
१६ वैशाख, काठमाडौं । बजारमा खोस्टा मुङ दालको मूल्य बढेको छ । रहर, मुसुरो, चना दालको मूल्य भने स्थिर छ । नेपाल खुद्रा व्यवसायी संघले उपलब्ध गराएको तथ्यांकले खोस्टा मुङको मूल्य बढेको देखाएको हो ।
संघले प्रत्येक महिना १ र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्ने गरेको छ ।
१५ दिनअघिको तुलनामा खोस्टा मुङको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेको छ । १ वैशाखमा खोस्टा मुङ दाल प्रतिकिलो १ सय ९० रुपैयाँमा कारोबार भइरहेको थियो । अहिले भने उक्त दालको मूल्य किलोको २ सय रुपैयाँ कायम छ ।
यस्तै तथ्यांक अनुसार रहर दाल प्रतिकिलो २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । १५ दिनअघि पनि रहर दाल सोही मूल्यमा कारोबार भएको थियो । मुसुरो दालको मूल्य प्रतिकिलो १ सय ६५ र चना दाल १ सय ७० रुपैयाँ कायम छ ।
छाटा मुङ प्रतिकिलो १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै मुङ गेडाको मूल्य पनि बढेको छ । १५ दिनअघि १ सय ९० रुपैयाँमा कारोबार भएको मुङ गेडाको मूल्य १० रुपैयाँले बढेर २ सय रुपैयाँ कायम छ ।
नेपालमा दालको उत्पादन कम मात्रामा हुने हुँदा भारत लगायत अन्य देशबाट आयात हुँदै आएको छ ।
प्रतिक्रिया 4