+
+
Shares

सर्पको विषलाई निष्क्रिय पार्ने एन्टिभेनम के हो, कसरी बनाइन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते १८:२७

सर्पको टोकाइ विश्वभरका ग्रामीण र उच्च तापक्रम भएका भू-भागको एक स्वास्थ्य चुनौती हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार प्रत्येक वर्ष विश्वभर करिब ५४ लाख मानिस सर्पको टोकाइको शिकार हुन्छन् । यसमध्ये १८ देखि २७ लाखसम्मलाई विषालु सर्पले टोकेको हुन्छ ।

सर्पकै टोकाइबाट वर्षमा ८१ हजारदेखि १ लाख ३७ हजार व्यक्तिको मृत्यु हुनेगरेको छ । सर्पकै टोकाइबाट स्थायी रुपमा अपांग बन्नेहरूको संख्या पनि विश्वमा लाखौँ छ ।

विशेष गरी एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशमा सर्पको टोकाइबाट बिरामी हुने र मृत्यु हुनेको संख्या धेरै रहेको डब्लुएचओ जनाएको छ । ग्रामिण क्षेत्रमा बसोबास गर्ने, कृषक तथा श्रमिकहरू बढी सर्पको टोकाइबाट शिकार हुने गरेका छन् । यसमा पनि बालबालिकाहरूलाई बढी जोखिममा पर्ने गरेको डब्लुएचओले जनाएको छ ।

नेपालमा पनि गर्मीको समयमा विशेषगरी तराई क्षेत्रमा सर्पको टोकाइ एक गम्भीर स्वास्थ्य समस्याको रुपमा रहेको छ । पहाडमा पनि सर्पले टोकेका धेरै बिरामी अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेण्ट जनरल फिजिसियन ‌डा.विमल चालिसे बताउँछन्  ।

गर्मी यामको सुरुवातसँगै अहिले सर्पले टोकेका बिरामी अस्पताल आउन थालिसकेको डा.चालिसेले जानकारी दिए ।

विषालु सर्पले टोकिसकेपछि गम्भीर पक्षाघातको समस्या हुनसक्छ । मुटुमा असर गर्ने, मिर्गौलाको कार्य बन्द हुने, श्वास-प्रश्वास बन्द हुने, रक्तस्राव हुने जस्ता जटिलता देखिन्छन् ।

विषालु सर्पले टोकेपछि त्यो विषको असर कम गर्न एन्टिभेनमको प्रयोग गरिन्छ ।  एन्टिभेनम सर्पको विषलाई निष्क्रिय गर्ने एकमात्र प्रभावकारी औषधि हो ।

यो कसरी बनाइन्छ, यसले कसरी काम गर्छ, सबै सर्पको टोकाइमा यो कति प्रभावकारी हुन्छ ?

एन्टिभेनम के हो ?

एन्टिभेनम एक जैविक औषधि हो, जुन सर्प, बिच्छी, माकुरा वा अन्य विषालु प्राणीहरूको विषलाई निष्क्रिय गर्न प्रयोग गरिन्छ। यो विशेष गरी सर्पको टोकाइको उपचारमा प्रयोग हुने एक प्रकारको एन्टिबडी  हो । एन्टिभेनम शरीरमा राखेपछि यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो बनाएर विषलाई निस्क्रिय पार्ने काम गर्छ ।

एन्टिभेनमलाई सामान्य भाषामा सर्पको औषधि पनि भनिन्छ । विगत १०० वर्षदेखि सर्पको टोकाइबाट हुने उचपारमा यो औषधिको प्रयोग हुँदै आएको डब्लुएचओले जनाएको छ।

मोनोभ्यालेन्ट र पोलिभ्यालेन्ट गरी दुई प्रकारका एन्टिभेनम हुन्छन् ।

मोनोभ्यालेन्ट

यो एक विशेष प्रजातिको सर्पको विषलाई निष्क्रिय गर्न बनाइन्छ । उदाहरणका लागि, नेपालमा पाइने करेतको विषका लागि विशेष मोनोभ्यालेन्ट एन्टिभेनम प्रयोग गरिन्छ।

पोलिभ्यालेन्ट

एकभन्दा बढी सर्प प्रजातिको विषलाई निष्क्रिय गर्न पोलिभ्यालेन्ट एन्टिभेनमको प्रयोग गरिन्छ । धेरै प्रजातिका विषालु सर्पहरू पाइने ठाउँ नेपाल र भारतका विभिन्न क्षेत्रमा यसको प्रयोग गरिन्छ ।

कसरी बनाइन्छ एन्टिभेनम ?

