
२६ वैशाख, दाङ । दाङको राप्ती गाउँपालिकाले समृद्धिका लागि वन परियोजना अन्तर्गत सार्वजनिक तथा निजी खाली जग्गामा वृक्षरोपण गर्नका लागि जग्गाको खोजी थालेको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्ययोजनाअनुसार व्यक्तिगत, समूह तथा सहकारीहरूको खाली जग्गामा वृक्षारोपण तथा कृषि वन स्थापना गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले वातावरण संरक्षण, हरियाली विस्तार र स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले वृक्षारोपण कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए । ‘खाली रहेका जग्गाहरूलाई प्रयोगमा ल्याएर दीर्घकालीन रुपमा लाभ लिन सकिने भएकाले हामीले सार्वजनिक सूचना जारी गरी जग्गाको खोजी गरिरहेका छौं,’ उनले भने ।
वन प्राविधिक विपिन भुसालले इच्छुक कृषक, सहकारी तथा समूहहरूले १५ दिनभित्र आवश्यक कागजातसहित दरखास्त दिन सक्ने व्यवस्था गरिएको जानकारी दिए ।
यस कार्यक्रम अन्तर्गत महिला, दलित, विपन्न तथा दैनिक गुजारा गर्ने परिवारहरूलाई प्राथमिकतामा राखिने र १०० प्रतिशत विरुवा उपलब्ध गराई त्यसमा ५० प्रतिशत अनुदानसमेत प्रदान गरिने छ ।
गाउँपालिकाले जारी गरेको सूचनाअनुसार कार्यक्रममा सहभागी हुन चाहनेहरूले कार्यक्रममा सहभागी हुन इच्छुक रहेको माग निवेदन, वृक्षारोपण गर्न चाहेको वनजन्य प्रजाति र संख्या, नेपाली नागरिकताको प्रतिलिपि, जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि, मालपोत तिरेको रसिद, कृषक समूह/कृषि सहकारी/कृषि फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि, समूह बैठकको निर्णयको प्रतिलिपि (समूहको हकमा)विवरणजस्ता आवश्यक कागजातसहित आवेदन दिनुपर्ने छ ।
हेर्नुहोस् पालिकाको सूचना–
प्रतिक्रिया 4