+
+
Shares

यस्तो छ ट्रम्पको महसुलले एप्पललाई पारेको सकसको इतिवृत्तान्त

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते ९:४८

तपाईं हामीले चलाउने आइफोनमा एउटा लेबल टाँसिएको हुन्छ, जसबाट के थाहा हुन्छ भने सो आइफोन अमेरिकाको क्यालिफोर्नियामा डिजाइन गरिएको हो। यद्यपि आइफोन अमेरिकामै डिजाइन गरिएको हो, तर प्रायः हामीले चलाउने आइफोनको निर्माण अमेरिकाबाट हजारौं माइल टाढा अर्थात चीनमा भएको हुन्छ ।

चीन त्यस्तो देश हो जसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढाएको चर्को भन्सार महसुल दर (ट्रम्प ट्यारिफ) ले सबैभन्दा बढी असर पारेको छ । केही चीनबाट हुने केही आयातहरुमा अमेरिकाले लगाएको यस्तो दर अहिले २४५ प्रतिशतसम्म पुगेको छ ।

एप्पल कम्पनीले हरेक वर्ष २२ करोडभन्दा धेरै संख्यामा आइफोन बेच्दछ। तथ्यांक अनुसार विश्वमा खपत हुने हरेक १० आइफोनमध्ये ९ वटा चीनमै बनाइन्छन्।

आकर्षक स्क्रिनदेखि लिएर ब्याट्रीलगायतका एप्पलका प्रडक्टका धेरै पार्टहरू चीनमै बनाइन्छन् । आइफोन होस्, आइप्याड होस् वा म्याकबुक, यी सबै चीनमै असेम्बल गरिन्छन्। तीमध्ये अधिकांश आइफोनहरू चीनबाटै एप्पलको सबैभन्दा ठूलो बजार अमेरिका पठाइन्छन्।

चीनमाथि ट्रम्पले थोपरेको चर्को भन्सार दरको मारमा एप्पल पनि परेको थियो। तर, ट्रम्पले गएको हप्ता अचानक स्मार्टफोन, कम्प्युटर र केही अन्य इलेक्ट्रोनिक सामानहरूलाई ट्यारिफबाट छुट दिएपछि उसले केही राहतको सास फेरेको छ। यद्यपि यो राहत स्थायी होइन ।

राष्ट्रपति ट्रम्पले अझ बढी भन्सार महसुल लगाउने संकेत दिएका छन् । उनले आफ्नो सोसल मिडिया प्लाटफर्म ट्रुथ सोशलमा लेखेका छन्, ‘कोही पनि यसबाट जोगिन सक्दैन ।’

ट्रम्प प्रशासनले ‘सेमिकन्डक्टर र सम्पूर्ण इलेक्ट्रोनिक्स सप्लाई चेन’ को जाँच गरिरहेको उनले बताएका छन् ।

विश्वभरमा आफ्नो आपूर्ति श्रृंखलालाई एप्पलले आफ्नो शक्तिका रूपमा प्रस्तुत गर्दै आएको थियो तर अब यही कुरा उसकै लागि संकट बनेको छ।

विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रहरू – अमेरिका र चीन – धेरै मामिलामा एकअर्कामा निर्भर छन्। तर ट्रम्पको आश्चर्यजनक ट्यारिफ युद्धले रातारात यो सम्बन्ध बिगारेको छ ।

यसबाट एउटा प्रश्न पनि उठ्छ – यी दुई देशमध्ये को कुन देशमाथि बढी निर्भर छ ?

जीवन रेखा कसरी खतरा बन्यो ?

