
१६ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरूलाई ट्राफिक व्यवस्थापन सम्बन्धी तालिम दिएको छ ।
नगर प्रहरी बलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा १८० जना नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन सम्बन्धी सैद्धान्तिक र व्यवहारिक तालिम दिएको हो ।
१८ फागुन २०८१ देखि सुरु भएको तालिममा ३ समूहमा सञ्चालन भएको थियो । ५३ जना नगर प्रहरी हवल्दार र १२७ जना नगर प्रहरी जवान तालिममा सहभागी थिए ।
महानगरका अनुसार प्रत्येक समूहलाई १५ कार्य दिनको तालिम दिइएको थियो । हरेक समूहमा ६० जनालाई सहभागी गराइएको थियो ।
तालिम समापन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले सवारी आवागमनमा थप सहजता आउने अपेक्षा गरे । ‘हातको संकेतका भरमा थोरै जनशक्तिबाट काम गर्न कठिन भइरहेको थियो । नगर प्रहरी बलमा ट्राफिक व्यवस्थापनको तालिम प्राप्त जनशक्ति थपिएपछि सवारीचालक, सवारीयात्रु र पैदलयात्रुले सहजता महसुस गर्नुहुनेछ,’ घिमिरेले भने, ‘यसबाट तालिमको नतिजा पुष्टि हुन्छ ।’
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले नागरिकले अपेक्षा गरेको सहरी व्यवस्थापनका लागि नगर प्रहरीको दक्षता बढाउँदै लगिएको बताए ।
‘ट्राफिक व्यवस्थापन सम्बन्धी तालिम यसैको एउटा भाग हो । यसबाट सहरी व्यवस्थापन गर्न खटिने नगर प्रहरीहरूलाई कानुन, नीति र आदेशको पालनामा ज्ञान, सीप र विवेकको प्रयोग गर्न दक्षता बढेको छ,’ पाण्डेले भने ।
के सिकाइयो तालिममा ?
तालिमका आन्तरिक कक्षाहरू सैद्धान्तिक विषयसँग सम्बन्धित थिए । बाह्य कक्षाहरू प्रयोगात्मक, शारीरिक व्यायाम, प्राथमिक कवाज, टोली कवाज, ट्राफिक सिग्नल कवाजलगायत सीप सिकाइएको तालिमका संयोजक प्रहरी निरीक्षक ज्ञानबहादुर माझीले जानकारी दिए ।
सैद्धान्तिक कक्षामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ का व्यवस्थासँगै ट्राफिक शव्दावलीहरू, संकेत तथा चिन्ह र रोड फर्निचर, सडक सुरक्षा र सुरक्षित यात्रा, ट्राफिक व्यवस्थापनमा सरोकारवालाको भूमिका, सामान्य अवस्था र विशेष अवस्थाको ट्राफिक व्यवस्थापन लगायतको ज्ञान दिइएको थियो ।
यस्तै, सडक दुर्घटना र व्यवस्थापन, ट्राफिक व्यवस्थापनमा नवीनतम प्रविधिको प्रयोग, कुटनीतिक सुविधा प्राप्त सवारीसाधन सम्बन्धी व्यवस्था, सडक पूर्वाधार, सवारी साधन र प्रदुषणलगायत विषयमा ज्ञान प्रदान गरिएको थियो । सैद्धान्तिक रुपमा सिकेका कुरालाई वाह्य कक्षामा प्रयोग गरिएको थियो ।
नगर प्रहरीलाई प्रहरीको आधारभूत तालिम, विपद व्यवस्थापन तालिम, ट्राफिक व्यवस्थापन तालिमसहितका क्षमता विकास कार्यक्रम सञ्चालन भइरहेका छन् ।
नगर प्रहरी सम्बन्धी व्यवस्था के छ ?
नेपालको संविधानले स्थानीय तहलाई दिएको एकल अधिकारमा नगर प्रहरीको व्यवस्था छ । विद्यमान महानगर प्रहरी बल संविधान जारी हुनुअघिदेखि नै अर्थात् १४ भदौ २०५० देखि नगर प्रहरी सेवाका रूपमा स्थापना भएको संरचना हो ।
नगर प्रहरीको विकास र विस्तारका क्रममा २९ चैत २०७७ मा महानगर प्रहरी बलका रूपमा विकास भयो । २०८० असारमा सम्पन्न नगर सभाको १३औं अधिवेशनले महानगर प्रहरीलाई व्यवस्थित गर्न महानगर प्रहरी ऐन २०८० जारी गर्यो । यसबाट महानगर प्रहरी बल थप सशक्त र संगठित बनेको छ ।
महानगरपालिकाको चल अचल सम्पत्तिको सुरक्षा गर्ने, सभा समारोह, चाडपर्वको व्यवस्थापन गर्ने, सहरी व्यवस्थापनका काम गर्ने, सार्वजनिक सम्पत्तिको सुरक्षा र रेखदेख गर्ने, सरसफाइ र सुन्दरता जगेर्ना गर्ने, विपद् व्यवस्थापन, वातावरणीय सुधार लगायत २८ बुँदामा नगर प्रहरीले गर्ने कामको जिम्मेवारी ऐनले व्यवस्था गरेको छ ।
प्रतिक्रिया 4