोपियन आयोगले आग्रह गरेको एक प्रवक्ताले बताएका छन् ।
स्पेनको रेलवे अपरेटर एडिफले बिजुली कटौतीपछि देशभरिका सम्पूर्ण रेलहरू रोकेको छ ।

विमानस्थल सञ्चालक आइनाका अनुसार उडानमा ढिलाइ भए पनि आकस्मिक विद्युत् प्रणालीका कारण देशका विमानस्थलहरू अझै सञ्चालनमा छन् ।
स्पेनको रेड इलेक्ट्रिकाले देशको उत्तर र दक्षिणमा विद्युत आपूर्ति सुचारु गर्न सफल भएको तर समस्या समाधान नभएको बताएको छ ।
‘हामी सेवा पुनः सञ्चालनमा ल्याउन निरन्तर काम गरिरहेका छौं,’ विज्ञप्तिमा भनिएको छ ।
स्पेनको एल पाइस पत्रिकाले आफ्नो वेबसाइटमा म्याड्रिडमा मेट्रो रेल रोकेको, ट्राफिकलाई निर्देशन दिइरहेको प्रहरी र टर्चलाइटको छेउमा अँध्यारो कार्यालयमा काम गरिरहेका आफ्नै पत्रकारहरूको फोटोहरू पोस्ट गरेको छ ।
पत्रिकाले अस्पतालका प्रमुख विभागहरू ब्याक–अप जेनेरेटरहरूको कारण काम गर्न सकेको भएपनि अन्य एकाइहरू बिजुलीविहीन अवस्थाका कारण प्रभावित रहेको जनाएको छ ।
हालैका वर्षहरूमा विश्वका अन्य देशहरूमा पनि विद्युत अवरोध हुने समस्या देखा परेका छन् ।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4