एप्पलले एयरपोड्सको उत्पादन भियतनाममा सारेको छ। तर भन्सार महसुल बढाउने ट्रम्पको निर्णय ९० दिनका लागि स्थगन हुनुअघि यसले ४६ प्रतिशत ट्यारिफको सामना गर्दै थियो। त्यसैले, एशियामा कुनै पनि देशमा उत्पादन सिफ्ट गर्नु एप्पलको लागि सजिलो बाटो होइन।

चीनले विश्वका सबैभन्दा ठूला तथा महत्वपूर्ण कम्पनीहरूमध्ये एक (एप्पल) का लागि सामानहरू उत्पादन गर्न पाउनु उसका लागि ठूलो लाभको विषय बन्यो ।

उत्तम गुणस्तरको निर्माणका कारण चीन पश्चिमी देशहरूका लागि एउटा ’कलिङ कार्ड’ जस्तै बनेको थियो, र यसले स्थानीय स्तरमा नयाँ प्रयोगहरूलाई प्रवर्द्धन गर्न सहयोग गर्‍यो ।

एप्पल सन् १९९० को दशकमा तेस्रो पक्षका सप्लायर्समार्फत कम्प्युटर बेच्ने उद्देश्यले चिनियाँ बजारमा प्रवेश गरेको थियो।

सन् १९९७ तिर, जब एप्पल अरू कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न संघर्ष गरिरहेको अवस्थामा लगभग टाट पल्टिन लागेको थियो, त्यही बेला उसलाई चीनमा नयाँ जीवन प्राप्त भयो ।

त्यो समयमा चिनियाँ अर्थतन्त्र विदेशी कम्पनीहरूको लागि खुल्दै थियो, जसको उद्देश्य म्यान्युफ्याक्चरिङ प्रवर्द्धन गर्नु र थप रोजगारी सिर्जना गर्नु थियो ।

सन् २००१ मा एप्पल औपचारिक रूपमा शाङ्घाईस्थित एक व्यापारिक कम्पनीमार्फत चीनमा प्रवेश गर्‍यो र उसले त्यहाँ सामान निर्माण गर्न सुरु गर्‍यो।

उसले चीनमा रहेको ताइवानको इलेक्ट्रोनिक्स उत्पादन कम्पनी फक्सकनसँग साझेदारी गर्‍यो, जसअन्तर्गत उसले पहिलोपटक आइपोड, त्यसपछि आइम्याक र त्यसपछि आइफोन बनायो।

जसरी चीनले संसारभरका देशहरूसँग व्यापार गर्न सुरु गर्‍यो-जसमा अमेरिकाको पनि समर्थन थियो- एप्पलले चीनमा आफ्नो उपस्थिति विस्तार गर्‍यो, जुन बिस्तारै संसारकै कारखाना अर्थात् उत्पादन केन्द्र बन्दै गयो।

त्यो समय चीन आइफोन बनाउन तयार थिएन। आपूर्ति श्रंखला विशेषज्ञ लिन शुएपिङका अनुसार, एप्पलले आफ्नै आपूर्तिकर्ता चयन गर्‍यो र तिनीहरूलाई ‘म्यान्युफ्याक्चरिङ सुपरस्टार’ बन्न मद्दत गर्‍यो।

शुएपिङ बेइजिङ जिङडियाओको उदाहरण दिन्छन् । जुन अहिले आधुनिक पाट्र्सको उत्कृष्ट निर्माणका लागि प्रयोग हुने एक प्रमुख मेसिनरी निर्माता कम्पनी बनिसकेको छ।

लिन भन्छन्, ‘यो कम्पनी, जसले पहिले एक्रेलिक काट्थ्यो। उसलाई पहिले मेसिन पाट्र्स निर्माता मानिंदैनथियो। तर पछि उसले सिसा काट्ने मेसिनरी विकास गर्‍यो र एप्पलको मोबाइल फोन सतह प्रशोधनको ‘स्टार’ बन्यो।’

एप्पलले चीनमा आफ्नो पहिलो स्टोर सन् २००८ मा बेइजिङमा खोलेको थियो। त्यसै वर्ष सहरमा ओलम्पिकको आयोजना भएको थियो, र चीनको पश्चिमी देशहरूसँगको सम्बन्ध सबैभन्दा उत्कृष्ट अवस्थामा थियो।

छिट्टै, चीनमा यस्ता स्टोरको संख्या ५० पुग्यो र एप्पलका ग्राहकहरूको लाइनहरू स्टोरको ढोका बाहिरसम्मै देखिन थाल्यो।

जसरी एप्पलको नाफाको बढ्दै गयो, त्यसरी नै चीनमा यसको उत्पादन केन्द्रहरू पनि बढ्दै गएका थिए।

