
News Summary
Generated by OK AI. Editorially reviewed.- मदिराले कलेजोमा विषाक्त तत्वहरू उत्पादन गरी क्षति पुर्याउँछ र यदि निरन्तर सेवन गरेमा सिरोसिस जस्ता गम्भीर अवस्थासम्म पुग्न सक्छ।
- महिलाहरूमा मदिराको प्रभाव पुरुषहरूभन्दा बढी हुन्छ किनभने उनीहरूको कलेजो मदिरा पचाउने इन्जाइमहरू कम हुन्छन् र यसले उनीहरूको कलेजो छिटो बिग्रन्छ।
- मदिरा सेवनबाट हुने कलेजोको क्षति रोक्नका लागि, नियमित जाँच र जीवनशैलीमा सुधार गर्न आवश्यक छ, र यदि मदिरा सेवन छोडेमा कलेजो पुनः स्वस्थ हुन सक्छ।
विशेष गरी कलेजोलाई विगार्नमा मदिरा, भाइरस र विषादीहरूको भूमिका हुन्छ । ती मध्ये कलेजो बिगार्ने मुख्य कारक तत्व मदिरा नै हो । अधिकांश कलेजो फेल भएकाहरूको रेकर्ड हेर्यो भने मदिरा नै जोडिन्छ ।
कसरी मदिराले बिगार्छ त कलेजोलाई ?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डले त मदिरा नै नखानु भन्छ । तर, मदिरा कहिलेकाहीँ सोसल पेयको रुपमा खाँदा त्यति हानि गर्दैन । जति यसको लत लागे पछि हुन्छ ।
मदिरा जब पेटमा पुग्छ । तब २० प्रतिशत अवशोषित भएर रगतमा मिसिन्छ । बाँकी ८० प्रतिशत सानो आन्द्रामा गएर सोसिएर पुनः कलेजोमा पुग्छ । कलेजोमा रक्सी पनि पचाउन सक्ने इन्जाइमहरू हुन्छन् ।
जसले पानी र कार्बनडाइअक्साइडमा परिणत गर्छ । यसमा परिणत हुँदा घातक तत्व एसिटलडीहाइड बन्छ । दैनिक खाँदा यो तत्वले कलेजोमा घाउ बनाउने, सुन्निएर फुल्ने हुन्छ । यतिमै पनि मदिरा खान रोकिएन भने फ्याटीलिभर बन्छ ।
घाउ भएको कलेजोमा बोसो जमेपछि कलेजोको हरेक कोषहरूमा क्षति पुग्छ । बोसोले स्टोरियो हेपटाइटिस गराउँछ । यसले कलेजोमा घाउहरू बनाउँदै खत बसाल्छ । खत निकाे हुने क्रममा फाइब्रोसिस बनाउँछ । यसका चार चरण हुन्छन् । अन्तिम चरणमा पुगेपछि सिरोसिसमा परिणत हुन्छ ।
सिरोसिस यस्तो अवस्था हो, जसमा कलेजो काठ जस्तो साह्रो भएर बसेको हुन्छ । त्यसमा कुनै कोष बाँकी हुँदैन । जसले गर्दा पछि क्यान्सरमा परिणत हुनसक्छ । एक त क्यान्सरको जोखिम, अर्को भनेको सिरोसिस भए पनि कलेजो फेल भएर प्रत्यारोपणबाहेक अर्को विकल्प रहँदैन ।
कहिलेकाहीँ खाँदा पनि कसैलाई अल्कोहलिक लिभर डिजिजको लक्षण देखिन सक्छ । जसमा पेटमा पानी जम्ने, बान्ता आउने, ज्वरो आउने, कलेजो सुन्निने र कमजोर भएर कलेजाे एक्कासी (एक्युट) फेलियर खानसक्छ । यो अवस्थामा पनि कलेजोको काम निकै प्रभावित हुनसक्ने भएकोले कलेजाे प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ ।
त्यसैले, सकेसम्म मदिरा नखानु नै उचित हुन्छ ।
पुरुषभन्दा बढी असर महिलालाई
मदिराको मात पनि पुरुषको तुलनामा महिलालाई बढी लाग्छ । यसको नियमित सेवन गर्ने हो भने तुलनात्मकरुपमा छिटो महिलाको कलेजो बिग्रिन्छ । किनभने कलेजोमा मदिरा पचाउने दुई इन्जाइम हुन्छन्, एडीएच र एएलडीच ।
यी मध्ये महिलाहरूमा एएलडीच इन्जाइम कम हुन्छ । यो कम हुँदा मदिराबाट बन्ने एसिटलडिहाइड विषालु तत्व बढी बन्छ । जसले कलेजोमा घाउ गराउने र बिगार्ने गर्छ ।
मदिरा खानेबित्तिकै कसैलाई किन वान्ता हुन्छ ?
