
१६ वैशाख, काठमाडौं । यार्सागुम्बाको व्यापार व्यवसाय गर्ने भन्दै प्रलोभनमा पारेर ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जाजरकोटको नलगाँड नगरपालिका–७ दल्ली घर भएका ४१ वर्षीय दीपेन्द्र सिंह छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलको एक दोहोरी साँझबाट पक्राउ गरेको हो ।
उनले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिसँग सम्पर्क गर्ने र आफू अमेरिकबाट फर्केको पूर्वप्रहरी बताउने गरेका थिए ।
नेपालमा अहिले यार्सागुम्बाको व्यापार गर्ने गरेको त्यसमा लगानी गरे फाइदा हुन्छ भन्दै उनले रकम लिएर ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।
उनले ३६ लाख २ हजार १६६ रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ३० लाख बराबरको बैंकिङ कसुरको मुद्दा रहेको छ । प्रहरीमा भर्ती गराइदिने भन्दै १० लाख ठगी गरेको आरोपमा बाँके प्रहरीमा पनि अर्को मुद्दा दायर छ ।
सेनामा भर्ती गराउने भन्दै ४ लाख ठगी गरेको अर्को मुद्दा इलाका प्रहरी कार्यालय कोहलपुरमा रहेको एसपी जिसीले बताए ।
पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया 4