+
+
Shares

एमालेमा अष्टलक्ष्मी शाक्यलाई पनि स्पष्टीकरण सोधिँदै छ ?

तर उपाध्यक्ष शाक्य उनै राजीनामा दिने मन्त्रीलाई हिरो बनाउन हिंडेको ओलीको भनाइ थियो । ‘बहकाउमा अरु मान्छे त लागे लागे, पार्टीकै उपाध्यक्ष पनि त्यसमा …’ बैठक स्रोतका अनुसार तीन पटक यही कुरा ओलीले भनेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १६ गते २२:१३

१६ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएर राष्ट्रिय चासोमा परेकी विद्या भट्टराई जीवनशैलीका कारण फेरि चर्चामा छिन् ।

सार्वजनिक टेम्पोमा यात्रा गरेको तस्वीर राखेर भट्टराई सामाजिक सञ्जाल र मिडियाहरूको कन्टेन्ट बनिरहेकी छन् । भट्टराईकै निर्णयलाई लिएर उनको दल नेकपा एमाले पंक्ति भने विभाजित छ ।

एउटा पंक्तिले मन्त्री पदबाट राजीनामा दिने निर्णयमा खुलेर भट्टराईलाई समर्थन गरिरहेको छ भने अर्को पंक्तिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई असहयोग गरिएको भन्दै भट्टराईको आलोचना गर्दैछन् ।

स्वंय प्रधानमन्त्री ओलीले नै भट्टराईविरूद्ध माहोल निर्माण गर्ने नेतृत्व गरिरहेका छन् । पार्टी स्थापना दिवसको अवसरमा ९ वैशाखमा आयोजित कार्यक्रम मार्फत् प्रधानमन्त्री ओलीले विद्या भट्टराईले काम गर्न नसकेर राजीनामा दिएको बताएका थिए ।

तर आफूसँग जोडेर भट्टराईको राजीनामाबारे समाचार प्रकाशित भएको भन्दै ओलीले आमसञ्चार माध्यमहरूमाथि अविश्वास सिर्जना गर्नेगरी गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए ।

भट्टराईको राजीनामा प्रकरणलाई ओलीले सार्वजनिक अभिव्यक्ति मात्र सीमित नगरेर पार्टीकै आन्तरिक बैठकमा पनि उठाएका छन् । गत शनिबार, १३ वैशाखको संसदीय दलको बैठकमा ओलीले भट्टराईको राजीनामालाई लिएर पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यप्रति चर्को असन्तुष्टि जनाएका छन् ।

ओलीको असन्तुष्टि सुनेपछि एमाले वृत्तमा अहिले उपाध्यक्ष शाक्यलाई पनि स्पष्टीकरण सोधिन सक्ने भय फैलिएको देखिन्छ । ‘दलको बैठकमा प्रधानमन्त्री जसरी प्रस्तुत हुनुभयो, त्यसले अब अष्टलक्ष्मी शाक्यलाई पनि स्पष्टीकरण सोधिन सक्छ भन्ने पार्टी पंक्तिमा परेको हुन सक्छ’, त्यो बैठकमा सहभागी एक सांसद भन्छन् ।

ती सांसदका अनुसार दलका नेता समेत रहेका ओलीले लगातार शाक्यप्रति आक्रोश पोखेका थिए । ‘उहाँले (विद्या भट्टराई) किन राजीनामा दिनुभयो भन्ने अहिलेसम्म मैले थाहा पाएको छैन’ ओलीले भनेका थिए, ‘बुझेसम्म स्वास्थ्यको कारणले राजीनामा आएको हो । तर चर्चा अर्कै चलिरहेको छ । राजीनामा दिनेलाई हिरो बनाइँदैछ ।’

राजीनामा दिएर हिरो बन्न खोजेको भन्ने कुरा ओलीले बताइरहँदा विद्या भट्टराई कुनै प्रतिक्रिया नजनाई सुनेर बसिरहेकी थिइन् । राजीनामाबारे भट्टराईले अहिलेसम्म सार्वजनिक प्रतिक्रिया समेत जनाएकी छैनन् ।

तर उपाध्यक्ष शाक्य उनै राजीनामा दिने मन्त्रीलाई हिरो बनाउन हिंडेको ओलीको भनाइ थियो । ‘बहकाउमा अरु मान्छे त लागे लागे, पार्टीकै उपाध्यक्ष पनि त्यसमा …’ बैठक स्रोतका अनुसार तीन पटक यही कुरा ओलीले भनेका थिए ।

‘दलको बैठकमा प्रधानमन्त्री जसरी प्रस्तुत हुनुभयो, त्यसले अब अष्टलक्ष्मी शाक्यलाई पनि स्पष्टीकरण सोधिन सक्छ भन्ने पार्टी पंक्तिमा परेको हुन सक्छ’

भट्टराईले राजीनामा दिएपछि शाक्यले सामाजिक सञ्जाल मार्फत् असन्तुष्टि जनाएकी थिइन् । ‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा किन दिनु पर्‍यो ? विद्या भट्टराई सक्षम, इमान्दार, उच्च नैतिकता भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनु परेको हो ?’, शाक्यले लेखेकी थिइन् ।

स्टाटसबाटै भट्टराईलाई उपाध्यक्ष शाक्यले हौसला पनि दिएकी थिइन् । ‘उहाँलाई सहयोग किन भएन ? कमरेड विद्याको राजीनामाले उहाँको नैतिक धरातल कमजोर होइन, अझ उच्च बनाएको छ । कमरेड विद्या तपाईंको इमान र नैतिकता सबैको लागि सधैं प्रेरणा बनोस्’, शाक्यले लेखेकी छन् ।

शाक्यको स्टाटसपछि अरु थुप्रै नेताहरूले भट्टराईलाई साथ दिंदै स्टाटस लेखेका थिए, विशेषगरी महिला नेताहरूले ।

तर पार्टीभित्र देखिएको यस्तो दृश्यप्रति गम्भीर चासो राखेका ओलीले शाक्यप्रति चर्को असन्तुष्टि जनाएका छन् । ‘विगतमा पनि पार्टीको निर्णयमा फरक मत राख्ने नेताहरूलाई स्पष्टीकरण र कारबाही गरिएको थियो । त्यसैले यसपटक उपाध्यक्ष कमरेडलाई स्पष्टीकरण सोधिन सक्छ भन्ने पार्टी पंक्तिमा परेको हुन सक्छ’ एमालेका अर्का एक नेता भन्छन्, ‘तर अरुलाई कारबाही गर्नु र अष्टलक्ष्मी शाक्यलाई स्पष्टीकरण सोध्नु एउटै कुरा होइन । यस्तो नहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?