
काठमाडौं । विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘ऊनको स्वीटर’को मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा निर्माताले झण्डै ४ मिनेटको ट्रेलर सार्वजनिक गरे ।
ट्रेलरले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे प्रकाश पार्छ । लेककी गुरुङसेनी युवती र औलको काफ्ले ब्राम्हण युवकबीचको ‘सरल र सहज’ प्रेम सम्बन्ध र त्यसबीचमा आउने जातीय अन्तर्विरोधको कथा यसमा छ ।
निर्देशक नवीन चौहानले पूर्वी नेपालको उच्च पहाडी भूगोल, परिवेश, आञ्चकलिताको सेटिङमा मानवीय सम्बन्ध र यसबीच आइपर्ने संवेदना, अवरोध र पीडाको कथा भनेका छन् । सुजन चापागाईं र झुमा लिम्बुको गीतले ट्रेलरलाई मर्मस्पर्शी तुल्याएको छ । कथा र संगीतको संयोजन यसको खास पक्ष हो ।
पछिल्लो समय ‘सरल र सहज’ प्रेमकथाका फिल्म नआइरहेको बेला ‘ऊनको स्वीटर’ले त्यो अभाव पूर्ति गर्ने अपेक्षा गर्न सकिन्छ । विशेषगरि ग्रामिण जीवन बाँचेका, अटोग्राफमा प्रेमका शब्द लेखेर भाव साटासाट गर्ने ९० को दशकको क्षणलाई फिल्मको ट्रेलरले ताजा तुल्याइदिएको छ । त्यो जीवन बाँचेका दर्शकले ‘नोस्टाल्जिक’ महसुस गर्न सक्छन् ।
ट्रेलरमा विल्सनविक्रम राई, परीक्षा लिम्बु, सुनिल पोखरेल, एलेक्स पारस, प्रेम सुब्बा, माओत्से गुरुङ लगायतका कलाकारको झलक पनि छ । आर्टमाण्डुको ब्यानरमा निर्माण भएको यो फिल्मलाई विदेशमा सेभेन सिज इन्टरनेसनल र नेपालमा काफिया फिल्म्सले वितरण गर्दैछ ।
‘ऊनको स्वीटर’ बैशाख २६ गते (मे ९)मा रिलिज तयारीमा छ ।
प्रतिक्रिया 4