+
+
Shares

घुमौं सौराहा अभियानलाई व्यवसायीले दिए निरन्तरता

घुमौं सौराहा, चितवनमार्फत पर्यटकको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएको संघका उपाध्यक्ष तथा घुमौं सौराहाका संयोजक गुणराज थपलियाले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते १५:४२

२५ वैशाख, भरतपुर । चितवनको पर्यटकीय नगरी सौराहाका व्यवसायीले घुमौं सौराहा अभियानलाई निरन्तरता दिएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि व्यवसायीले आजदेखि पश्चिम नेपाल केन्द्रित अभियानलाई निरन्तरता दिएका हुन् ।

चार वर्षअघि पूर्वीनेपालबाट सुरु भएको अभियान केही समयका लागि स्थगित भएको थियो । हाल स्थानीय सरकारसँगको समन्वयमा निरन्तरता दिइएको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओमप्रकास पाण्डेले जानकारी दिए ।

उनले मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहासहित चितवनको पर्यटनलाई थप उचाइमा पुर्‍याउने उद्देश्यले अभियान सुरु गरिएको बताए ।

स्थानीय सरकारको रूपमा रहेको रत्ननगर नगरपालिका, रत्ननगर पर्यटन प्रवर्द्धन समिति, क्षेत्रीय होटल संघ चितवनसहित पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाको सहकार्यमा अभियानलाई निरन्तरता दिइएको उनको भनाइ छ ।

‘चितवन भित्रिने पर्यटकको सङ्ख्या दोब्बर बनाउने उद्देश्यका साथ दोस्रो पटक सुरु गरिएको अभियान लिएर पश्चिम नेपालको यात्रामा निस्किएका छौँ,’ उनले भने, ‘अभियानले पर्यटन क्षेत्र थप चलायमान बन्नेछ ।’

अभियानमा निस्किएका जनप्रतिनिधि, व्यवसायी तथा संरक्षणकर्मीको टोलीलाई रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठक र प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बिदाइ गरे ।

पश्चिम नेपालका तीन वटा प्रदेश अन्तर्गतका मुख्य सहरमा पुगेर सरकार प्रमुखसहित जनप्रतिनिधि, व्यवसायीसँग अन्तरक्रिया गरी सौराहा आउन पर्यटकलाई आह्वान गर्ने पाण्डेले जानकारी दिए ।

व्यवसायीको टिम लम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका प्रमुख शहर तथा पर्यटकीय स्थलमा पुग्ने जनाइएको छ ।

लुम्बिनी प्रदेशको नेपालगञ्ज, भैरहवा र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको महेन्द्रनगर र कन्चनपुरमा पर्यटन प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया तथा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय गरिएको छ ।

घुमौं सौराहा, चितवनमार्फत पर्यटकको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएको संघका उपाध्यक्ष तथा घुमौं सौराहाका संयोजक गुणराज थपलियाले बताए ।

रत्ननगर पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष भेषराज दुवाडीले सौराहाको पर्यटनलाई ब्रान्डिङ सुरु गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?