एन्टिभेनमको निर्माण एक जटिल र वैज्ञानिक प्रक्रिया हो, जसमा जैवप्रविधि र औषधि विज्ञानको संयोजन हुन्छ । घोडा, भेडा खरायो जस्ता दाता जनावरहरूको शरीरमा सर्पको विष प्रवेश गराएर सर्पको विषप्रतिरोधी शक्तिशाली एन्टिबडीहरू बनाइन्छ ।

यसरी जनावरको शरीरमा उत्पादित प्लाज्माबाट एन्टिबडीहरू संकलन गरी शुद्धीकरण गरेर एन्टिभेनम तयार गरिन्छ ।

एन्टिभेनम तयार गर्ने विभिन्न चरणह हुन्छन् ।

१. विष संकलन

एन्टिभेनम बनाउन सबैभन्दा पहिले लक्षित सर्प प्रजातिको विष संकलन गरिन्छ । यो प्रक्रिया विशेषज्ञहरूले सर्पलाई मिल्किङ गरेर गर्छन् । सर्पलाई सुरक्षित रूपमा समातेर काँचको भाँडोमा विष निकालिन्छ, जसलाई पछि फ्रिज गरेर भण्डारण गरिन्छ। यो प्रक्रिया अत्यन्त सावधानीपूर्वक गर्नुपर्छ किनकी सर्पको विष अत्यन्त खतरनाक हुन्छ।

२. जनावरको शरीरमा विष इन्जेक्ट

सङ्कलित विषलाई सानो मात्रामा शुद्धिकरण गरेर घोडा, भेडा वा ठूला जनावरहरूका शरीरमा इन्जेक्सन मार्फत दिइन्छ । यस्ता जनावहरूमा बलियो प्रतिरक्षा प्रणाली हुन्छ, र शक्तिशाली एन्टिबडीहरू उत्पादन गर्दछ जुन सर्पको विषलाई नियन्त्रण गर्न सक्षम हुन्छ ।

यो प्रक्रिया केही हप्ता वा महिनासम्म चल्छ, र प्रत्येक पटक विषको मात्रा क्रमशः बढाइन्छ ताकि जनावरको शरीरले पर्याप्त एन्टिबडी उत्पादन गर्न सकोस्।

३. रगत संकलन र एन्टिबडी शुद्धिकरण

जब जनावरको शरीरमा पर्याप्त एन्टिबडी उत्पादन हुन्छ, तिनको रगत संकलन गरिन्छ। रगतबाट प्लाज्मा  छुट्याइन्छ, जसमा एन्टिबडीहरू हुन्छन्। यो प्लाज्मालाई विशेष प्रविधिहरू (जस्तै क्रोमाटोग्राफी) प्रयोग गरेर शुद्धिकरण गरिन्छ ताकि केवल विषविरोधी एन्टिबडीहरू मात्र प्राप्त होउन्। यो प्रक्रियामा अन्य अनावश्यक प्रोटिन र तत्त्वहरूलाई हटाउँछ।

४. तयारी र परीक्षण

शुद्धिकरण गरिएको एन्टिबडीलाई औषधिको रूपमा तयार गरिन्छ। यसलाई सामान्यतः तरल वा फ्रिज-ड्राइड पाउडरको रूपमा भण्डारण गरिन्छ। तयार भएको एन्टिभेनमलाई मानवमा प्रयोगका लागि सुरक्षित र प्रभावकारी भएको निश्चित गर्नका लागि विभिन्न प्रयोगशालामा विभिन्न परीक्षणहरू गरिन्छ ।

५. प्याकेजिङ र वितरण

एन्टिभेनमलाई विशेष सिसीमा प्याक गरिन्छ र चिसो अवस्थामा भण्डारण गरिन्छ। यी औषधिहरूलाई अस्पताल, स्वास्थ्य केन्द्र, र सर्पको टोकाइको उपचार गर्ने विशेष क्लिनिकहरूमा वितरण गरिन्छ।

एन्टिभेनमले कसरी काम गर्छ ?

