+
+
Shares

शिक्षकका जायज मागहरू सम्बोधन गर्न सरकार अनुदार देखियो : वर्षमान पुन

मंगलबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले संसदमा प्रतिपक्षी दलहरूको तर्फबाट जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सरकारले गम्भीरता नदेखाएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते १८:२२
Photo Credit : News Agency Nepal

१६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गर्न अनुदार बनेको आरोप लगाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले संसदमा प्रतिपक्षी दलहरूको तर्फबाट जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सरकारले गम्भीरता नदेखाएको बताए ।

‘प्रतिनिधि सभामा नेकपा (माओवादी केन्द्र) र अन्य प्रतिपक्षी दलहरूको तर्फबाट जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरिएको थियो । छलफलको माग गरेका थियौँ । तर सरकारले यसमा गम्भीरता देखाएन,’ उनले भने ।

पुनले २८ दिनदेखि जारी रहेको शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै शिक्षकका मागलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइएको भएपनि बेवास्ता गरेको बताए ।

‘२८ दिनदेखि शिक्षकहरू सडकमा रहेका छन् । सामुदायिक विद्यालयका विद्यार्थीहरू घरमै रहेका छन् । भर्ना हुन पाएका छैनन्,’ उनले भने, ‘एसईई परीक्षाको पेपरहरू जाँच गरिएको छैन । कक्षा १२ को परीक्षा अन्योल रहेको छ । शिक्षकहरू ऐन नलिई नजाने भन्नुभएको छ, शिक्षक यसमा अनुदार बनेको छ ।’

नेता पुनले शिक्षकका माग सम्बोधनका लागि पहल थाल्ने शिक्षामन्त्रीलाई सरकारले हटाएको आरोप लगाए ।

‘समाधानको लागि पहल गर्ने, सकारात्मक सोच राख्ने मन्त्रीलाई बर्खास्त गरिएको छ । नयाँ मन्त्री आउनुभएको छ, उहाँ अनुदार सोच राख्नुहुन्छ । प्रधानमन्त्री शिक्षकहरूलाई लल्कार्नुहुन्छ,’ उनले भने, ‘सत्तारुढ दलका नेताहरू विपक्षी दलले उक्साएको भन्ने जस्ता अभिव्यक्ति दिनुहुन्छ ।’

सडकमा उठेको मागबारे संसदमा छलफल गर्न सरकार तयार नहुनु गैरलोकतान्त्रिक चरित्र रहेको नेता पुनले आरोप लगाए ।

‘संसद्मा छलफल गर्न सरकार तयार छैन, मन्त्रीज्यूहरू आएर जवाफ दिन पनि तयार हुनुहुन्न । यो लोकतन्त्रमा गैर जिम्मेवार प्रवृत्ति हो । यसमा हाम्रो विरोध छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?