
१६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो गर्ने र नगर्ने उस्तै हुन् भन्ने भाष्य बनाएर लोकतन्त्र, गणतन्त्र र संघीयताविरुद्ध एक खालको षडयन्त्र भइरहेको बताएका छन् ।
तराई-मधेश जागरण अभियान अन्तर्गत मंगलबार धनगढीमा आयोजना गरिएको समुदायसँग माओवादी संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत बनाइरहेको उक्त भाष्यबाट बुद्धिजीवीहरू समेत प्रभावित भइरहेको उल्लेख गरेका प्रचण्डले त्यसलाई दुर्भाग्यपूर्ण कुरा भनेका छन् ।
‘कताकता हाम्रा वुद्धिजिवीहरू पनि सोसियल मिडियाको भाष्यबाट प्रभावित भएर सबै एकै हो, भ्रष्टाचारका विरुद्ध लडाइँ लड्ने पनि उही हो, भ्रष्टाचारीलाई बचाउने पनि त्यही हो भन्या जस्तो भएको छ । त्यो चाहिँ दुर्भाग्यपूर्ण कुरा हो,’ प्रचण्डले भने ।
उनले सुशासनको पक्षमा वातावरण बनाउन पहल गर्ने र सुशासनविरुद्ध काम गर्नेहरू उस्तै-उस्तै हुन् भनिएमा संघीयताको पक्षमा वातावरण कसरी बन्छ ? भन्दै प्रश्न समेत गरेका छन् ।
सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका लागि आफूले सरकारको नेतृत्व गर्दा र प्रतिपक्षीमा हुँदा महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।
गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनका लागि आफूले भूमिका खेलेका बताउँदै उनले अहिले त्यसलाई रोक्ने प्रयास भइरहेको दाबी गरेका छन् । तर विश्वविद्यालय निर्माणका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया 4