मदिरा खाएपछि कसैलाई बान्ता हुन्छ । त, कसैलाई हुँदैन । यस्तो हुनुका पछाडि धेरै पक्ष जिम्मेवार हुनसक्छन् । त्यो मदिरा कस्तो खालको हो ? कति खाइएको हो ? कति खाने बानी छ ? शरीरको प्रकृति कस्तो हो ? केसँग खाइएको हो ? त्यसमा भर पर्छ ।
यदि मदिरा पिउनमा त्यति अभ्यस्त नभएको व्यक्ति छ र उसले अरु कुनै खानेकुरा समावेश नगरी सिधै मदिरा मात्रै पिउँछ भने पनि वान्ता हुनसक्छ ।
किनभने पेटले यो कुरालाई छिटो पचाउन सक्दैन । खाली पेटमा धेरै एकैपटक खाँदा पनि ग्यास्ट्राईटिस हुने र बान्ता पनि हुनेगर्छ ।
कसैको भने वंशाणुगत रुपमै प्रतिरोधात्मक क्षमता नै बलियो हुन्छ । जसले गर्दा मदिरा पचाउन सक्छन् । जसले खानेवित्तिकै तत्काल असर नदेखाउन सक्छ ।
विज्ञहरूले सचेत भएर एक ग्लास खाँदा एक घण्टा समय लगाएर खाने भनिएको हुन्छ । त्यससँगै फाइबर भएका फलफूल वा अन्य खानेकुरा पनि सँगै लिनु पर्ने सुझाव दिएका छन् । अझ पहिला खानेकुरा खाएर मदिरा खाँदा यसको मदिराको अवशोषन कम गरेर त्यति हानि गर्दैन । जति खालि पेटमा गर्छ ।
स्वास्थ्य मात्र होइन, जीवनस्तर बिग्रिन्छ
मदिराको असर केवल स्वास्थ्यमा मात्र सीमित छैन । यसले व्यक्तिको जीवनस्तर, पारिवारिक सम्बन्ध र सामाजिक जीवनलाई पनि नराम्ररी प्रभावित गर्छ । नियमित मदिरा सेवन गर्ने व्यक्तिहरूमा आर्थिक समस्याहरू, पारिवारिक कलह र सामाजिक बहिष्कारको जोखिम बढ्छ ।
उदाहरणका लागि, मदिराको लतले व्यक्तिको कामप्रतिको जिम्मेवारी कम हुन सक्छ । जसले रोजगारी गुम्ने वा परिवारको आर्थिक अवस्था कमजोर हुने खतरा निम्त्याउँछ । साथै, मदिरा सेवनले मानसिक स्वास्थ्यमा पनि असर गर्छ । जस्तै, डिप्रेसन, चिन्ता र आत्मविश्वासको कमी हुनसक्छ ।
मदिराले कलेजोको कस्ता काम प्रभावित पार्छ ?
हाम्रो कोखाको दाहिने भागमा रहने कलेजो एउटा अभिन्न अंग हो । धेरैलाई थाहा नहुन सक्छ, शरीरको सबैभन्दा ठूलो ग्रन्थी कलेजो हो । वयस्कमा यसको तौल नै डेढ किलोग्राम हुन्छ। शरीरको सबैभागलाई नियन्त्रण गरेको हुन्छ ।
हामीले खाएको भिटामिन, औषधि, विषादी, खाना सबैलाई कलेजोले शुद्धिकरण गर्छ । यसले नै आवश्यक स्थानमा जति खाएका छौं, त्यसलाई भण्डारण गर्ने काम पनि गर्छ । पित्त र बोसोलाई पचाउने गर्छ । खानेकुरा खाएपछि बाँकी भएको उर्जा पनि बोसोको रुपमा त्यहीँ भण्डारण हुन्छ । प्रतिरोधात्मक क्षमता बनाउने, रगत जमाउने पदार्थ त्यही बन्छ ।
खानेकुराबाट शरीरलाई आवश्यक भिटामिन र पोषक तत्व बनाउने काम पनि यसकै हो । कलेजो फेल हुनेबित्तिकै यी काम पनि प्रभावित हुन्छन् । जसले शरीरले पाउन पर्ने पोषण पाउँदैन । शरीर गल्दै जान्छ । शरीरको हरेक अंग र त्यसको कार्य प्रभावित हुन्छ ।
कलेजो सदावहार जवान
उमेर बढेसँगै शरीरको सम्पूर्ण अंग पनि बुढो हुँदै जान्छ । तर, कलेजो यस्तो अंग हो, जो सदाबहार जवान हुन्छ । अर्थात्, ८० वर्षको उमेरमा पनि यो अरुमा प्रत्यारोपणका लागि योग्य हुन्छ ।
जस्तो कि, यो डेढ केजीको कलेजोलाई कसैका लागि काटेर प्रत्यारोपणका लागि दिइयो भने पनि जति भाग काटिएको छ, त्यो काटिएको भाग एक महिनामै पूर्ति गर्ने क्षमता हुन्छ ।
मदिरा छाडेमा पहिलेकै अवस्थामा फर्किन्छ कलेजो
यदि हाम्रो कलेजोको केही भाग बिग्रिएको छ भने पनि त्यसलाई असर गर्ने तत्व आउन छाडेमा सपार्ने शक्ति कलेजोमा हुन्छ । यदि कलेजो फेल भएर चौथो चरणमा पुगिसक्यो र त्यहाँ कुनै तन्तु नै छैन भने कलेजो सप्रिने सम्भावना रहँदैन । तर, त्यहाँसम्म पुगेको छैन भने अलिअलि बोसो जमेको र घाउ बन्न थालेको अवस्थामा मात्र रक्सी छाड्ने हो, खानपान र जीवनशैलीमा ध्यान दिएमा क्षति भएको कलेजोको भाग पनि पुनः ठिक हुँदै आउँछ । कलेजो पुनः स्वस्थ हुन्छ ।
रक्सी खाने बानी भएकाले कलेजो बिग्रिन नदिने के गर्ने ?
रक्सी खाने बानी छ । अब छाडे पनि केही हुँदैन भनेर निरन्तरता दिनु गलत हो । बरु, कलेजोको अवस्था थाहा पाउन दुईवटा परीक्षण अनिवार्य गर्न सकिन्छ । एसडी परीक्षण र अल्ट्रासाउन्ड । यसले कलेजो कति क्षति भएको छ भनेर देखाउँछ ।
यदि सिरोसिस भइसकेको छैन, कोषहरू बाँकी छन् भने मदिरा छोड्दा पुनः क्षति भएको कलेजो स्वस्थ भएर आउँछ ।
प्रतिक्रिया 4