फक्सकनले चीनको झेङझौ शहरमा संसारकै सबैभन्दा ठूलो आइफोन फ्याक्ट्री बनायो, जसलाई त्यसबेलादेखि ‘आइफोन सिटी’ भनेर चिनिन थालिएको छ।

द्रुत गतिमा विकास गरिरहेको चीनका लागि, एप्पल एक सरल तर आकर्षक आधुनिक पश्चिमी प्रविधिको प्रतीक बनेको थियो ।

आज एप्पलका अधिकांश महँगा आइफोनहरूको निर्माण फक्सकनले गर्छ। ती फोनमा प्रयोग हुने उन्नत चिपहरूको निर्माण ताइवानको विश्वकै सबैभन्दा ठूलो चिप निर्माता कम्पनी (ÚTSMCÚ-Taiwan Semiconductor Manufacturing Company ले गर्छ।

यी बनाउन दुर्लभ भौगर्भिक तत्व अर्थात् अर्थ एलिमेन्टहरूको पनि आवश्यकता पर्छ, जसको प्रयोग फोनका अडियो उपकरण र क्यामेरामा गरिन्छ।

निक्केई एशियाको मूल्यांकनअनुसार, सन् २०२४ मा एप्पलका शीर्ष १८७ सप्लायर्समध्ये झन्डै १५० कम्पनीका कारखाना चीनमा थिए।

एप्पलका सीईओ टिम कुकले गएको वर्ष एक अन्तर्वार्तामा भनेका थिए, ‘हाम्रो लागि संसारमा कुनै पनि सप्लाइ चेन, चीनमा रहेको सप्लाइ चेनभन्दा महत्वपूर्ण छैन।’

कम्पनीमाथि कति ठूलो छ भन्सार महसुलको खतरा ?

ट्रम्पको पहिलो कार्यकालमा जब चिनियाँ उत्पादनहरूमा भन्सार महसुल लगाइएको बेलामा पनि एप्पललाई त्यसबाट छुट दिइएको थियो।

तर यसपटक ट्रम्प प्रशासनले केहि इलेक्ट्रोनिक सामानहरूमा ट्यारिफ फिर्ता लिनु अघि एप्पलको उदाहरण दिएको छ।

उनीहरूको विश्वास छ कि भारी करको डरले कम्पनीहरूलाई अमेरिकामा आफ्नो उत्पादन बनाउने कदम चाल्न बाध्य पार्नेछ।

चीनमा सबैभन्दा ठूलो स्मार्टफोन बिक्रेताको रुपमा रहेको आफ्नो ताज एप्पलले अघिल्लो वर्ष गुमाएको छ । चिनियाँ स्मार्टफोन बजारमा अहिले एप्पल हुआवे र भिभोभन्दा पनि पछाडि परेको छ।

अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिकले यस महिनाको सुरुमा एक अन्तर्वार्तामा भनेका थिए, ‘लाखौं मानिसहरू लाइनमा बसेर आइफोन बनाउनको लागि साना–छुटा स्क्रू लगाउँदै छन्। अब यस प्रकारको काम अमेरिकामा हुँदैछन्।’

त्यसैगरी, व्हाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले प्रविधि सम्बन्धी सेमिकन्डक्टर, चिप, स्मार्टफोन र ल्यापटपजस्ता महत्त्वपूर्ण चीजहरूको उत्पादनका लागि अमेरिका अब चीनमा निर्भर रहन नसक्ने कुरा राष्ट्रपति ट्रम्पले स्पष्ट गरिदिएको बताएकी छिन्। उनका अनुसार राष्ट्रपतिका निर्देशन अनुसार यी कम्पनीहरूले चाँडै आफ्नो उत्पादन अमेरिका मा सुरु गर्ने प्रयासमा छन्।

तर, धेरै मानिसहरूले यस दावीमा शंका प्रकट गरिरहेका छन्।

एप्पलको एकेडेमिक सलाहकार बोर्डका सदस्य रहेका एली फ्रीडम्यानका अनुसार, एप्पलले आफ्नो असेम्बलिंग कारखाना अमेरिकामा सार्न सक्दछ भन्ने कुरा ‘पूर्ण रुपमा काल्पनिक’ हो।

