
एप्पल कम्पनीले अमेरिकामा बिक्री हुने आइफोन उत्पादनको अधिकांश हिस्सा चीनबाट भारतमा सार्ने भएको छ ।
चीनबाट हुने निर्यातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको उच्च भन्सारदर तथा चीनको जवाफी कार्यका कारण व्यापार श्रृंखलामा असर पार्ने परिस्थितिका बीच एप्पलले अमेरिकामा निर्यात हुने आइफोन उत्पादनका लागि सन् २०२६ को अन्त्यसम्ममा भारतमा सबैभन्दा धेरै कारखाना स्थापना गर्ने योजना बनाएको छ । हाल चीन आइफोनको सबैभन्दा ठूलो उत्पादन हबको रुपमा रहेको छ ।
समाचार अनुसार भारतमा आइफोन उत्पादनलाई बढाउने योजना पूरा गर्नका लागि एप्पलले आइफोन उत्पादक साझेदारहरु फक्सकन र टाटासँग आकस्मिक छलफल गरिरहेको बताइएको छ ।
यस विषयमा एप्पल र फक्सकनले आधिकारिक रुपमा चाहिँ केही पनि बताएका छैनन् ।
एप्पल कम्पनीले अमेरिकामा वार्षिक ६ करोड आइफोन बिक्री गर्ने गर्दछ र त्यसमध्ये ८० प्रतिशत चीनमा उत्पादन गर्ने गरेको छ ।
स्मरण रहोस् पछिल्ला वर्षहरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई स्मार्टफोन उत्पादनको हब बनाउने प्रयास गरिरहेका छन् । तर, भारतमा मोबाइल पार्टस्हरुको आयातमा लाग्ने उच्च महसुलका कारण त्यहाँ फोन उत्पादन गर्नु चीन लगायतका देशमा भन्दा महँगो पर्दछ । चीनमा भन्दा भारतमा आइफोन उत्पादन लागत ५ देखि ८ प्रतिशत सम्म महँगो पर्दछ ।
उसो त डोनाल्ड ट्रम्पले अमेरिकामा हुने आयातमा देशगत रुपमा बढाएको उच्च भन्सार दरको असरबाट बच्नका लागि एप्पलले भारतमा आइफोनको उत्पादन बढाइरहेको छ । मार्च महिनामा मात्रै एप्पलले भारतबाट दुई अर्ब डलर मूल्यका ६सय टन आइफोन अमेरिकामा पठाएको थियो ।
पछिल्लो समय एप्पलले आफ्ना उत्पादन केन्द्रहरु चीन बाहिर विविधिकरण गरिरहँदा संवेदनशील भूमिकामा भारतलाई राखेको छ । आइफोन उत्पादनका लागि भारतमा टाटा र फक्सकनका तीनवटा कारखाना सञ्चालनमा छन् भने थप दुईवटा निर्माणाधीन रहेका छन् ।
प्रतिक्रिया 4