+
+
Shares

सिंहदरबारका ६२ धारामा अब मेलम्ची पानी

खानेपानीमन्त्री प्रदीप यादवको दाबी अनुसार वैशाख अन्तिम सातासम्म सिंहदरबारमा मेलम्चीको सफा, शुद्ध पानी वितरण गरिने छ ।

अमृत चिमरिया अमृत चिमरिया
२०८२ वैशाख १६ गते २२:२१

१६ वैशाख, काठमाडौं । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा बसेको सचिवहरूको बैठकले ८ वैशाखमा सिंहदरबारभित्रका सबै मन्त्रालयमा मेलम्ची पानी जडान गर्ने निर्णय गर्‍यो ।

उक्त निर्णयपछि १० वैशाखमा खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने बताए ।

सिंहदरबारभित्र मेलम्ची खानेपानी वितरण गर्न विभिन्न ठाउँ एवं धारा निर्माण गर्ने क्षेत्रको स्थलगत अनुगमनपछि मन्त्री यादवले वर्षौंदेखि सिंहदरबारमा प्रयोग गरिँदै आएको जार र बोतलको पानी अब सदाका लागि अन्त गरिने दाबी गरे ।

उनको दाबी अनुसार वैशाख अन्तिम सातासम्म सिंहदरबारमा मेलम्चीको सफा, शुद्ध पानी वितरण गरिने छ ।

दैनिक ५ लाख ८० हजार लिटर आवश्यक, ६२ धारा तर ‘चेनब्रेक’

मेलम्चीको पानी झार्ने भनिएको सिंहदरबारभित्रको अधिकांश धाराको ‘चेनब्रेक’ भएको छ । मेलम्ची खानेपानी वितरण गर्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का एक अधिकारीका अनुसार अधिकांश मन्त्रालयमा धारा जडान भए पनि पुराना धाराले काम गर्न नसक्ने स्थिति छ ।

सिंहदरबारभित्र रहेको मन्त्रालय र प्रशासनिक कार्यालयलाई दैनिक ५ लाख ८० हजार लिटर खानेपानी आवश्यक पर्ने केयूकेएलका प्रवक्ता प्रकाश राई बताउँछन् ।

‘मन्त्रीज्यूले भनेपछि अहिले सिंहदरबारभित्रको धाराहरू मर्मत, जडानको कामले तीव्रता पाएको छ, तर पानी वैशाख मसान्तभित्र पुग्ने गरी आउँछ जस्तो लाग्दैन,’ उनी भन्छन् ।

सिंहदरबारभित्र रहेको मन्त्रालय र प्रशासनिक कार्यालयलाई दैनिक ५ लाख ८० हजार लिटर खानेपानी आवश्यक पर्ने केयूकेएलका प्रवक्ता प्रकाश राई बताउँछन् ।

‘अहिले केयूकेएलले बोरिङ र ट्यांकर मार्फत पानी पुर्‍याइरहेको छ तर खानेपानीको बाहिर जार, बोतलकै प्रयोग भइरहेको छ । मेलम्चीको पानी आउँदा सिंहदरबारभित्र खानेपानी पुर्‍याउन गाह्रो छैन । त्यही अनुसार नेटर्वकिङको काम भइरहेको छ,’ राई भन्छन् ।

उनले सिंहदरबारभित्र साना–ठूला गरी ६२ धारा रहेको बताए । ‘साना २२ वटा र ठूला ४४ वटा धारा छ । त्यहाँ पानी पठाउने हो भने माग धान्न मुस्किल छैन । तर, धारामा पानी नआउने, बिग्रेको हुन सक्छ । त्यसका लागि हामीले काम गरिरहेका छौं,’ उनी भन्छन् ।

पूरै धाराको अवस्था अहिले नै सञ्चालन योग्य रहे–नरहेको उनले भन्न सकेनन् । प्रवक्ता राई भन्छन्, ‘धारा मन्त्रालयहरूमा, सार्वजनिक स्थानमा पहिले जडान भइसकेका हुन् । अब जडान भएका धारा बिग्रेका भए मर्मत हुन्छ, नपुगे थप पनि हुन्छ । तर, पूरै नेटवर्क नै बिग्रेको छ भन्न मिल्दैन,’ उनले भने ।

मन्त्री यादवले जोड दिएपछि अहिले केयूकेएलका प्राविधिक र मजदुर सिंहदरबारमा दैनिकजसो खटिरहेका छन् । यद्यपि, लामो समयदेखि पानी नआएको सार्वजनिक धाराहरू भद्रगोल अवस्थामा छन् ।

