
काठमाडौं । एनएमबी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय वित्तीय संस्था आईएफसी, बीआईआई र मेटलाइफसँगको साझेदारीमा नेपालमै पहिलो पटक ६ करोड अमेरिकी डलर बराबरको नेपाली रुपैयाँमा अंकित ‘हरित बन्ड’ जारी गर्ने उद्देश्य साथ साझेदारीपत्रमा हस्ताक्षर गरेको छ।
यस साझेदारी मार्फत जलवायु परियोजनामा संलग्न उद्यममा लगानी बढाउने, गुणस्तरीय रोजगारी सिर्जना गर्ने र देशको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने लक्ष्य लिइएको बैंकले जनाएको छ ।
बन्डबाट संकलित रकम विशेषतः सौर्य ऊर्जा, विद्युतीय सवारीसाधन, हरित भवन निर्माण, बायोमास परियोजना जस्ता नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गरिने छ । यस पहलले नेपालको जलवायु अनुकूलन तथा दिगोपन प्रवर्द्धनमा समेत टेवा पुग्ने बैंकको विश्वास छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा बैंक सञ्चालक समिति अध्यक्ष मनोजकुमार गोयलले नवीकरणीय ऊर्जा लगायत क्षेत्रमा परिवर्तनकारी फड्को मारिने विश्वास व्यक्त गरे ।
साथै, उनले एनएमबी बैंकको यस पहलले विदेशी पूँजीलाई स्वदेश भित्र्याइ जलवायु क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रमा परेको पर्यावरणीय प्रभाव न्यूनीकरण गर्न थप सहयोग पुग्ने बताए ।
प्रतिक्रिया 4