एली फ्रीडम्यान २०१३ मा कम्पनीको बोर्डमा सामेल भएका थिए। उनका अनुसार सोही बेलादेखि नै एप्पलले आफ्ना सप्लाई चेनलाई चीन बाहेका देशहरुमा लैजाने विषयमा कुरा गर्दै आएको भएपनि चीनको विकल्प अमेरिका कहिल्यै पनि रहेन ।

फ्रीडम्यानका अनुसार, एप्पलले यस विषयमा करिब दस वर्षसम्म खासै काम गरेन। तर कोविड महामारी पछि भने केही प्रयसा भए। त्यो पनि चीनमा कडा लकडाउनले कम्पनीको उत्पादनलाई क्षति पूराएका कारण।

उनको भनाइ छ, ‘असेम्बलिंगका हिसाबले कम्पनीका लागि सबैभन्दा महत्त्वपूर्ण नयाँ स्थानहरू वियतनाम र भारत भएका छन्। तर एप्पलको अधिकांश उत्पादन अझै पनि चीनमा हुन्छ।’

एप्पलको वेबसाइटका अनुसार एप्पलको सप्लाई चेन ५० भन्दा बढी देशहरूमा फैलिएको छ।

के छन् चुनौती ?

एप्पलको वर्तमान सप्लाई चेनमा कुनै पनि प्रकारको परिवर्तन चीनका लागि ठूलो झटका हुनेछ। सन् २००० को दशकको सुरुआतमा पश्चिमी देशका कम्पनीहरूको लागि म्यान्युफ्याक्चरिङ केन्द्र बन्ने अभिलाषा राख्ने चीनका लागि आज पनि यस्तै चाहना राख्नु एक यथार्थ हो।

यसले लाखौं रोजगारी सिर्जना गर्दछ र देशलाई वैश्विक व्यापारमा महत्त्वपूर्ण फाइदा पुर्‍याउँछ ।

विज्ञका अनुसार अहिले एप्पल कम्पनी अमेरिका र चीनको बीचमा जारी तनावको बीचमा उभिएको छ र ट्यारिफले त्यसको सामुहिक जोखिमलाई उजागर गरेको छ।

सायद यही कारणले पनि हुनसक्छ कि चीनले घुँडा नटेकीकन ट्रम्पका धम्कीहरूको सामना गर्यो र बदलामा अमेरिकी‍ आयातमा १२५ प्रतिशत शुल्क लगायो।

चीनले आफ्नै देशमा रहेका केहि महत्त्वपूर्ण दुर्लभ खनिज र चुम्बकहरूको निर्यातमा पनि नियन्त्रण लगाएको छ, जसले अमेरिकालाई झटका दिएको छ।

यसमा कुनै शंका छैन कि अन्य क्षेत्रहरूमा चिनियाँ उत्पादनमाथि हालै अमेरिकी ट्यारिफहरूले असर पार्नेछ।

अघिल्लो हप्ता ट्रम्पले स्मार्टफोनको आयातमा थप ट्यारिफ लगाउने निर्णयलाई स्थगन गरेर तत्काल संकटको गम्भीरता घटेको भएपनि यसले एप्पललाई खासै राहत मिल्ने सम्भावना कम रहेको विज्ञ बताउँछन्

तर, के सत्य होइन भने अहिले केवल चीनले मात्र ट्रम्पका उच्च ट्यारिफहरूको सामना गरिरहेको छ। ट्रम्पले स्पष्ट पारेका छन् कि चिनियाँ सप्लाई चेनको हिस्सा रहेका सबै देशलाई निशाना बनाउनेछन्।

उदाहरणका लागि, एप्पलले एयरपोड्सको उत्पादन भियतनाममा सारेको छ। तर भन्सार महसुल बढाउने ट्रम्पको निर्णय ९० दिनका लागि स्थगन हुनुअघि यसले ४६ प्रतिशत ट्यारिफको सामना गर्दै थियो।

