
१६ वैशाख, काठमाडौं । प्रहरी प्रधान कार्यालयले १५ वैशाखमा ६३ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा निकाल्यो ।
सरुवा सूचीको ५०औं नम्बरमा एसपी राजन लिम्बुको नाम छ । जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रमुख रहेका लिम्बुको त्यहाँबाट जिल्ला प्रहरी कार्यालय झापामा सरुवा गरियो । लिम्बुको ठाउँमा प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत गोविन्द पुरीलाई सरुवा गरिएको छ ।
लिम्बुको सरुवा भने मापदण्ड विपरीत छ । सरुवा तथा काजको भद्रगोल अवस्थालाई व्यवस्थापन गर्न भन्दै ‘नेपाल प्रहरीको सरुवासम्बन्धी मापदण्ड २०७९’ गृहमन्त्रीस्तरीय निर्णयबाट २१ साउन २०८० मा स्वीकृत गर्दै अहिले कार्यान्वयनमा छ ।
उक्त मापदण्डअनुसार जिल्लाहरूलाई ‘क’ देखि ‘ग’ वर्गसम्म छुट्याएर एसपीको इन्चार्ज दिने विषय उल्लेख गरिएको छ । ‘क’ वर्गको नेतृत्व सम्हालेका एसपीलाई ‘ख’, ‘ग’ वर्गको जिल्लामा सरुवा गरिने मापदण्डमा प्रष्ट उल्लेख छ । अर्कोतर्फ, ‘इन्चार्ज टु इन्चार्ज’ समेत सरुवा नगर्ने उल्लेख छ ।
एसपी लिम्बुको हकमा भने यो मापदण्ड पूर्ण रूपमा उल्लंघन गरिएको छ । ‘क’ जिल्लाको इन्चार्जबाट उनी अर्को ‘क’ जिल्लाकै इन्चार्ज भएर मापदण्ड उल्लंघन गरेका छन् भने ‘इन्चार्ज टु इन्चार्ज’ भएर अर्को मापदण्ड उल्लंघन गरेका छन् ।
इन्चार्ज टु इन्चार्ज त्यो पनि ‘क’ वर्गको जिल्लाबाट ‘क’ वर्गकै जिल्लामा सरुवा हुने एसपी लिम्बु प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका पूर्वपीएसओ हुन् । ओलीका पूर्वपीएसओ सरुवा मापदण्ड उल्लंघन गर्दै ओलीकै गृहजिल्ला झापा पुगेका छन् ।
लिम्बु बाहेक अन्य एसपीहरूको सरुवा मापदण्ड भने खासै उल्लंघन भएको देखिँदैन । तर आफ्नै ब्याचीहरूले तीन ठाउँमा इन्चार्ज भएर काम गर्दा एसपी अंगुर जीसीको अहिलेसम्म सरुवा हुन सकेको छैन ।
उनी एसपीमा बढुवा भएपछि विगत १३ महिनादेखि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् । उनीभन्दा पछिल्लो लटमा बढुवा भएकाहरूले समेत इन्चार्ज भएर जिल्ला चलाउँदा उनी भने अपराध अनुसन्धान कार्यालयमै कार्यरत छन् ।
चितवनमा किन टिक्दैनन् एसपी ?
चितवनको इन्चार्जबाट झापाको इन्चार्जमा सरुवा भएका लिम्बुले चितवनमा जम्माजम्मी तीन महिनामात्रै कमान्ड सम्हाले । उनको गत ११ माघमा चिवतन सरुवा भएको थियो ।
चितवनको कमान्ड सम्हालेको तीन महिनामै त्यहाँबाट सरुवा मागेर झापा पुगेका लिम्बु एक्ला होइनन् । उनीभन्दा अघिल्ला एसपीहरूको पनि चितवनको कमान्ड सम्हालेको केही महिनामै सरुवा मागेर अन्यत्र जिल्ला गएका थिए ।
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि चितवनमा रास्वपाका कार्यकर्ताले नारा-जुलुस गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएका थिए ।
११ माघयता मिश्र, लिम्बु र पुरी गरी तीन जनाले चितवनको कमान्ड सम्हाले । जबकि, जिल्ला इन्चार्जहरूलाई १ वर्ष पूरा नभई सरुवा नगर्ने प्रहरी नियमावलीमा उल्लेख छ ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भावेश रिमालको जिम्मेवारी खोस्दै ७ कात्तिकमा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा रहेका एसपी गौतम मिश्रलाई चितवन पठाइएको थियो । चितवनको कमान्ड सम्हालेको तीन महिनामै उनी त्यहाँबाट ११ माघमा पर्साको इन्चार्जको रूपमा सरुवा भएका थिए ।

