
१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले शिक्षकहरूसँगको वार्ता माग सम्बोधनउन्मुख रहेको बताएका छन् ।
नेपाल शिक्षक संघका जिल्ला अध्यक्षहरू र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिहरूसँग मंगलबार कुरा गर्दै महरले सोमबार यताका पटक–पटकका वार्तापछि सरकार, संयन्त्र, राजनीतिक दल र शिक्षक नेता सहमतिनजिक पुगेको बताएका हुन् ।
नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुखसमेत रहेका महरले भने, ‘आन्दोलनरत शिक्षक भोलि (बुधबार)सम्म कार्यस्थल फर्किने गरी नेपाल शिक्षक महासंघसँग गम्भीर रुपले वार्ता परिणाममुखी हुने गरी गृहकार्य भइरहेको छ ।’
तत्काल पूरा गर्न सकिने मागलाई सहमति गरी आज–भोलि नै मन्त्रिपरिषद्बाट सम्बोधन हुने र विद्यालय शिक्षा ऐन जारीको अवधि निश्चित गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
‘कक्षा १२ को परीक्षा समयमै सुरु हुने गरी काम भइरहेको छ । नेपाल शिक्षक महासंघका प्रायः एजेन्डा मन्त्रिपरिषद्बाट सम्बोधन हुने र शिक्षा ऐन यथासक्य छिटो पारित गर्ने प्रतिवद्धतासहित माग सम्बोधन गर्ने गरी गृहकार्य अगाडि बढिरहेको छ,’ उनले थपे ।
प्रतिक्रिया 4