त्यसैले, एशियामा कुनै पनि देशमा उत्पादन सिफ्ट गर्नु एप्पलको लागि सजिलो बाटो होइन।

अब एप्पल के गर्छ

एप्पलले पछिल्लो समयमा चिनियाँ कम्पनीहरूबाट कडा प्रतिस्पर्धा सामना गर्नु परेको छ। चिनियाँ सरकारले अमेरिकासँगको प्रतिस्पर्धामा उन्नत प्राविधिक उत्पादनमा जोड दिइरहेको छ।

लिनका अनुसार, ‘एप्पलले चीनको इलेक्ट्रोनिक निर्माण क्षमतालाई प्रवर्दद्धन गरेको छ। अब हुआवे, शाओमी, ओप्पो र अन्य कम्पनीहरूले एप्पलको उत्कृष्ट सप्लाई चेनको प्रयोग गर्न सक्छन्।’

वर्तमान समयमा आर्थिक मन्दीको कारण चिनियाँ जनताले आफ्नो खर्च घटाएका छन्। चीनमा सबैभन्दा ठूलो स्मार्टफोन बिक्रेताको रुपमा रहेको आफ्नो ताज एप्पलले अघिल्लो वर्ष गुमाएको छ । चिनियाँ स्मार्टफोन बजारमा अहिले एप्पल हुआवे र भिभोभन्दा पनि पछाडि परेको छ।

यसका साथै, चीनमा च्याटजीपीटीमा पनि प्रतिबन्ध लगाइएको छ र यसले एप्पललाई एआई–संचालित फोन चाहने ग्राहकहरूको बीचमा आफ्नो फोन बिक्री गर्नमा समेत चुनौतीहरूको सामना गर्न बाध्य बनाएको छ।

कम्पनीले गत जनवरी महिनामा आफ्नो बिक्री बढाउनको लागि आईफोनमा छुट दिएको थियो, जुन सामान्यतया चिनियाँ बजारमा देखिँदैन।

चिनियाँ राष्ट्रपति शी जिनपिङको शासनकालमा, एप्पललाई आफ्ना उपकरणहरूमा ब्लूटूथ र एयरडपको प्रयोगलाई सीमित गर्नु परेको छ । किनकि चीनमा राजनीतिक सन्देशहरू सेयर गर्ने सन्दर्भमा सेन्सरसिप गर्ने प्रयास हुन्छ।

यहाँको सरकारले प्रविधि उद्योगमा त्यस्तो कदम उठाएको छ जसले अलीबाबाका संस्थापक र अरबपति व्यवसायी जैक मालाई समेत प्रभावित गरेको छ।

यद्यपि एप्पलले अमेरिकामा ५०० अर्ब डलरको लगानी घोषणा गरेको छ, तर यस्तो देखिन्छ कि यो ट्रम्प प्रशासनलाई लामो समयसम्म खुशी राख्नका लागि पर्याप्त हुने छैन।

ट्रम्पका धेरै यू–टर्न र भन्सार महसुल बारेको अनिश्चितता हेर्दा, भविष्यमा थप आश्चर्यजनक महसुलदर लागु हुनसक्ने सम्भावना छ।

यस अवस्थामा, एप्पलसँग फेरि धेरै कम अवसरहरू हुनेछन् र नयाँ कुनै उपाय खोज्नको लागि समय पनि कम हुनेछ।

विज्ञका अनुसार अमेरिकाले यदि स्मार्टफोनमाथिको भन्सार महसुल पुनः लागू गर्यो भने त्यसले एप्पललाई सिधा नोक्सान नगरेपनि यसको सप्लाई चेनमा कार्यसन्चालन र राजनीतिक दुबै खालको दबाब बढाउनेछ, जसलाई तुरुन्त समाधान गर्न सकिँदैन।

अघिल्लो हप्ता ट्रम्पले स्मार्टफोनको आयातमा थप ट्यारिफ लगाउने निर्णयलाई स्थगन गरेर तत्काल संकटको गम्भीरता घटेको भएपनि यसले एप्पललाई खासै राहत मिल्ने सम्भावना कम रहेको विज्ञ बताउँछन्।

-बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?