११ माघसम्म रिमालले कमान्ड गरेको चितवनको इन्चार्ज त्यसयता क्रमश: मिश्र, लिम्बु र पुरी गरी तीनजनाले सम्हाले । जबकि, जिल्ला इन्चार्जहरूलाई सामान्यतया १ वर्ष पूरा नभई सरुवा नगर्ने प्रहरी नियमावलीमा समेत प्रष्ट उल्लेख छ ।
तर, चितवन सरुवा भएका एसपी भने त्यहाँबाट धमाधम सरुवा माग्दै अन्य जिल्लामा जाने प्रचलन प्रहरीमा देखिएको छ । केही समयअघिसम्म चितवन जाने एसपीहरूले ठूलो पावर लगाउने गरेका थिए ।
४ पुस २०७६ मा चितवनको इन्चार्जको रूपमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तको सरुवा गरेको थियो । उनी आकर्षक मानिएको जिल्ला चितवन जाने तयारीमा थिइन् । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ग्रिन सिग्नल बिना त्यसबेला चितवन सरुवा हुन निकै कठिन थियो । आफ्नो गृहजिल्लामा आफू अनकूलका प्रहरी प्रमुख रुचाउने राजनीतिक प्रवृत्तिले काम गरेको थियो ।
सरुवा भएर पनि प्रचण्डले नरुचाउँदा चितवन जान नपाएकी पन्तलाई तीन सातापछि पर्सा पठाइयो । चितवनमा नान्तिराज गुरुङलाई पठाइयो ।
उनै प्रचण्डको गृहजिल्ला जान कुनै समय हानाथाप र ठूलो पावर लगाउने प्रहरी अधिकृतहरू अहिले भने चितवनको कमान्ड सम्हाल्न छाडेर अन्यत्रै सरुवा जाने प्रवृत्ति देखिएको छ ।
उदाहरणीय काम गरेको भन्दै प्रशंसा पाएकी भरतपुरकी मेयर रेणु दाहालदेखि रास्वपा अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेको निर्वाचन क्षेत्र, पूर्वप्रधानमन्त्री प्रचण्डदेखि राष्ट्रियस्तरका अन्य नेताहरूको गृहजिल्ला चुनौतीपूर्ण हुने र विवादमा परिने डरले पनि चितवनबाट पन्छिएको विश्लेषण गरिएको छ ।
नेपाल प्रहरीको कर्मचारी प्रशासन शाखामा लामो समय बसेर अवकाश पाएका पूर्वएसपी रवीन्द्रनाथ रेग्मी उक्त कुरालाई नकार्दैनन् ।
‘पावर सिकरहरूमा अजिबको स्वार्थ हुन्छ । कुनैबेला रौतहट क्वालिटीका मान्छे जान्थे । अहिले त्यस्तो छैन । चितवन पनि कुनै समय त्यस्तै महत्वपूर्ण थियो । डडेल्धुरा जान खोज्ने डीएसपीहरूको मारामार हुन्थ्यो,’ उनी भन्छन्, ‘यसको एउटै उद्देश्य शक्तिकेन्द्र निकट भएर फाइदा लिने हो ।’
तर, अहिले चितवनको अवस्था पहिलाको जस्तो शक्तिकेन्द्रमा नरहेकाले सरुवा भएका एसपी पनि सकेसम्म जान नपरोस् भन्ने मुडमा पुगेको पूर्वएसपी रेग्मीको बुझाइ छ । नजिक भएपछि ठूलो नेताको काम गर्नुपर्छ । तर जो अहिले शक्तिमा छैनन् । यस्तो हुँदा समस्यामात्रै आउने उनको बुझाइ छ ।
रेग्मी भन्छन्, ‘प्रचण्ड प्रधानमन्त्री भएको समयमा चितवन जान ठूलो पहुँच लगाउनु पर्थ्यो । अहिले गएपछि प्रचण्डको फोन नउठाउन पनि सकिँदैन । अरु पार्टीका नेताको कुरालाई पनि इग्नोर गर्न सकिँदैन । हरेक इस्युमा दुईतिर बाँडिन्छ । त्यसो भएर विवादमा परिन्छ । इग्नोर पनि गर्न नसक्ने र काम पनि गर्न नसक्ने अवस्था आउँछ ।’
तर, अवस्था यति मात्रै नभएको बुझाइ प्रहरी अधिकारीहरूकै छ । सत्तामा नरहेका र पहिलो पार्टीबाट तेस्रोको अवस्थामा रहेका प्रचण्डको पर्सनल सेक्युरेटी अफिरिस (पीएसओ) बसेकाहरू वा माओवादी निकट जोडिएका प्रहरी अधिकृतहरू बढुवामा छुट्नेदेखि सरुवामा समेत ‘थन्क्याउने’ ठाउँमा सरुवा हुनुलाई चितवनको सरुवासँग जोडेर हेर्ने गरिएको प्रहरी अधिकृतहरूको बुझाइ छ ।
प्रतिक्रिया 4