सर्पको विषमा प्रोटिन, पेप्टाइड, र अन्य जैविक तत्त्वहरू हुन्छन्, जसले मानव शरीरमा विभिन्न हानिकारक प्रभावहरू जस्तै:- रक्तस्राव, स्नायु प्रणालीमा अवरोध वा मांसपेशी तथा तन्नुमा क्षति हुने निम्त्याउँछ । जब एन्टिभेनम शरीरमा इन्जेक्सन गरिन्छ, यसका एन्टिबडीहरूले विषका तत्त्वहरूसँग बाँधिन्छन् र तिनलाई निष्क्रिय गर्छन्। अनि विषले शरीरमा थप क्षति गर्नबाट रोक्छ।

एन्टिभेनमले सबै सर्पको टोकाइमा काम गर्छ ?

१.सर्पको जातिमा भिन्नता

एउटै प्रकारको एन्टिभेनम सबै सर्पको टोकाइमा प्रभावकारी हुँदैन। प्रत्येक सर्पको विषको रसायनिक संरचना फरक हुन्छ। उदाहरणका लागि, नेपालमा पाइने चार प्रमुख विषालु सर्पहरू-करेत, कोब्रा, रसेल्स भाइपर, र सव-स्केल्ड पिट भाइपरको विष फरक हुन्छ।

यदि एन्टिभेनम विशेष सर्पको विषका लागि बनाइएको छैन भने, यो प्रभावकारी हुँदैन। यसैले उपचारअघि कुन सर्पले टोकेहो हो, त्यो निश्चित गर्नु जरुरी छ ।

माथि उल्लेख गरिए जस्तै धेरै प्रकारका सर्पको विषलाई निस्तेज पार्न पोलिभ्यालेन्ट एन्टिभेनम बनाइएको हुन्छ ।  नेपाल र भारतजस्ता देशहरूमा यसको बढी प्रयोग हुन्छ ।

विशेष प्रजातिका सर्पको विषका लागि विशेष खालको एन्टिभेनम बनाइन्छ जसलाई मोनोभ्यालेन्ट भनिन्छ । यो चाहिँ कुन क्षेत्रमा कुन विषालु सर्पको जोखिम बढी छ त्यहीअनुसार उत्पादन र बितरण गरिन्छ ।

२ भू-गोलको भिन्नता

एउटै प्रजातिका सर्पको विष क्षेत्रअनुसार फरक हुन सक्छ। उदाहरणका लागि, भारतको रसेल्स भाइपरको विष नेपालको रसेल्स भाइपरको विषभन्दा फरक हुन सक्छ। यदि एन्टिभेनम स्थानीय सर्पको विषका लागि बनाइएको छैन भने, यो कम प्रभावकारी हुन सक्छ।

३.विष नभएका सर्पको टोकाइ

सबै सर्पहरू विषालु हुँदैनन्। सर्पले टोकेका अधिकांश केस विष नभएका सर्पले टोकेको हुने विज्ञहरूको भनाइ छ । यस्तो बेला एन्टिभेनम आवश्यक पर्दैन ।  विशेष गरी नेपालको पहाडी क्षेत्रमा पाइने सर्पले टोक्दा रगत पातलो हुने समस्या देखिने सर्पदंशको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन्।  यस्तो अवस्थामा टोकाइको घाउलाई सामान्य रूपमा उपचार गरिन्छ।

एन्टिभेनम कति समयभित्र प्रयोग गर्नुपर्छ ?

कति समयमा एन्टिभेनमको प्रयोग गरिसक्नुपर्छ भन्ने कुरा सर्पको प्रकार र विषले पार्ने प्रभावमा निर्भर रहन्छ । समय बढ्दै जाँदा विष शरीरमा फैलिने भएकाले जतिसक्यो चाँडो यसको प्रयोग गर्नुपर्ने हुन्छ ।

समान्यतया टोकेको ४ देखि ६ घण्टाभित्र प्रयोग गर्नुपर्ने विज्ञको सुझाव छ । कतिपय सर्पको टोकाइमा १ देखि २ घण्टाभित्रै एन्टिभेनमको प्रयोग गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ ।

साइड इफेक्ट्स

एन्टिभेनम जनावरको रगतबाट बनाइने भएकोले, यसले कतिपय मानिसमा एलर्जीहरू देखिने हुनसक्छ । यस्ता प्रतिक्रियाहरूलाई कम गर्न आधुनिक एन्टिभेनमलाई थप शुद्धिकरण गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?