मन्त्री भन्छन् : जार र बोतल पानी विस्थापित हुन्छ

मन्त्री यादवले मेलम्ची पानी वितरण गर्न अनुगमन गर्दै जार र बोतल पानी निषेध नै गर्ने दाबी गरे ।

करिब ५ लाख खर्चिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयअघि यी धारा जोडिए पनि सेवा भने प्रवाह हुन सकेन ।

‘सिंहदरबारमा वर्षौंदेखि प्रयोग हुँदै आएका जार, बोतलको पानी विस्थापित गर्ने लक्ष्य अनुसार काम अगाडि बढिरहेको छ । यहाँ चाडै मेलम्चीको शुद्ध खानेपानी वितरण हुन्छ,’ उनी भन्छन्, ‘मेलम्चीको शुद्ध पानी उपलब्ध भएपछि सिंहदरबारमा हाल प्रयोग भइरहेको बोतल र जारको पानी क्रमशः विस्थापन गर्ने मेरो स्पष्ट योजना छ । शुद्ध पानी सबैको पहुँचमा पुर्‍याउन हामी एकजुट भई अघि बढ्नुपर्छ ।’

चर्चाका लागि हतारमा धारा, तर अलपत्र

केयूकेएलले सामाजिक उत्तरदायित्वका रूपमा सिंहदरबारमा अहिलेका धाराहरू जोडेको थियो । करिब ५ लाख खर्चिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयअघि यी धारा जोडिए पनि सेवा भने प्रवाह हुन सकेन ।

आगन्तुक, सेवाग्राही र कर्मचारीले निःशुल्क खानेपानी पिउन सक्ने गरी जोडिएका धारा अहिले पनि अलपत्र छन् भने केहीमा खिया लागिसकेको अवस्था छ ।

खानेपानी मन्त्रालयको दाबी अनुसार यो धाराको पानी पूर्णरूपमा शुद्ध हुने र सोझै पिउन सकिने भनिएको थियो । चौबिसै घण्टा सञ्चालनमा आउने भनिएका ती धारामा न पानी आउँछ न सफा छ ।

सिंहदरबारमा मन्त्रीले उद्घाटन गरेका धाराहरू मात्रै होइन, प्रधामनन्त्रीले नै उद्घाटन गरेका धाराको पनि उही हालत छ । १ माघ २०८० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्ची पानी पुनः वितरण उद्घाटन गर्दा प्रधानमन्त्री कार्यालयअघि राखिएको धाराको हालत पनि अहिले उस्तै बेहाल छ ।

१७ चैत २०७९ मा सिंहदरबारमा पहिलो पटक खानेपानीका लागि सार्वजनिक धारा सञ्चालनमा ल्याइएको थियो । यी धारा राख्न जनमत पार्टीको सांसद रहेका तत्कालीन खानेपानीमन्त्री अब्दुल खानले पहल लिएका थिए ।

त्यतिबेला हतार–हतार उद्घाटनका लागि प्लाइउडको पर्खालमाथि परम्परागत इँटा पृष्ठभूमिको बुट्टेदार फ्लेक्स पेपर टाँसेर निरन्तर पानी खस्ने गरी धारा स्थापना गरिएको थियो । सिंदरबारभित्र ढुंगेधारा शैलीमा स्थापना गरिएको यो धारा अहिले पनि सञ्चालनमा आउन सकेको छैन ।

सरकारले सिंहदरबारबाट जार र बोतल पानी प्रयोग पूर्णरूपमा प्रतिस्थापन गर्ने योजना बनाएर काम थालेको साढे २ वर्ष भइसकेको छ । त्यस अनुसार नै मेलम्ची पानी वितरण थालिए पनि सरकारको योजना अनुसार काम हुन पाएको छैन ।

अब्दुल खानको असफल प्रयास

१७ चैत २०७९ मा सिंहदरबारमा पहिलो पटक खानेपानीका लागि सार्वजनिक धारा सञ्चालनमा ल्याइएको थियो । यी धारा राख्न जनमत पार्टीको सांसद रहेका तत्कालीन खानेपानीमन्त्री अब्दुल खानले पहल लिएका थिए ।

त्यतिबेला खानेपानी मन्त्रालयले सिंहदरबारबाट यस्तो धारा राख्न अभियान थाल्ने र क्रमैसँग काठमाडौंका सडक, पार्क, बसपार्क, सरकारी कार्यालय र सार्वजनिक स्थलमा विस्तार गर्दै लैजाने बताएको थियो ।

त्यतिबेला जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय माग गरेको थियो । त्यो मन्त्रालय नपाएपछि सिंहदरबारमा जडान भएका ३ वटा सार्वजनिक धारा उद्घाटनसँगै तत्कालीन खानेपानीमन्त्री खानले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।

लेखक
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?