
१५ वैशाख, काठमाडौं । सरकार र शिक्षक महासंघको वार्ता सहमति नजिक पुगेको छ । सहमतिलाई अन्तिम रुप दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र महासंघबीच वार्ता भइरहेको छ ।
सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका छन् । महासंघको तर्फबाट अध्यक्ष लक्ष्मिकिशोर सुवेदी सहितको टोली छ । शिक्षकको सेवा सुविधाको विषयमा मन्त्रिपरिषद्ले निर्णय गरेमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न महासंघ तयार छ ।
सरकार र महासंघले बीचको बाटो अपनाएर सहमतिको प्रयास गरिरहेको वार्तामा सहभागी एक सदस्यले बताए । `वार्तामा छौँ । सहमतिको नजिक पुगेका छौँ,´ ती सदस्यले भने ।
शिक्षामन्त्री रघुजी पन्त पनि वार्ताको माध्यमबाट समाधान खोज्न लागिपरेका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले पनि शिक्षकसँग वार्ता गर्न मन्त्री पन्तलाई नै जिम्मेवारी दिइएको छ ।
मन्त्रिपरिषद बैठकपछि सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पनि भोलि या पर्सिसम्म सहमति हुने बताएका छन् ।
‘भोलि या पर्सिसम्म शिक्षक आन्दोलनले उठाएको मागको सम्बोधन हुने, अवस्था सरकारले वातावरण निर्माण गर्दैछ,’ गुरुङले भने ।
सरकारसँग वार्तामा बस्नुअघि महासंघको पनि बैठक बसेको थियो । सरकरले गर्ने निर्णय गरेमा र ऐन जारी गर्ने सुनिश्चितता गरेमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न महासंघ तयार भएको छ ।
आजको वार्तामा सरकार र महासंघ दुवै लचक भएर प्रस्तुत भएका छन् ।
वार्तामा बस्नुअघि महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनेकी थिइन्, `मन्त्रिपरिषद् र मन्त्रालयबाट हुने निर्णय निसर्त होस् । ऐन जारी गर्ने डेटलाइन तोकियोस् । हामी आन्दोलनको मोडालिटी परिवर्तन गर्छौं भनेकै छौं ।´
शिक्षकहरू गत चैत २० देखि निरन्तर आन्दोलनमा छन् ।
प्रतिक्रिया 4