
१६ वैशाख, विराटनगर । कोशी प्रदेश सरकारले पहिलो लगानी सम्मेलनको दुई दिनअघि अध्यादेशमार्फत ८ वटा ऐन संशोधन गरेको छ ।
मंगलबार बसेको कोशी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२’ जारी गरी प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार नै अध्यादेश प्रमाणीकरण गरेका छन् ।
कोशी प्रदेशको लगानी सम्मेलन १८ र १९ वैशाखमा आयोजना हुँदैछ । सम्मेलनमा ७१ वटा परियोजना प्रस्तुत गर्ने प्रदेश सरकारको तयारी छ ।
सम्मेलन अघि लगानी सजहताका लागि भन्दै कोशी सरकारले अध्यादेश जारी गरेको हो । निजी क्षेत्रलाई लगानी गर्ने वातावरण तयार गर्न कानुनी जटिलतालाई अध्यादेश मार्फत फुकाइएको कोशी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।
‘निजी क्षेत्रलाई अधिकतम सहजताका लागि अध्यादेश मार्फत ऐन संशोधन गरेका छौं,’ उनले भने, ‘लगानीको वातावरण निर्माण गर्न अध्यादेश जारी भएको हो ।’
मन्त्री भण्डारीका अनुसार प्रदेश सरकारले अध्यादेश मार्फत सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण ऐन २०७६, प्रदेश सहकारी ऐन २०७६, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ संशोधन गरेको छ ।
यस्तै, प्रदेश भवन ऐन २०७६, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६, प्रदेश पर्यटन ऐन २०७६, कोशी प्रदेश निजी तथा साझेदारी फर्म रजिष्टेशन ऐन २०७७ र प्रदेश वन ऐन २०७७ का केही दफा संशोधन गरिएको छ ।
प्रतिक्रिया 4